काठमाडौं। राष्ट्रिय गौरवको आयोजना एवं नेपालकै पहिलो काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) मा सुरुङ ब्रेक थ्रु (छिचोलिने)लहर चलेको छ। फास्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा ६ वटा सुरुङ निर्माण गरिने उल्लेख छ।
यसमध्ये जेठ ४ मा १६३३ मिटर लामो लेनडाँडा सुरुङ ब्रेक थ्रु भइसकेको छ। आगामी साता १६३० मिटर लामो धेद्रे सुरुङ ब्रेक थ्रुको तयारी रहेको नेपाली सेनाले जनाएको छ। सेनाका सूचना अधिकारी गौरवकुमार केसीका अनुसार धेद्रेको सुरुङ लगभग खनिसकिएको छ।
‘धेद्रे सुरुङ खन्ने काम अन्तिम चरणमा छ। ब्रेक थ्रु गराउन कसलाई अतिथि लैजाने भन्ने विषयमा छलफल चलिरहेको छ,’ क्यापिटल नेपालसँग उनले भने, ‘लेनडाँडा ब्रेक थ्रु गर्दा कोही लगेका थिएनौं त्यसैले धेद्रेमा अतिथि लैजान खोजेका हौं। सेनाभित्रकै कोही वा अन्य व्यक्ति जान सक्नुहुन्छ। २÷३ दिनमा टुंगो लाग्नासाथ ब्रेक थ्रु गर्छौं।’
फास्ट ट्रयाकको प्याकेज नम्बर २ अन्तर्गत पर्ने धेद्रे र लेनडाँडा दुवै सुरुङ मार्ग निर्माण चिनियाँ पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनले गर्दै छ।
फास्ट ट्रयाकमा सुरुङसँगै निर्माण हुने ८९ मध्ये ५ वटा पुल निर्माण सम्पन्न भइसकेका छन्र। बाँकी पुल निर्माणका लागि खरिद सम्झौता भइसकेकाे छ। ८९ वटा पुलको कुल लम्बाइ १२.८५५ किमि हुनेछ।
महादेवडाँडा ब्रेक थु्र चालू वर्षभित्रै
फास्ट ट्रयाकको सबैभन्दा लामो महादेवडाँडा सुरुङ पनि चालू आर्थिक वर्षमै ब्रेक थ्रु गर्ने तयारी छ। महादेवडाँडा सुरुङको लम्बाइ ३.३५५ किमि छ। उक्त सुरुङ २०८१ वैशाखसम्म २.१५८ किमि खनिएको सेनाका सूचना अधिकारी केसीले बताए।
उनले भने, ‘महादेवडाँडा सुरुङ सकेसम्म चालू आवमा, नभए साउन पहिलो सातासम्म ब्रेक थ्रु गर्ने योजना बनाएर काम गरिरहेका छौं।’ अन्य ३ सुरुङमा १ किमि लामो देवीचौर, ०.३९ किमि लम्बाइको सिसौटार र २.२५० किमि लामो चन्द्रामभीर सुरुङको डिजाइन तयार भइरहेको सेनाले जनाएको छ।
कुल ७०.९७७ किलोमिटर लामो फास्ट ट्रयाकलाई ११ वटा प्याकेज बनाएर सेनाले काम गर्दै छ। यसमध्ये १०.०५५ किमि क्षेत्रमा ६ वटा सुरुङ बन्नेछन्।
फास्ट ट्रयाकमा सुरुङसँगै ८९ पुल निर्माण हुनेछन्। यसमध्ये ५ वटा पुल निर्माण सम्पन्न भइसकेको सेनाले बताएको छ। बाँकी पुल निर्माणका लागि खरिद सम्झौता भइसकेका छन्। ८९ वटा पुलको कुल लम्बाइ १२.८५५ किमि हुनेछ।
२०७४ वैशाख २१ को मन्त्रिपरिषद् बैठकले फास्ट ट्रयाक निर्माण जिम्मेवारी नेपाली सेनालाई सुम्पिइने निर्णय गरेको थियो। मन्त्रिपरिषद निर्णयसँगै २०७४ जेठ १४ मा प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका थिए।
यद्यपि, सेनाले २०७४ मंसिरबाट मात्रै काम सुरु गरेको थियो। आयोजनाको डीपीआर २०७५ चैत ५ मा अन्तर्राष्ट्रिय परामर्शदाता ‘सुसङ इन्जिनियरिङ एन्ड कन्सल्टिङ’ ले तयार गरेको हो। उक्त डिपिआर २०७६ भदौ १ को मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो।
तर, २०७६ को डीपीआर २०८० साउन ३० मा संशोधन गरिएको छ। संशोधित डीपीआरअनुसार आयोजनाको लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ।
२०८३ चैतसम्म निर्माण म्याद रहेको फास्ट ट्रयाकको भौतिक र वित्तीय प्रगति २०८१ वैशाखसम्म करिब ३४ प्रतिशत भएको सूचना अधिकारी केसीले बताए।
फास्ट ट्रयाकलाई ‘एसियन हाइवे डिजाइन स्ट्यान्डर्ड’ (प्राइमरी क्लास ए) का रुपमा निर्माण गरिँदै छ। ७०.९६६ किमि लामो फास्ट ट्रयाकमा तीन स्थान (खोकना, बुदुने र निजगढ) मा इन्टरचेन्ज अर्थात् गन्तव्य परिवर्तन गर्न सकिन्छ। सामान्य सडकमा जस्तो फास्ट ट्रयाकमा तोकिएको स्थानबाहेक ठाउँमा गन्तव्य परिवर्तन गर्न मिल्दैन।
१३ प्याकेजमा निर्माण भइरहेको फास्ट ट्रयाकमा ७ नम्बर प्याकेजसम्म निर्माणाधीन छ। प्याकेज ८ र ९ को ‘क’ र ‘ख’ ठेक्का व्यवस्थापन भई डिजाइनको चरणमा रहेको सेनाले जनाएको छ। तर, ११ नम्बर प्याकेज पर्ने ललितपुर खोकना क्षेत्रमा जग्गा अधिग्रहण हुन सकेको छैन।
आयोजना निर्माण सुरु गर्दादेखिको जग्गा विवाद हालसम्म समाधान हुन सकेको छैन। ११ नम्बर प्याकेजमा ६.५ किमि क्षेत्र पर्छ, जसमध्ये ३.११ किमि क्षेत्रमा जग्गा विवाद रहेको सेनाले जनाएको छ।