काठमाडौं । काठमाडौं महानगपालिकाले सडक विभाग र विभाग अन्तरगतको 'सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं' (सडक डिभिजन काठमाडौं) को गेटमा एक/एक ट्रक धुलो खन्याएको छ। विगत १५ वर्षदेखि कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तारको नाममा नागरिकले धेरै धुलो र कष्ट बेहोर्नु परेको भन्दै त्यसको अनुभुति गराउन कार्यालयसम्म महानगरले धुलो माटो पुर्याएको हो।
महानगरका मेयर बालेन्द्र शाह 'बालेन' ले शनिबार सामाजिक संजालमा ट्रकबाट माटो खन्याएको भिडियो सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठलाई "ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्ने मन्त्रीले त्यही आदेशले सडक बनाउन पनि मेयर शाहले आग्रह गरेका छ।
साथै जबसम्म निर्माणको काम अगाडि बढ्दैन तबसम्म हरेक दिन भौतिक मन्त्रीलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने पनि मेयर शाहले घोषणा गरेका छन्।
यस्तो छ मेयर शाहको भनाइ,
"माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु,
तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला। विगत १५ बर्षदेखि काठमाण्डौका नागरिकले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ। काठमाण्डौमा हुने आधाभन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ। र, काठमाण्डौ महानगरले अकारणमा गाली खानु परेको छ।
यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला।"
काठमाडौं महानगरले गेटमा फोहोर/धुलो फालेको प्रति सडक डिभिजनको आपत्ति
काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालयको गेटमा फोहोरसहितको धुलो फालेको प्रति सडक डिभिजन काठमाडौंले आपत्ति जनाएको छ। महानगरले शनिबार साँझ सडक डिभिजन काठमाडौंको मिनभवन स्थित कार्यालय र बाबरमहल स्थित सडक विभागको गेटमा मिनि टिप्परबाट फोहोरसहितको माटो खन्याएको थियो।
महानगरका मेयर बालेन्द्र शाह 'बालेन'का अनुसार १४ वर्षदेखि चक्रपथ विस्तार (कलंकी-महाराजगन्ज) नगरी जनतालाई धुलो र कष्ट भएपछि टिप्परबाट दुवै कार्यालयको गेटमा धुलो खन्याइएको हो। तर, डिभिजन कार्यालय काठमाडौंले भने आफ्नो कार्यालयसँग असम्बन्धित विषयमा कार्यालय प्रवेश गर्न अवरोध हुनेगरी फोहोर फालिएको भन्दै आपत्ति जनाएको छ। यद्यपि विभागले भने उक्त विषयमा कुनै प्रतिक्रिया जनाएको छैन।
शनिबार साँझ एक विग्यप्ती जारी गर्दै डिभिजन कार्यालयले देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैली प्रस्तुत भएको र उक्त कदम स्विकार्य नहुने जनाएको हो।
शुक्रबार मेयर शाह र डिभिजनका प्रमुख नारायण भण्डारी बीच महानगर भित्रका सडक सुधार गर्न नियम बमोजिम सहकार्य अघि बढाउने तथा महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो। यसअघि महानगरबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमती दिइएको पनि डिभिजन कार्यालयले जनाएको छ।
तर, शनिबार दिउँसो १२ बजे तिर न्यूरोड क्षेत्रमा डिभिजनको कार्यक्षेत्र भित्र पर्ने सडकमा महानगरले बिना अनुमती सडकको चौडाई घटाउन लाग्दा डिभिजन कार्यालयले रोक लगाएको विग्यप्तिमा उल्लेख छ।
उक्त विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गेटमा फोहोर फाल्नु कानुनी राज्यको उपहास भएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ।
"कार्य क्षेत्र भित्र भएका त्रुटीमा सुझाव दिए कार्यान्वयन गर्ने तर कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सो को प्रतिकार गर्नसमेत सडक डिभिजन काठमाडौं बाध्य हुन्छ" विज्ञप्तीमा भनिएको छ। काठमाडौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको महत्वपूर्ण जिम्मेवारी सडक डिभिजनको हो।