काठमाडौं। एक वर्षमै बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक) को ऋणीसँग उठाउनुपर्ने ऋणको ब्याज ३४ प्रतिशत बढीले थप भएको छ।
ऋणीले बैंकबाट कर्जा लिएर समयमै भुक्तानी नगर्दा बैंकहरूको उठाउनुपर्ने ब्याज बक्यौता चालू वर्षको चैत मसान्तसम्म १ खर्ब ३३ अर्ब ६० करोड रुपैयाँ पुगेको हो। गत वर्षको सोही अवधिमा बैंकहरूले ऋणीसँग उठाउनुपर्ने ९९ अर्ब ६९ करोड रुपैयाँ ब्याज बक्यौता थियो।
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गरिसकेपछि ऋण सम्झौताअनुसार भविष्यमा प्राप्त हुने ब्याजलाई सञ्चित ब्याजमा राखेर आम्दानीमा देखाउनुपर्छ। ऋणीले मासिक तथा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्दै गएपछि यस्तो सञ्चित आम्दानीको परिमाण घट्दै जान्छ भने बैंकहरूको ब्याज आम्दानी बढ्दै जान्छ।
तर, ऋणीले बैंकलाई समयमै ऋणको ब्याज भुक्तानी नगर्दा यस्तो सञ्चित ब्याज एक वर्षमै ३३ अर्ब ९० करोड रुपैयाँले थप भएको छ। एक वर्षको अवधिमा यस्तो सञ्चित ब्याज वाणिज्य बैंकहरूमा ३७.७८ प्रतिशत अर्थात् ३१ अर्ब २४ करोड रुपैयाँ, विकास बैंकहरूमा २०.११ प्रतिशत अर्थात् १ अर्ब ३४ करोड र वित्त कम्पनीमा १२.७५ प्रतिशत अर्थात् १ अर्ब ३१ करोडले थप भएको हो।
गत वर्षदेखि नै अर्थतन्त्रमा आएको आर्थिक गतिविधिको सुस्त प्रभाव बैंकिङ क्षेत्रका ऋणीमा पर्दा बैंकहरूको सञ्चित ब्याज परिमाण बढ्न पुगेको देखिन्छ। समग्र अर्थतन्त्र नै सुस्त रहेको अवस्थामा बैंकहरूको कर्जा असुली प्रभावित भएको छ।
गत वर्ष चैत मसान्तसम्म वाणिज्य बैंकहरूको सञ्चित ब्याज ८२ अर्ब ६९ करोड रहेकामा चालू वर्षको सोही अवधिमा १ खर्ब १३ अर्ब ९४ करोड पुगेको छ। विकास बैंकहरूको ६ अर्ब ६७ करोड रहेको कुल सञ्चित ब्याज चालू वर्षको सोही अवधिमा ८ अर्ब १ करोड र वित्त कम्पनीको १० अर्ब ३२ करोड रुपैयाँबाट ११ अर्ब ६४ करोड ब्याज उठाउन बाँकी रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको हो।
गत वर्षदेखि नै अर्थतन्त्रमा आएको आर्थिक गतिविधिको सुस्त प्रभाव बैंकिङ क्षेत्रका ऋणीमा पर्दा बैंकहरूको सञ्चित ब्याज परिमाण बढ्न पुगेको देखिन्छ। समग्र अर्थतन्त्र नै सुस्त रहेको अवस्थामा बैंकहरूको कर्जा असुली प्रभावित भएको छ। ऋणीले कर्जा ब्याज भुक्तानी नगरेपछि उठाउनुपर्ने ब्याज सञ्चितमा बसेको हो।
बैंकहरूको बक्यौता ब्याज अवस्था
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एकवर्षे अवधिमा १५ वटा बैंकको सञ्चित ब्याज १६ करोड रुपैयाँदेखि ६ अर्ब ५५ करोडसम्मले बढेको छ भने ३ वटा बैंकको सञ्चित ब्याज ७ करोडदेखि ८ अर्ब ८८ करोडसम्मले घटेको छ। सञ्चित ब्याज घटाउनेमा राष्ट्रिय वाणिज्य, एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंक हुन्।
उक्त अवधिमा सबैभन्दा बढी सञ्चित ब्याज लक्ष्मी सनराइज बैंकको र सबैभन्दा कम सिद्धार्थ बैंकको थप भएको हो। राष्ट्र बैंकद्वारा पप्त तथ्यांकमा कुमारी बैंकको गत वर्षको र नेपाल बैंकको गत वर्ष र चालू वर्षकै सञ्चित ब्याजको तथयांक समावेश गरिएको छैन।