काठमाडौं। दुईपांग्रे सवारीसाधनको बजारमा सर्वाधिक बिक्री हुने मोटरसाइकलमध्ये बजाजको पल्सर–१५० पनि पर्छ। सोरुम तथा रिकन्डिसन (दोस्रो बजार) हेर्ने हो भने पनि बजाज मोटरसाइकलप्रतिको आकर्षण गतिलै देखिन्छ। तर, बजाज पल्सर–१५० टुइन डिस्क (टिडी)ले भने विस्तारै अलोकप्रिय बन्दै गएको छ।
रिकन्डिसनमा पल्सर–१५० सिगंल डिस्क (एसडी) मोटरसाइकल पाउनै मुस्किल छ। रिसेल भ्यालुदेखि बजार प्रतिक्रिया पनि राम्रो छ। तर, पल्सर–१५० कै अर्को भेरियन्ट टुइन डिस्क (टिडी) विस्तारै रोजाइबाट अलगिँदै छ।
टिडी रिकन्डिसन हाउसमै थुप्रिनुका साथै कम मूल्यांकन हुन्छ। समान लटका एसडी र टिडी एकै ठाउँ राख्यो भने ग्राहकले महँगो मूल्यमा एसडी लैजाने गरेको एक डिलरले क्यापिटल नेपाललाई बताए।
‘टिडीमा चेन्सपोकेट ठूलो भएका कारण पिकअपमा समस्या आयो,’ ती डिलरले क्यापिटल नेपालसँग भने, ‘एडसीभन्दा महँगो मूल्या तिरेर टिडी किन्यो, सामान्य उकालो पनि उक्लिँदैन। अनि कसरी ग्राहकको रोजाइमा पर्छ?’ बजारको पछिल्लो मोडल हो–टिडी। फिचर पनि राम्रो छ। तर, पिकअप नै नभएपछि राम्रा फिचर ओझेलमा परेको ती डिलरको भनाइ छ। एकैतिर एसडी र टिडी रिकन्डिसनमा राख्यो भने पहिले एसडी जान्छ, त्यो पनि महँगो मूल्यमा।
त्यसैका कारण अहिले रिकन्डिसन हाउसले पनि सकेसम्म एसडी सहजै लिने र महँगो तिर्ने गरेका छन्। रिकन्डिसन कारोबारी निखिल अधिकारी एसडी छिट्टै बिक्री हुने र टिडी लामो समय स्टकमा बस्ने गरेको सुनाउँछन्। ‘टिडी अलिक धेरै समय स्टक बस्छ,’ अधिकारी भन्छन्, ‘पल्सर किन्ने ग्राहकको रोजाइमा टिडीभन्दा एसडी नै परेको देखिन्छ।’
अर्का व्यवसायी राज नकर्मी पनि एसडीको माग उच्च भएको बताउँछन्। टिडी ग्राहकको रोजाइमा नपर्ने गरेको उनी सुनाउँछन्। सुरुमा केही समस्या देखियो। लगत्तै कम्पनीले देखिएको प्राविधिक समस्यालाई सुल्झाउँदा पनि ग्राहकको मन जित्न नसकेको उनीहरुको भनाइ छ। ‘अहिले पनि एसडी स्टकमा छैन, माग भने उच्च छ’, नकर्मी भन्छन्, ‘ग्राहकको चाहना धेरै एसडीमै छ, टिडी खासै ग्राहकको चाहनामा पर्दैन।’
बजाज पल्सर–१५०टिडी
नेपाली बजारमा बजाज पल्सर–१५० एसडी र टिडीको नयाँ मोटरसाइकलको मूल्यमा ठूलो अन्तर छैन। पल्सर–१५० एसडीको नयाँ बाइकको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ छ भने टिडीको मूल्य भने ३ लाख १८ हजार ९ सय रुपैयाँ छ। टिडी एसडीको तुलनामा करिब १९ हजार रुपैयाँले बढी छ। पिकअप पावरको समस्यालाई छाडेर कुरा गर्ने हो भने टिडीको आवाजलाई सबैले मन पराउने गरेका छन्।
