काठमाडौं । फागुन २३ गते अर्थ मन्त्रालयको कार्यभार सम्हालेका वर्षमान पुनको वास्तविक परीक्षाको घडि आएको छ। अर्थमन्त्रीको जिम्मेवारी लिनासाथ पुनले प्रत्यक्ष/अप्रत्यक्ष करिब ६० लाख लगानीकर्ता जोडिएको सेयर बजार सुधार गर्ने दिएका थिए। वितेको ४ महिनामा बजारप्रति पुन सकारात्मक नभएको आरोप छ।
अर्थमन्त्री भएर आफैँले मागेको सुझाव कार्यान्वयन नगरेको, बजारलाईं चलायमान बनाउन आवश्यक ठानिएका कतिपय नीति नियम तथा अन्य विषय अर्थमन्त्री र नेपाल धितोपत्र बोर्डको स्थायी अध्यक्ष नदिँदा अघि बढ्न नसकेको पक्षलाई लगानीकर्ताले आरोप लगाइरहेका छन्। तर, अबका २ दिनमै अर्थमन्त्री पुनको असली रुप देखिनेछ।
अर्थमन्त्री भएर आफैँले मागेको सुझाव कार्यान्वयन नगरेको, बजारलाई चलायमान बनाउन आवश्यक ठानिएका कतिपय नीति नियम तथा अन्य विषय अर्थमन्त्री र नेपाल धितोपत्र बोर्डको स्थायी अध्यक्ष नदिँदा अघि बढ्न नसकेको आक्षेप लगानीकर्ताले लगाइरहेका छन्। सेयर बजारप्रति लक्षित भएर आउने विषयबस्तुले अर्थमन्त्री पुन पुँजीबजारप्रति सकारात्मक छन् कि छैनन् भन्ने लगानीकर्ताले पहिल्याउने छन्।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्ने छन्। पुनको प्राथमिकतामा पुँजीबजार परे आगामी बजेटमा केही न केही लगानीकर्ताको मनोबल उकास्ने गरी नयाँ प्रावधान समेटिने छन्।
जेठ ४ गते नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गरेसँगै गत साताका ४ कारोबार दिनमा बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११२.७१ अंकले बढेर (जेठ ९ गते) २१३१.४९ बिन्दुमा उक्लिएको छ। त्यसदिन नेप्से २१४०.२४ अंकसम्म चढेपनि कारोबार बन्द हुँदा केही सम्हालिएको थियो। गत बुधबार नेप्सेले लिएको उचाइ २०८० माघ ७ यताकै माथिल्लो हो। माघ ७ गते कारोबार बन्द हुँदा नेप्से २१३०.१८ विन्दुमा थियो भने त्यसदिन २१६५.६७ अंकसम्म चढेको थियो।
जेठ १ गतेदेखि धितोपत्र दलाल व्यववसायी (ब्रोकर) कमिसन १० प्रतिशत घटेर कार्यान्वयन भएसँगै मौद्रिक नीतिको तेस्रो समिक्षाले बजार आशा जगाउने अपेक्षा लगानीकर्ताले राख्दा अघिल्लो साता पनि ५ कारोबार दिनमा बजार सूचक ५२.५२ अंकले बढेर २०१८.७६ बिन्दुमा रोकिएको थियो। त्यस्तै, अघिल्लो साता १८ अर्ब ५९ करोड रुपैयाँको सेयर किनबेच भएकोमा गत साता २१ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ।
मौद्रिक समिक्षाले असल कर्जामा रहेको जोखिमभार १.२५ प्रतिशतबाट घटाएर १.२ प्रतिशत बनाएको, हायर पर्चेज कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको, बैंक वित्तीय संस्थाहरूले एक आर्थिक वर्ष व्यतित गरेका सेयरहरू प्राथमिक पुँजीकोषको २० प्रतिशतसम्म सेयर बेच्न पाउने (यसअघि १ प्रतिशत मात्र रहेको) व्यवस्था, घरजग्गा खरिद गर्दा ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिसतबाट बढाएर ७० प्रतिसत बनाएको जस्ता कारणले वित्तीय क्षेत्रमा सकारात्मक प्रभाव परेको छ। जसले गर्दा विगतमा निकै दबाब झेलिरहेको बैंकिङ समूहमा गत साता सकारात्मक प्रभाव देखिएको र समग्रमा बैंक सूचक १८ प्रतिशत हाराहारीले वृद्धि भयो।
