काठमाडौं । भुक्तानी सञ्चालन अनुमति लिएको नेपाल क्लियरिङ हाउस (एनसिएचएल) विप्रेषण (रेमिट्यान्स) कारोबारमा संलग्नताबारे छानबिन गर्ने भएको छ।
अमेरिकी फिनटेक कम्पनी ‘जुनो’सँग मिलेर रेमिट्यान्स कारोबारमा संलग्न भएको आशंकामा राष्ट्र बैंकले एनसिएचलमाथि छानबिन गर्न लागेको हो।
एनसिएचएलले विगत एक महिनाअघिदेखि अमेरिकी फिनटेक कम्पनी ‘जुनो’सँग मिलेर रेमिट्यान्स कारोबारमा संलग्न भइरहेको छ।
ठमेल रेमिट राष्ट्र बैंकबाट विप्रेषण कारोबारको अनुमति लिएको कम्पनी हो। तर, एनसिएचएलले आफ्नो मोबाइल वालेटको ‘कनेक्ट आइपिएस’ मोबाइल एप्लिकेशनमा रेमिट सेवा अप्सन राखेर जुनोको वेबसाइट लिंक गरी रेमिट्यान्स कारोबार गरिरहेको छ।
नेपालमा रेमिट्यान्स कारोबार गर्न कानुनी वैधनिकता नभएको जुनोले कनेक्ट आइपिएसमा आफ्नो वेबसाइट लिंक गरेर अमेरिकाबाट नेपालमा रेमिट्यान्स पठाउन मिल्ने व्यवस्था गरेको छ। उक्त विषयमाथि केही दिनअघि क्यापिटल नेपालले समाचार सम्प्रेषण गरेको थियो।
एनसिएचएलले के-कसरी लाइसेन्स नै प्राप्त नरेको कम्पनीसँग रेमिट कारोबार गरेको भन्ने बारेमा छानविन सुरु गरिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताए।
‘एनसिएचएलको रेमिट्यान्स कारोबारमा संलग्नताबारे भुक्तानी प्रणाली विभागमा साथीहरूलाई थप हेर्न भनेका छौं,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले क्यापिटल नेपालसँग भने, ‘निर्देशनभन्दा बाहिरको भएमा थप छानबिन गछौं र कानुनी दायरामा ल्याउँदै तर, निर्देशनभन्दा बाहिर नभए केही गर्नु नगर्ने हाम्रो बुझाइ हो।’
नीति निर्देशन तथा ऐनले व्यवस्था एनसिएचएलले उल्लंघन गरे/नगरेको विषयमा समेत स्थलगत निरीक्षणका क्रममा थप हेरिने उनले जानकारी दिए। राष्ट्र बैंकले तोकेको कार्य क्षेत्रमै रहेर एनसिएचएलले अन्य रेमिट कम्पनीहरूसँग पनि सम्झौता गरी काम गरेको जानकारी राष्ट्र बैंकमा गराइसकेको हुँदा त्यसमा थप छानबिन गरिने भट्टले बताए।
‘एनसिएचएलले ठमेल रेमिटसँगै अन्य रेमिट्यान्स कम्पनीहरुसँग पनि सम्झौता गरेर उनीहरुको सेवा आफ्नो वालेटमा राख्ने काम गछौं भनेको छ, रेमिट कम्पनीहरुको सेवा प्रवद्र्धनमा एनसिएचएलको संलग्नताबारे हामीले हेर्न लगाएका हौं’, उनले भने।
तस्बिर : कनेक्ट आइपीएसभित्र राखिएको जुनोको सिस्टम
ठमेल र जुनो संस्थापक जोशी भन्छन्, ‘जुनोलाई परिचित संस्था भएकाले त्यही नामबाट कारोबार गरेका हौं।’ एनसिएचएलले राष्ट्र बैंकले तोकेको कार्यक्षेत्रमा रहेर राष्ट्र बैंकबाट लाइसेन्स लिएका संघ संस्थाको मात्रै भुक्तानी, क्लियरिङ र सेटलमेन्ट सम्बन्धी काम गर्न पाउँछ।
राष्ट्र बैंकबाट विप्रेषण कारोबार गर्ने कम्पनीको लाइसेन्स ठमेल रेमिटले लिएको हो। तर, एनसिएचएलले भने उसको मोबाइल वालेटमा ठमेल रेमिटको नभएर ‘रेमिट व्युथ जुनो’ भनेर ‘जुनो रिक्वेस्ट टु युएसए’ नामको ‘एक्सयुएनओ’ नामको लोगो भएको रेमिट सम्बन्धी कारोबार गर्न मिल्ने वेबसाइट खुल्छ।
