काठमाडौं। थाइल्यान्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा पुनः उडान सुरु गरेको आधिकारिक रुपमा जानकारी दिएको छ। थाई एयरवेजले सन् १९६८ मा बैंकक–कोलकाता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा सेवा सुरु गरेको थियो।
नेपाललाई विश्वसँग जोड्ने र विश्व बजारका यात्रीलाई पनि नेपाल ल्याउने थाई एयरवेजको यो आधा शताब्दी लामो यात्रा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो।
थाई एयरवेजले २९ अक्टोबर २०२३ मा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालका लागि जनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो। हाल थाई एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ।
नेपालमा पुनः उडान सुचारु भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाई एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको हो।
हाल थाई एयरवेजले ६० बढी गन्तव्यमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रिमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ।
थाई एयरवेजका डाइरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले भने, ‘काठमाडौं र बैंककबीचको उडान सेवा पुनः सुरु भएको घोषणासँगै यो सेवाले नेपाललाई थाइल्यान्डलगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नेछ।’
सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका कार्यकारी अध्यक्ष र आरआर ग्रुप अफ कम्पनीका ग्रुप चेयरम्यान रविचन्द्र सिंहले काठमाडौं र बैंककलाई उडानमार्फत जोड्दै पुनः सेवा सुरु भएको एवं यो सेवाले नेपाल र थाइल्यान्डबीच उडान गर्ने यात्रुलाई सहज यात्रा अनुभव उपलब्ध विश्वास व्यक्त गरे।
हाल थाई एयरवेजसँग ७३ विमान छन् जुन औसतमा दैनिक १२.८ घन्टा उडान भर्छन्।