क्यापिटल नेपालको मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचार आरोपमा दोषी ठहर गरेको छ। अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले जेठ ८ मा पौडेलसहित चार जनालाई दोषी ठहर गरेको हो। इजलासले पौडेललाई २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो तथा त्यति नै रकम जरिमाना भराउने फैसला गरेको हो। सोही आरोपमा मुछिएका जविनकुमार पौडेलमाथि ६ महिना कैद र ५ करोड ८४ लाख बिगो तथा जरिमाना, रोहितमान प्रधानलाई ५ करोड ८४ लाख जरिमाना र भुवन महर्जनलाई ५ करोड ७९ लाख रुपैयाँ जरिमाना भराउने फैसला गरेको छ। आरोपमा मुछिएका रमेशप्रसाद पोखरेल, मनिकमान महर्जन, शिरिष उपाध्याय र मित्रलाल पुरीले सफाइ पाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन्। प्रधानमन्त्रीले १७ महिनामा चौथोपल्ट गत जेठ ७ मा सदनबाट विश्वासको लिएका हुन्। विश्वासको मतको पक्षमा १५७ र विपक्षमा शून्य मत परेको छ। मत दिन्नँ भन्ने पक्षमा १ मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिए। २०७९ पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए। २०७९ फागुन १५ मा एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भएसँगै चैत ६ मा प्रधानमन्त्रीले पुनः विश्वासको मत लिएका थिए। गत फागुन २१ मा प्रधानमन्त्रीले कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहितका दलको नयाँ समीकरण बनेको थियो। त्यसपछि फागुन ३० मा प्रधानमन्त्रीले विश्वासको मत लिएका थिए।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया दोहोरो नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका छन्। प्रहरीले जेठ ८ मा सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स कार्यालयबाटै पक्राउ गरेको हो। पक्राउपछि प्रहरीले सोही दिन उनलाई धनुषा लगेको थियो। जेठ ९ मा जिल्ला अदालत धनुषाले अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। हाल उनीमाथिको अनुसन्धान कार्य जारी छ। सिरोहियामाथि थप छानबिन गर्न अदालतले हिरासत अवधि बढाउन सिफारिस गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालसहित २३ संघीय मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सामान्यतया मन्त्री नियुक्त भएको महिना दिनभित्रमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहे पनि प्रधानमन्त्री दाहालले १७ महिनापछि र फागुन २३ मा नियुक्त मन्त्रीहरुले भने साढे दुई महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। जेठ ८ मा सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार २३ मन्त्रीमध्ये सबैभन्दा धनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ रहेका छन्। महासेठको नाममा धनुषामा १ बिघा जग्गा, २ करोड २५ लाख नगद, ४३ तोला सुन, १.५ किलो चाँदी रहेको छ। महासेठले सार्वजनिक गरेको सम्पत्तिमध्ये अधिकांश श्रीमती जुलीकुमारी महतोको नाममा छ। महतोको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा छ। यस्तै, पत्नी महतोको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर पनि छ।
सहकारी पीडित बचतकर्ताले सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै पुनः तेस्रो चरणको आन्दोलन सुरु गरेका छन्। सहकारी पीडितहरु जेठ ११ देखि मुलुकभरका करिब साढे ३ सय सहकारीमा राखेको साढे २ अर्ब बराबरको बचत रकम फिर्ता नभएपछि सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएका हुन्। यसअघिको काठमाडौं केन्द्रित आन्दोलनमा सरकारसँग दुईपल्ट सम्झौता भए पनि कार्यान्वयन नभएपछि सहकारी पीडितले रिले अनशन, धर्नालगायत कार्यक्रम राखेर आन्दोलनमा उत्रिएका हुन्।
आरोही कामीरिता शेर्पाले ३०औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर यसअघिको आफ्नै नाममा लेखिएको विश्व रेकर्ड तोडेका छन्। शेर्पाले जेठ ९ गते बिहान ७ बजेर ४९ मिनेटमा ३०औं पल्ट सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका हुन्। शेर्पाले दुई साताअघि मात्र २९औं पटक आरोहण सफल गरेका थिए। उनले एकै महिनामा दुई पटक सगरमाथा चुचुरोको सफल आरोहणपछि कामीरिता विश्वभरका सञ्चारमाध्यममा छाएका छन्।
राष्ट्रिय गौरवको आयोजना एवं नेपालकै पहिलो काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) मा दोस्रो सुरुङ ब्रेक थ्रु (छिचोलिने काम) भएको छ। अघिल्लो साता अर्थात् जेठ ४ मा १६३३ मिटर लामो लेनडाँडा सुरुङ ब्रेक थ्रु भएको एक सातामै जेठ ११ गते अर्को सुरुङ ब्रेक थ्रु भएको हो। ब्रेक थ्रु भएको धेद्रे सुरुङ १६ सय ३० मिटर लामो छ।
यो साता सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११२.७१ अंकले बढेको छ। साताको चार कारोबार दिनमा चारै दिन बढेको नेप्से ११२.७१ अंकले बढेर कारोबारको अन्तिम दिन बिहीबार २१३१.४९ को बिन्दुमा रोकिएको छ। गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २०१८.७६ को बिन्दुमा समेटिएको थियो। यो साताको चार कारोबार दिनमा नेप्सेमा कुल २१ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गत साता पाँच कारोबार दिनमा कुल १७ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
१२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना शिलान्याससँगै निर्माण सुरु भएको छ। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा अवस्थित आयोजना संविधानसभा सदस्य सञ्चपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीका अध्यक्ष भानेन्द्रकुमार लिम्बूद्वारा संयुक्त रूपमा शिलान्यास भएको हो। आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी हो। आयोजनाको कुल लागत २४ अर्ब ३२ करोड अनुमान गरिएको छ। आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद मूल्य वर्षायाममा प्रतियुनिट ४.८० र सुक्खायाममा प्रतियुनिट ८.४० निर्धारण गरिएको छ।