काठमाडौं। उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रमा कार्यरत प्राविधिकको सीप स्तरोन्नति तालिम दिएको छ। उद्योगमा कार्यरत प्राविधिकलाई किफायती ऊर्जा खपतमा सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित इनर्जी इफिसियन्सी तालिममा २२ जना प्रशिक्षार्थी सहभागी थिए।
इन्स्योर परियोजनासँगको सहकार्यमा सञ्चालित संगठनको सीप विकास कार्यक्रमअन्तर्गत सञ्चालित तालिममा एमएम प्लास्ष्टिक उद्योगमा कार्यरत प्राविधिक सहभागिता रहेको संगठनले जनाएको छ।
आज २० दिने तालिम समापन अवसरमा संगठनका अध्यक्ष राकेश सुरानाले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै उद्योग प्रतिष्ठानमा कार्यरत जनशक्तिको ज्ञान र सीप अभिवृद्धि भए उद्योगको उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने बताए।
उनले उद्योग प्रतिष्ठानले भोग्दै आएको दक्ष प्राविधिक अभावलाई लक्षित गरी उद्योगको आवश्यकताका आधारमा संगठनले पाठ्यक्रम तयार गरी तालिम सञ्चालन गर्दै आएको उनको भनाइ छ।
पछिल्लो दिनमा यस प्रकारको तालिम सञ्चालनका लागि उद्योगको बढ्दो अभिरुचिप्रति खुसी व्यक्त गर्दै उनले प्रत्येक तालिमलाई कर्मचारीले जीवनपर्यन्त सिकाइ प्रक्रियाका रुपमा लिई आफनो कार्यसम्पादन क्षमता सुधार्न आग्रह गरे।
तालिमका प्रशिक्षक सञ्जयकुमार साहले तालिम अवधिमा प्राविधिकलाई ऊर्जा खपत न्यूनीकरणका उपाय, खेर गइरहेको ऊर्जा नियन्त्रण तथा मेसिन प्रयोग र सञ्चालन विधि, प्राप्त ऊर्जाको समूचित उपयोग एवं व्यवस्थापन, ऊर्जा दक्षता पद्धति र महत्त्वका विषय तालिममा समेटिएको जानकारी दिए।
संगठनको सीप विकास कार्यक्रमअन्तर्गत अरिहन्त मल्टिफाइबर्समा जुट ब्याचिङसम्बन्धी तालिम तथा परिवर्तित सन्दर्भमा प्राविधिकलाई इन्डस्ट्री अटोमेसन भेरियबल फ्रिक्वेन्सी ड्राइभसम्बन्धी तालिम संगठन हाताभित्र एकैसाथ सञ्चालन भइरहेको छ।
संगठनले यसअघि विभिन्न उद्योग प्रतिष्ठानका प्राविधिकलाई एकै थलोमा भेला परेर गरी तालिम दिँदै आएकामा सिकाइलाई थप प्रभावकारी बनाउन पछिल्लो समय सम्बन्धित उद्योगको कार्यस्थलमै राखेर तालिम सञ्चालन गर्ने नयाँ अभ्यासअन्तर्गत यो तालिम सञ्चालन गरिएको हो। संगठनले सम्बन्धित उद्योगको मागको आधारमा सम्बन्धित उद्योगका कार्यरत प्राविधिकको दक्षताको मागका आधारमा पाठ्यक्रमसमेत तयार गरी यस प्रकारको तालिम सञ्चालन गर्ने रणनीति अख्तियार गरेको छ।
तालिम समापन कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष सुयष प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी र सीप विकास कार्यक्रमका संयोजक दीपककुमार अग्रवाल तथा इन्स्योर परियोजनाकी रेखा उप्रेतीको सहभागिता थियो।