रिकन्डिसन व्यापारी प्रकाश बोहरा पनि पल्सर–१५० खोज्दै आउने अधिकांश ग्राहकको रोजाइमा एसडी नै पर्ने गरेको सुनाउँछन्। ‘पल्सर–१५० को सिगंल डिस्क र टुइन डिस्क दुवै हामीले बेच्दै आइरहेका छौं। धेरै ग्राहकको रोजाइमा एसडी नै पर्छ,’ बोहरा भन्छन्, ‘सिगंल डिस्क र टुइन डिस्कमा फरक मूल्य छ। त्यही भएर पनि ग्राहकको रोजाइमा कम परेको हुन सक्छ।’
नेपाली बजारमा बजाज पल्सर–१५० एसडी र टिडीको नयाँ मोटरसाइकलको मूल्यमा ठूलो अन्तर छैन। पल्सर–१५० एसडीको नयाँ बाइकको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ छ भने टिडीको मूल्य ३ लाख १८ हजार ९ सय छ।
टिडी प्रयोगकर्ता तथा प्रयोग गरेर बिक्री गरिसकका व्यक्ति पहाड र उकालो बाटोमा टिडीको पिकअप राम्रो नभएको प्रतिक्रिया दिन्छन्।
तर, बजाज यो विषय सत्य नभएको बताउँछ। हंशराज हुलासचन्द एन्ड कम्पनी बजार हेड अमितराज चालिसे मूल्य र फिचरका कारण एसडी र टिडीमा ग्राहकको रोजाइ फरक परेको तर्क गर्छन्। चालिसेका अनुसार बजाज पल्सर–१५० एसडी नेपालको हरेक कुनामा हरेक सर्भिस सेन्टरमा बन्न सक्छ। यही सुविधा र कम मूल्यका कारण एसडीको माग उच्च भएको हो।
‘नेपालमा सबैभन्दा बढी मोटरसाइकल पल्सर–१५० एसडी बिक्री हुँदै आएको छ। पल्सर–१५० एसडी र टिडीमा मूल्य फरक भएकाले एसडी धेरै बिक्री हुन्छ,’ चालिसे भन्छन, ‘बजाजको मोडल बजारमा आएको २५–२६ वर्ष भइसक्यो बजाजको सर्भिस सेन्टर, सुविधा, फिचर सम्पूर्ण कुराले गर्दा नै पल्सर लोकप्रिय भएको हो।’
कम्पनीका अनुसार बजाज पल्सर–१५० एसडी र टिडीमा सबैभन्दा धेरै बिक्री एसडी नै हुने गरेको छ। शतप्रतिशतमा २० प्रतिशत टिडी बिक्री हुँदा एसडी भने ८० प्रतिशत हुने गरेको छ। यद्यपि, यसको पछाडि ग्राहकको रोजाइ एवं चाहना भएको र अन्य समस्या नभएको चालिसेको तर्क छ।
‘सबै ग्राहकलाई मूल्यमा फरक पर्दैन। कति जनालाई पछाडि पनि डिस्क ब्रेक होस् भन्ने लागे उनीहरुका लागि टिडी छ। अन्यका लागि एसडी,’ चालिसे भन्छन्, ‘पल्सरतर्फ ग्राहकको यति धेरै क्रेज छ कि एउटा ग्राहकले ५–६ वटा पल्सर–१५० एसडी चलाइसकेका छन् भने पछि अपग्रेड गरेर पल्सर–१५० टिडी पनि लिएर गएका धेरै उदाहरण छन्।’
बजाज पल्सर–१५० एसडी र टिडीमा १४९ सीसी सिगंल सिलिन्डर, एयरकुल्ड इन्जिन रहेको छ। उक्त इन्जिनले १४ पीएस पावरका साथै १३.४ एनएम टर्क जेनेरेट गर्छ। पल्सर–१५० को दुवै भेरियन्टमा १५ लिटर पेट्रोल अट्ने ट्यांकी छ भने ५–स्पिड गियरबक्स उपलब्ध छ। बजाज १५० टिडीमा पछाडिको टायर मोटो छ। यसमा १२९ एमएमको रियर टायर दिइएको छ।