काठमाडौं। मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीप) को एक तिहाइ बढी हिस्सा बागमती प्रदेशले ओगटेको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष २०८०÷८१ अर्थतन्त्रको अवस्था सार्वजनिक गर्दै कुल जीडीपीको ३६.४ प्रतिशत हिस्सा बागमती प्रदेशले ओगटेको तथ्यांक सार्वजनिक गरेको हो।
कार्यालयले चालू वर्ष उपभोक्ता मूल्यमा मुलुकको कुल जीडीपी ५७ खर्ब ५ अर्ब रहेको केही समयअघि सार्वजनिक गरेको थियो। त्यसकै आधारमा बुधबार प्रादेशिक अर्थतन्त्रको अवस्था चित्र गरेको हो।
कार्यालयका अनुसार बागमतीपछि अर्थतन्त्रको ठूलो हिस्सा कोसी प्रदेशको छ। कोसीले अर्थतन्त्रमा १५.८ प्रतिशत लिँदा लुम्बिनीले १४.३, मधेसले १३.१, गण्डकीले ९.१, सुदूरपश्चिमले ७.१ प्रतिशत हिस्सा ओगटेका छन्।
अर्थतन्त्रको सबैभन्दा कम हिस्सा भने कर्णाली प्रदेशको ४.३ प्रतिशत छ। कार्यालयका अनुसार जीडीपीमा कोसी, मधेस, कर्णाली र सुदूरपश्चिमको हिस्सेदारी घटेको छ।
आर्थिक वृद्धिदरतर्फ भने गण्डकी प्रदेश अगाडि देखिएको छ। नेपालको कुल आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुँदा गण्डकीको ४.५५ प्रतिशत छ। त्यसैगरी लुम्बिनी प्रदेशको वृद्धिदर ४.०५, बागमती ३.९६, मधेस ३.७८, कोसी ३.५१, सुदूरपश्चिमको ३.४१ र सबैभन्दा कम कर्णालीको ३.३९ प्रतिशत छ।
त्यस्तै, प्रतिव्यक्ति आयका हिसाबले हेर्दा मधेस प्रदेश सबैभन्दा कमजोर देखिएको छ। मधेसको प्रतिव्यक्ति आय ८९२ अमेरिकी डलर हुँदा सबैभन्दा बढी बागमतीको २ हजार ४८४ डलर छ।
चालू वर्ष नेपालको प्रतिव्यक्ति आय १ हजार ४३४ डलर हुँदा बागमती र गण्डकी प्रदेशको भने औषतभन्दा माथि छ। गण्डकी प्रदेशको १ हजार ५५७ अमेरिकी डलर प्रतिव्यक्ति आय छ।
उता, कोसी प्रदेशको १ हजार ३३६, लुम्बिनीको १ हजार १५९, सुदूरपश्चिमको १ हजार १११ र कर्णाली प्रदेशको १ हजार ६६ डलर छ। यद्यपि सबै प्रदेशको प्रतिव्यक्ति आम्दानी भने गत वर्षभन्दा बढेको छ।
यस्तो छ प्रादेशिक अर्थतन्त्रको अवस्था