काठमाडौं। सञ्चार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण भएको जनाएका छन्।
कानुनविपरीत काम गरेको प्रमाणित भए जोकोही कारबाही भागिदार हुनुपर्छ मान्यतामा अडिग रहेको बताउँदै उद्योगी, व्यवसायीका तीन संघ–संगठनले कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ गरिहाल्ने र थुन्नेजस्ता कार्य गलत रहेको संयुक्त विज्ञप्ति निकालेर जानकारी दिएका हुन्।
यसले उद्यमी, व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्नेतर्फ उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
‘विगतदेखि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाइको मौका दिनुपर्ने भन्दै आइरहेका छौं। उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जोकोहीलाई थुनिहाल्ने नभएर राज्यले तिनका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो। थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परे अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न आग्रह गर्दछौं’, संयुक्त विज्ञप्तिमा भनिएको छ।
मुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि उठिनसकेको अवस्थामा अर्थतन्त्र सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकूल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्तालाई आग्रह गरिएको स्मरण उनीहरुले गराएका छन्।
‘यस अवस्थामा कहीँकतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिनुहुँदैन भन्ने हाम्रो सुझाव रहन्छ। कुनै पनि व्यवसायीको मानमर्दन गरेर तथा तिनलाई हतोत्साही गरेर लगानी वातावरण बन्न सक्दैन। अहिले देशभित्रका सानादेखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसला आवश्यकता छ’, विज्ञप्तिमा उल्लेख छ।
उद्योगी, व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व दिनुपर्ने र देशभित्र व्यावसायिक वातावरण खल्बलाउने काम कहीँ–कतैबाट नहोस् भन्नेतर्फ उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।