काठमाडौं। कोरोना संक्रमणका कारण उत्तरी छिमेकी चीनले २०७६ माघ ५ देखि बन्द गरेको किमाथांकासहित १४ वटा परम्परागत नाका आजदेखि पुनः सञ्चालनमा आअाएका छन्।
किमाथांकासहित नेपाल–चीन सीमामा रहेका १४ वटै व्यापारिक नाका पुनः सञ्चालन उद्घाटन कार्यक्रममा सहभागी हुन गएका उपप्रधान एवं परराष्ट्रमन्त्री श्रेष्ठको नेतृत्वको टोली र चिनियाँ टाेलीले १४ मध्ये ७ व्यापारिक नाका सञ्चालनकाे उद्घाटन गरेकाे हाे।
परराष्ट्रमन्त्री श्रेष्ठसहित कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल किमाथांका पुगेका थिए।
कोभिड महामारीको कारण देखाउँदै चीनले बन्द गरेका १४ व्यापारिक नाका नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि पुनः सञ्चालनमा आएका हुन।
परम्परागत नाका पुनः सञ्चालनका लागि दुई मुलुकबीच कूटनीतिक माध्यमबाट निरन्तर छलफल हुँदै आएको थियो। परराष्ट्रमन्त्री श्रेष्ठले गत चैतमा गरेको चीन भ्रमणका बेला दुई मुलुकबीचको परम्परागत सीमा व्यापार नाका क्रमशः खुलाउने समझदारी भएको थियो।
रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाका यसअगावै सञ्चालनमा आइसकेका छन्। ताप्लेजुङको टिप्तला नाका पनि शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ।
उपप्रधानमन्त्री श्रेष्ठ र चीनको तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाङ निमाले किमाथांका–छेन्ताङसहित सम्पूर्ण व्यापार नाका पुनःसञ्चालन भएको घोषणा गर्ने कार्यक्रम छ। कार्यक्रमबाट नेपाल–चीन सीमामा रहेका १४ वटै व्यापार नाका खुलेको घोषणा गरिने संखुुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए।
नाका बन्दसँगै चीन सीमावर्ती क्षेत्रसँग जोडिएका नेपाली नागरिकको जनजीवन कष्टकर हुँदै आएको थियो। खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका नेपाली मारमा थिए।
चिनियाँ पक्षले आजदेखि विभिन्न सात नाका खोल्ने र अन्य नाका निश्चित समयभित्र खुलाउँदै जाने जानकारी गराएको परराष्ट्र मन्त्रालयले बताएको छ। आजदेखि दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र संखुवासभासँग सीमा जोडिएका नाका खुल्नेछन्।
उत्तरी क्षेत्रमा रहेका सम्पूर्ण व्यापार नाका खुलेसँगै सीमा क्षेत्रमा राज्यको उपस्थिति हुने, भन्सार राजस्वमा वृद्धि हुने, स्थानीय उत्पादन बिक्री तथा रोजगार सिर्जना हुनेछ।
नाका बन्दसँगै चीन सीमावर्ती क्षेत्रसँग जोडिएका नेपाली नागरिकको जनजीवन कष्टकर हुँदै आएको थियो। खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका नेपाली मारमा थिए।
सीमावर्ती क्षेत्रका नागरिकले उत्पादन गरेका चौरीको दूध, घ्यू, भेडाको ऊन र जडीबुटीलगायत चिनियाँ बजारमा बिक्री गर्ने तथा चौंरी तथा भेडा चरनका लागि चिनियाँ भूभागमा लैजान प्रतिबन्ध रहेकामा अब फुकुवा हुनेछ।
सीमानाका सञ्चालन गरेर सीमा क्षेत्रमा सहज आउजाउ व्यवस्था मिलाउन नेपाल र चीनका स्थानीय अधिकारीबीच पटक–पटक वार्ता भए पनि नाका खुल्ने वातावरण बन्न सकेको थिएन।