काठमाडौं । सेयर बजारको उकालो यात्राले बुधबार पनि निरन्तरता पाएको छ। बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५४ अंकले बढेर २१३१.४९ को बिन्दुमा बन्द भएको हो।
गएको शुक्रबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (२०८०/८१) को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेबाट सेयर बजार लगातार दोहोरो अंकले बढिरहेको छ।
अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से २३.९४ अंकले बढेर २११५.९४ को बिन्दुमा बन्द भएको थियो। यस्तै, नेप्सेमा सोमबार २७.५४ अंक र आइतबार ४५.६९ अंकको सुधार आएको थियो।
बुधबार सेयर बजारमा कुल ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार भने कुल ५ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये ८१ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आज सामुदायीक लघुवित्त वित्तीय संस्था र बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, एनएमबी बैंकको सेयर मूल्य ८.४७ प्रतिशतले बढेको छ।
बुधबार मानुसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। यस कम्पनीको सेयर मूल्य ८.०५ प्रतिशतले घटेको छ।
बुधबार बैंकिङ समुहको सेयर मूल्य ४.२३ प्रतिशतले बढ्दा होटल्स एन्ड पर्यटन समूहको सेयर मूल्य १.९० प्रतिशतले बढेको छ। यस्तै, फाइनान्स समुहमा सर्वाधिक अर्थात् १.३४ प्रतिशतको गिरावट आएको छ।