काठमाडौं । स्वास्थ्य क्षेत्रमै पहिलो पटक सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्न लागेको हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले ५० करोड लगानी थप गर्ने भएको छ।
काठमाडौंको धुम्बाराहीमा सञ्चालनमा रहेको ह्याम्सले एक वर्षभित्र ५० करोड लगानी थप गरी ५० बेड बढाउने योजना अगाडी सारेको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले जानकारी दिए। २ अर्व लगानीमा निर्माण तथा सञ्चालन भइरहेको अस्पतालले आईपीओ जारी गर्नका लागि नेपाल धितो पत्र बोर्डमा अनुमतिका लागि पत्रसमेत पठाइसकेको छ।
१८ रोपनी क्षेत्रफलमा फैलिएको अस्पतालमा हाल १०० बेड सञ्चालनमा रहेको छ। सन १९९७ मा स्थापित अस्पतालले विगत ६ वर्षदेखि धुम्वाराहीबाट सेवा प्रदान गर्दै आएको छ। विश्वमा उपलब्ध रहेका उच्चतम प्रविधिको प्रयोग गरी देश तथा विदेशमा अब्बल मानिएका दक्ष तथा अनुभवी नेपाली चिकित्सक र स्वास्थ्यकर्मीबाट विश्वस्तरीय सेवा प्रदान गरिरहेको अस्पतालको भनाइ छ।
६ वर्षअघि रामशरण भण्डारीको समूहले स्वामित्व लिएर सञ्चालन गरिरहेको अस्पतालमा हेलिप्याडसहितको सुविधा रहेको छ। ९ तले भवनमा अत्याधुनिक उपकरण रहेको अस्पतालले अबको एक वर्षभित्रमा ५० बेड थप्ने गरी आवश्यक तयारी पुरा गरिसकेको अध्यक्ष भण्डारीले बताए। वर्षात सकिए लगत्तै भवन निर्माणको काम अगाडी बढाउने र २०८१ भित्रै सम्पन्न गर्ने योजना रहेको उनको भनाइ छ।
नयाँ भवन निर्माण भएपछि बिएसी र ब्याचलर नर्सिङ कोर्षसमेत सञ्चालन गरिने उनले बताए। हाल अस्पतालले उपचारसँगै पिसिएल नर्सिङ अध्ययन गराउँदै आएको छ। तीन वर्षदेखि अध्ययन सुरु गरेको ह्याम्समा हाल १२० जना विद्यार्थी अध्ययन गरिरहेका छन्। अब त्यसलाई बढाएर बिएसी नर्सिङ र नर्सिङ शिक्षामा स्नातक (ब्याचलर) कोर्षको अध्ययन गराउने प्रक्रियासमेत अगाडी बढाएको उनले बताए।
बिएसी र ब्याचलर कोर्षसहित ल्याव र फार्मेशी अध्ययनका लागि आवश्यक अनुमति माग गरिएको उनले जनाए। नर्सिङ अध्ययनको अनुमति प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले दिने गरेको छ। अध्ययनको अनुमति पाउने वित्तिकै कक्षा सञ्चालनका लागि आफूहरू पूर्णरूपमा तयार रहेको उनले जानकारी दिए। अध्ययन गरेका अधिकाशं विद्यार्थीलाई आफ्नै अस्पतालमा रोजगारीसमेत पाउने उनको भनाइ छ।
८०० कर्मचारी आवद्ध
अत्याधुनिक उपकरणसहित रहेको अस्पतालमा प्रत्यक्षरूपमा ८०० जनाले रोजगारी पाएका छन्। विषेज्ञ डाक्टरसहित अस्पतालमा पूर्णकालिन काम गर्ने कर्मचारी नै ८०० जना रहेको अध्यक्ष भण्डारीको भनाइ छ। ५० बेड थप्दा अझ यो संख्या बढ्ने उनले बताए। बिरामीको सेवामा कुनै कसर बाँकी नराख्ने उद्देश्यका साथ कर्मचारीको व्यवस्थापन गरिएको उनको भनाइ छ।
११ लाख २५ हजार कित्ता शेयर जारी गर्ने
अस्पतालले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता शेयर जारी गर्ने भएको छ। प्रति कित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणमा शेयर जारी हुनेछ।
अस्पतालले शेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ। यसैमध्येबाट बढीमा ५ प्रतिशत शेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ। बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ।
साधारण सभाले आफ्ना सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। त्यसपश्चात कम्पनीको कूल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ हुनेछ।