काठमाडौं। राष्ट्रिय गौरवको आयोजना एवं नेपालकै पहिलो काठमाडौं–तराई÷मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) मा दोस्रो सुरुङ ब्रेक थ्रु (छिचोलिने काम) भएको छ। अघिल्लो साता अर्थात् जेठ ४ मा १६ सय ३३ मिटर लामो लेनडाँडा सुरुङ ब्रेक थ्रु भएको एक सातामै अर्को सुरुङ ब्रेक थ्रु भएको हो।
आज १६ सय ३० मिटर लामो धेद्रे सुरुङ ब्रेक थ्रु भएको नेपाली सेनाका सूचना अधिकारी गौरवकुमार केसीले बताए। धेद्रे सुरुङ ब्रेक थ्रु रक्षामन्त्री हरिप्रसाद उप्रेती र प्रधानसेनापति प्रभुराम शर्माले गरेका हुन्। लेनडाँडा सुरुङ मार्ग निर्माण कम्पनीका प्रतिनिधि र सेनाको उपस्थितिमा ब्रेक थ्रु भएको थियो।
बिहीबारसम्म मुख्य अतिथि कसलाई लैजाने भन्ने टुंगो नलादा धेद्रे सुरुङ ब्रेक थ्रु आइतबार हुने सम्भावना रहेको सूचना अधिकारी केसीले बताएका थिए। ‘हिजो सार्वजनिक बिदा परेर प्रभावकारी छलफल गर्न पाएका थिएनौं र आइतबार ब्रेक थ्रु हुन्छ होला भनेका थियौं,’ क्यापिटल नेपालसँग उनले भने, ‘आज बिहान निष्कर्ष निकालेर सेनाको हेलिकोप्टरबाट मन्त्री र प्रधानसेनापतिज्यू सुरुङ स्थल पुग्नुभएको हो।’
सुरुङ ब्रेक थ्रु दिउँसो १ बजे भएको सेनाले जनाएको छ। १३ प्याकेजमा निर्माण भइरहेको फास्ट ट्रयाकमा ७ नम्बर प्याकेजसम्म निर्माणाधीन छ। प्याकेज ८ र ९ को ‘क’ र ‘ख’ ठेक्का व्यवस्थापन भइ डिजाइनको चरणमा रहेको सेनाले जनाएको छ। तर, ११ नम्बर प्याकेज पर्ने ललितपुर खोकना क्षेत्रमा जग्गा अधिग्रहण हुन सकेको छैन। आयोजना निर्माण सुरु गर्दादेखिको जग्गा विवाद हालसम्म समाधान हुन सकेको छैन।
११ नम्बर प्याकेजमा ६.५ किमि क्षेत्र पर्छ, जसमध्ये ३.११ किमि क्षेत्रमा जग्गा विवाद भएको सेनाले जनाएको छ। फास्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा ६ वटा सुरुङ निर्माण गर्ने उल्लेख छ। यसमध्ये ब्रेक थ्रु भएका दुवै सुरु २ नम्बर प्याकेजअन्तर्गत पर्छन्।
६ वटा सुरुङ मध्ये सबैभदा लामो (३.३५५ किमि) महादेवडाँडा सुरुङ पनि चालू आर्थिक वर्षमा ब्रेक थ्रुको तयारी रहेको सेनाको भनाइ छ। महादेवडाँडा सुरुङ २०८१ वैशाखसम्म २.१५८ किमि खनिएको सेनाका सूचना अधिकारी केसीले जानकारी दिए।
अन्य ३ वटा सुरुङमा १ किमि लामो देवीचौर, ०.३९ किमि लम्बाइको सिसौटार र २.२५० किमि लामो चन्द्रामभिर सुरुङको डिजाइन तयार भइरहेको सेनाले जनाएको छ। कुल ७०.९७७ किलोमिटर लामो फास्ट ट्रयाकमा ६ वटा सुरुङले मात्रै १०.०५५ किमि क्षेत्र ओगट्नेछन्।
२०७४ बाट निर्माण सुरु भएको फास्ट ट्रयाक निर्माणको म्याद २०८३ चैतसम्म छ। २ खर्ब ११ अर्ब ९३ करोड लागतको फास्ट ट्रयाकमा भौतिक र वित्तीय प्रगति २०८१ वैशाखसम्म करिब ३४ प्रतिशत भएको छ।
तस्बिर सौजन्यः नेपाली सेना