जोखिमभार घट्दा प्रत्यक्ष रुपमा ५ अर्ब हाराहारी वित्तीय क्षेत्रको आम्दानी बढेको छ भने अन्य व्यवस्थाले अप्रत्यक्ष रुपमा सेयर बजारलाई चलायमान बनाउन सहयोग गर्ने प्रक्षेपण गरिएकाले गत साता बजारमा सकारात्मक रौनक देखिएको हो। तर, अब बजेटका प्रावधान सकारात्मक आउने आसामा आइतबार र सोमबार नेप्से चलायमान हुन सक्छ। तर, बजेटले अपेक्षित सम्बोधन नगरेको खण्डमा नेप्से पुरानै बाटोमा फर्किने खतरा बढी हुन्छ।
पुँजी बजार विश्लेषक मुक्ति अर्यालका अनुसार पछिल्ला केही दिन यता नेप्से बढ्नुमा लामो समय सूचक २ हजार बिन्दुभन्दा तल रहनु, मौद्रिक नीति समीक्षाले सकरात्मक सन्देश दिनु, बजेटबाट पुँजीगत लाभकरमा समायोजन हुने आशा लगानीकर्तामा रहनु र आर्थिक वर्षको अन्त्यसँगै बजार माथि तान्ने अभ्यास विकास हुनु प्रमुख आधार हुन्। ‘आगामी बजेट बजारको पक्षमा आउने आँकलन छ। अर्थमन्त्रीसामु समग्र आर्थिक गतिविधि चलयमान बनाउनुपर्ने बाध्यता पनि छ,’ विश्लेषक अर्याल भन्छन्, ‘बजेटले लगानीकर्ताको अपेक्षा पुरा नगरेको खण्डमा भने बजारले फेरी ओरालो बाटो समाउन सक्छ। बजेट बढी वितरणमुखी भएर आएको खण्डमा त्यसको असर सेयर बजारमा सकारात्मक रुपमा नदेखिन सक्छ।’ अर्यालकाअनुसार बजेटले पुँजीगत लाभर र कर्पोरेट कर घटाउने, पुँजीगत खर्च बढाउने, सबै दायित्वहरू भुक्तानी गरिने सुनिश्चितता दिएमा बजार थप सकरात्मक भएर जाने छ।
मौद्रिक समीक्षाले दिएको सकारात्मक भावलाई अर्थमन्त्री पुनले ल्याउने बजेट र त्यसले बजारमा पार्ने सक्ने असरलाई ख्याल गरि नेप्से २२०० विन्दु हाराहारी पुर्याउने आंकलन भएको छ। नेपाल धितोपत्र दलाल व्यवसायी संघ (स्टक ब्रोकर एसोसिएसन) का पूर्वअध्यक्ष भरत रानाभाटकाअनुसार मौद्रिक नीति समीक्षाले सेयर बजारलाई सकारात्मक लयमा फर्काएकाले अर्थमन्त्री पुनले विगतमा गरेको प्रतिबद्धता कार्यान्वयन गरेमा पुँजीबजारले सकारात्मक लय समात्नेछ। ‘अर्थमन्त्रीले बजारलाई कसरी अघि बढाउन चाहेका छन् भन्ने बजेटबाट देखिने छ र लगानीकर्तामा एक प्रकारको आशा सञ्चार भएको छ,’ रानाभाट भन्छन्, ‘पछिल्लो समय छोटो समयमा सेयर बजारबाट पैसा कमाउन सकिन्छ भन्ने मान्यता लगानीकर्तामा देखिन्छ। बजेटले त्यसमा थप मलजल गर्न सक्छ।’
बजेटले पुँजीगत लाभकर घटाउने, लगानीकर्ताका विषयमा महालेखापरिक्षकको कार्यालयले देखाएको बेरुजुको सम्बोधन गर्नेजस्ता विषयमा लगानीकर्ताको चासो छ। पुँजीबजारमा सक्रिय रहेका भनिएका विभिन्न ८ वटा संगठनले शनिबार संयुक्त रुपमा २ बुँदे सुझाव अर्थमन्त्रीलाई दिएको जनाएका छन्। उनीहरुले बजेटमा आफ्ना माग नसमेटिए सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्। लगानीकर्ताहरुले अल्पकालिन लगानीकर्ता (३६५ दिनभन्दा कम अवधिका) का लागि ७.५ प्रतिशतको सट्टा ५ प्रतिशत र दिर्घकालिन लगानीकर्ता (३६५ दिनभन्दा बढी अवधि)का लागि ५ प्रतिशतको सट्टा ३ प्रतिशत पुँजीगत लाभ कर लगाउनुपर्ने र यस्तो कर अग्रिम नभएर अन्तिम हुनुपर्ने माग गरेका छन्।