काठमाडौं। सहकारी ठगीमा संग्लन गोर्खा मिडियाका सञ्चालक तथा पूर्व सञ्चालकमाथि छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल तयार भएका छन्।
नेपाली कांग्रेसले सहकारी ठगीमा गोर्खा मिडियाका पूर्व सञ्चालक, गृह तथा उपप्रधानमन्त्री रवि लामिछाने र उनका व्यावसायिक साझेदारमाथि छानबिन समिति बनाएर अनुसन्धान गर्न दाहाल तयार भएको बालुवाटार स्रोतले जानकारी दियो।
त्यही विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई ४ बजे बोलाएका छन्। गोर्खा मिडियाका सञ्चालक तथा पूर्व सञ्चालकमाथि छानबिन गर्नुपर्ने कांग्रेसले अडान राखेपछि प्रधानमन्त्री दाहाल तयार भएको स्रोतको दाबी छ।
शक्ति र सत्ताका आँडमा लाखौ सहकारी बचतकर्ताको अर्बौ रुपैयाँ अपचलन गरेपछि कांग्रेसले गृहमन्त्री लामिछाने र उनका साझेदारमाथि संसदीय छानबिनको माग गर्दै आएको छ। छानविन समिति नबनेसम्म संसद चल्न नदिने अडानपछि दाहाल लचक हुँदै संसदीय छानविन समिति बनाएर गोर्खा मिडियाका पूर्व तथा वर्तमान सञ्चालकमाथि अनुसन्धान गर्न सहमत भएका हुन्।
‘त्यही विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले नेपाली काग्रेंसलाई बोलाउनु भएको छ’ स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानविन समिति बनाउन सरकारसामू निरन्तर दबाब दिएपछि प्रधानमन्त्री दाहालले गोर्खा मिडियाका पूर्व तथा वर्तमान सञ्चालकहरुमाथि छानविन गरौ भन्ने मध्यमार्गी बाटो लिनुभएको छ।’
सम्पूर्ण सत्ता र सरकारी संयन्त्र नै गृहमन्त्री लामिछानेलाई जोगाउन एकजुट भएपछि कांग्रेस थप आक्रामक हुँदै बारम्बार संसद अवरुद्ध गरिरहेको छ। संसद अवरुद्ध हुँदा बजेट नै अध्यादेशमार्फत आउने खतरा बढेपछि प्रधानमन्त्री दाहालले नयाँ बाटो समाएका हुन्।
नीति तथा कार्यक्रमसमेत संसदबाट पास हुन सकेको छैन। सरकार संसद अन्त्यतर्फ लागिरहेका बेला प्रधानमन्त्री दाहाल नयाँ उपाय निकालिएको हो।