उक्त वेबसाइटबाट रेमिट्यान्स कारोबारका लागि आवश्यक विकल्प दिन्छ। जसमा दिइएको निर्देशनअनुसार रेमिट्यान्स कारोबार कनेक्ट आइपिएस प्रयोगकर्ताहरूले गर्न सक्छन्।
ठमेल रेमिटलाई जुनोलाई आफ्नो मुख्य एजेन्टको रूपमा जुनोलाई राख्ने स्वीकृत दिएको हो। तर, एनसिएचएलमा ठमेल रेमिटको नामबाट नभएर जुनोकै नामबाट कारोबार भइरहेको छ। अमेरिकामा ठमेल रेमिटलाई ग्राहकले नचिन्ने हुँदा जुनो रेमिटको नाम प्रयोग गरिएको जुनो र ठमेल रेमिटको संस्थापक बालकृष्ण जोशी बताउँछन्।
‘सिजिफिनको वेस्टनयुनियन एजेन्ट हो। ग्राहकले सिजिफिनलाई नभएर वेस्टन युनियनलाई मात्रै चिन्ने हुँदा वेस्टन युनियनको लोगोलाई ठूलो बनाएर राखेको हुन्छ, हामीले पनि त्यही गरेका हौं, कनेक्ट आइपिएसमा जुनोको नाम राख्नुको कारण पनि त्यही हो,’ कम्पनीका संस्थापक जोशीले भने।
‘वेव साइटमा जे लेखिएको भए पनि हामी नेपालबाट अमेरिकका रेमिट्यान्स पठाउँदैनौं,’ उनले भने। जुनोले नेपालबाट अमेरिकमा अधिकतम १० लाख रुपैयाँ अर्थात् ७ हजार ५ सय अमेरिकी डलर पठाउन सकिने वेबसाइटमा उल्लेख गरेको थियो।
उनका अनुसार जुनो भनेको अमेरिकी फिनटेक कम्पनी हो। जुनोले ठमेल रेमिटको नामबाट अमेरिकाबाट नेपाल पठाइने रेमिट्यान्सको राउटिङ गर्छ भने, त्यसको भुक्तानी सेटलमेन्ट एनसिएचएलमार्फत् हुन्छ। त्यसका लागि प्रिन्सिपल एग्रिमेन्टसमेत गरिएको जोशीले जानकारी दिए।
तस्बिर : क्यापिटलमा समाचार प्रकाशितपछि जुनोबाट एनसिएचएल र राष्ट्र बैंकको लोगो हट्यो
जुनोले क्यापिटलमा समचार प्रकाशित हुनअघि आफ्नो वेबसाइटमा पेआउट पाटनर भनेर ठमेल रेमिटलाई राखेको थियो भने राष्ट्र बैंकबाट लाइसेन्स लिएको र एनसिएचएलको सदस्य रहेको उल्लेख गर्दै संस्थाको लोगो राखेको थियो। तर, अहिले आफनो वेबसाइटबाट राष्ट्र बैंक र एनसिएचएलको लोगो हटाएको छ।
राष्ट्र बैंकले अन्तरआवद्धताका लागि एनसिएचएललाई कानुनी मान्यता दिएकै भए पनि ठमेल रेमिटकै नाम उल्लेख गरेर अन्तरआवद्धता गराएमात्रै नियमसंगत हुने देखिन्छ। राष्ट्र बैंकबाट एउटा नामको स्वीकृति लिएर अर्को नामको कम्पनीबाट रेमिट्यान्स भइरहेको कम्पनीलाई अन्तरआवद्धता दिनु एनसिएचएलले राष्ट्र बैंकको आँडमा गलत कार्य गरेको प्रष्ट हुन्छ।
तस्बिर : समाचार प्रकाशित अघिको लोगोसहितको फोटो
एनसिएचएलले राष्ट्र बैंकबाट वैधानिकता पाएको ठमेल रेमिटलाई आफ्नो मोवाइल वालेट प्रयोग गर्न दिएर रेमिट्यान्स कारोबार सेटलमेन्टको काम गरेको भए त्यसलाई कानुन संगत मान्न सकिन्छ।
तर, ठमेल रेमिटलाई आफ्नो पेआउट पाटनरको रुपमा राखेको जुनो कम्पनीको वेबसाइट लिंक गर्नुको विषयमा राष्ट्र बैंकले छानबिनमा तदरुक्ता नदेखाए राष्ट्र बैंककै नियामन तथा सुपरीवेक्षणमाथि प्रश्न उठ्छ।