नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समसामयिक राजनीति तथा कूटनीतिक विषयमा खरो टिप्पणी गर्ने नेतामा पर्छन्। उनले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पनि नेपालको समसामयिक राजनीति, छिमेकलगायतका विषयमा खरो टिप्पणी गरेका छन्। प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः
तपाईंलाई अहिले प्रतिपक्ष भन्ने कि सत्तापक्ष भन्नेमा अलमल छ, तर सत्ताभन्दा बाहिर हुनुहुन्छ। सत्ताबाट बाहिर बसेर हेर्दा देशको परराष्ट्र सम्बन्ध र नीति कसरी सञ्चालन भएको पाउनुहुन्छ?
२०७२ सालमा दोस्रो संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेपछि नेपाल नयाँ ऐतिहासिक चरणमा प्रवेश गर्यो। अबको राजनीतिक एजेन्डा व्यवस्था परिवर्तनभन्दा आर्थिक सामाजिक परिवर्तनमा सिफ्ट भयो। त्यसअनुकूल हुने गरी वैकल्पिक शक्ति चाहिन्छ भनेर हिँडेकाले सरकारकोमा मात्र होइन, परम्परावादी राजनीतिको समेत विपक्षमा रहेर वैकल्पिक राजनीतिको वकालत गर्ने मान्छे हुँ। पहिलो कुरा प्रस्ट पार्न चाहेँ।
परराष्ट्र नीतिको कुरा गर्दा जति बेलादेखि राष्ट्रिय राज्यहरू बने, त्यति बेलादेखि नै राज्यबीचका सम्बन्धहरूले कुनै पनि देशको आन्तरिक नीतिमा असर गर्छ र परराष्ट्र नीति आन्तरिक नीतिको विस्तारित रूपमा हुन्छ भनिन्छ। त्यसरी हेर्दा नेपाल ठूला देशहरू चीन र भारतका बीच ऐतिहासिक ढंगले अवस्थित छ।
दोस्रो कुरा, पछिल्लो चरणमा विश्व राजनीति र अर्थतन्त्रको केन्द्र एसियामा सिफ्ट हुँदै छ। चीन दोस्रोबाट पहिलो र भारत पाँचौँबाट चौथो अर्थतन्त्र बन्नेतर्फ उन्मुख छ। पहिलो विश्वशक्ति अमेरिका पनि विश्वव्यापी प्रभाव राख्दछ। यसरी मुख्यतः तीन प्रमुख शक्तिबीचको सन्तुलन मिलाएर अगाडि बढ्ने चुनौती र सम्भावना दुईवटै नेपाललाई छ। त्यसैले राम्रोसँग मिलाउँदा नेपाललाई ऐतिहासिक फड्कोको अवसर हुन्छ। मिलाउन नसक्दा गम्भीर चुनौती पनि बन्छ। त्यसको दोसाँधमा छौँ हामी।
तपाईं आफैँ पनि प्रधानमन्त्री भइसक्नुभएको व्यक्ति, हाम्रो अभ्यास कुन बाटोमा गइरहेको छजस्तो लाग्छ?
आन्तरिक राजनीतिक परिवर्तनसँगै देशको अर्थतन्त्र, सामरिक सुरक्षा शक्तिसँगसँगै भूमिका फरक हुने गर्छ। त्यसैले परम्परागत ढंगले हेर्दा त नेपाललाई दुई ढुंगाबीचको तरुल भनेर पृथ्वीनारायण शाहले परिभाषित गरेका थिए। त्यसैले लामो समय हामी अन्तरमुखी ढंगले बस्यौँ। २१औँ शताब्दीमा आइपुग्दा भारत र चीन ठूलो शक्तिको उदय भइसकेको सन्दर्भमा दुई ढुंगाबीचको तरुल होइन। दुई विशाल समुद्रबीचको गतिशील पुल बन्नुपर्छ भन्ने बिम्ब म प्रधानमन्त्री भएको बेलादेखि नै अघि सार्दै आएको हुँ। पछिल्लो घटनाक्रमले के देखाउँछ भने नेपाल ठूला शक्तिबीचको गतिशील पुल र शान्तिको केन्द्र पनि बन्न सक्छ भन्ने मलाई लाग्छ। त्यो अवसर हामीलाई छ।
तपाईंका कुनै समयका सहयात्री पुष्पकमल दाहाल अहिले तेस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ, परराष्ट्र नीति सञ्चालनचाहिँ कसरी भइरहेको पाउनुभएको छ?
मैले यहीँनेर भन्न खोज्दै थिएँ। जुन सम्भावना छ, आवश्यकता छ, त्यता ध्यान दिने हाम्रो नेतृत्वको क्षमता र सोच पुगेको छैन। जो व्यक्ति (पुष्पकमल दाहाल)को नाम लिनुभएको छ, उहाँमा अति कुर्सीमोह, दलगत र गुटगत संकीर्ण चिन्तन देखापरेको छ। त्यसैले अहिलेका प्रमुख दलका प्रमुख नेताका अल्पदृष्टिले देशले त्यस्तो अवसरबाट फाइदा लिन्छजस्तो लाग्दैन।
प्रधानमन्त्री पुष्पकमल दाहालले छिमेकहरूको भ्रमण गर्दा हरेकपटक भारत तथा चीन दुवैसँगको सम्बन्ध नयाँ आयामबाट अघि बढ्यो भन्नुहुन्छ। के उहाँले भनेजस्तै हाम्रा दुई छिमेकीसँगको सम्बन्ध नयाँ आयामबाट उपलब्धिमूलक अवस्थामा छन्?
उहाँहरूको त्यो सोच नै छैन। नेताहरूमा 'स्टेट्सम्यानसिप' भन्ने हुन्छ, कुर्सीभन्दा माथि उठेर देशलाई केन्द्रमा राखेर सोच्ने जुन प्रवृत्ति हुन्छ, जसलाई राजनेता प्रवृत्ति भनिन्छ, त्यो हाम्रा नेतामा देखिन्न।
उहाँले घुमफिर गर्नु, छुट्टी मनाउनु त एउटा कुरा हो, तर देशको श्रीवृद्धि गर्न भविष्यको सम्भावना अगाडि बढाउन उहाँका पछिल्ला क्रियाकलापले मद्दत पुगेजस्तो लाग्दैन।
तपाईंले नै भारतसँग बिप्पा पनि गर्नुभयो, तर त्यसको विरोध तपाईंकै पार्टीबाट भएको थियो, अझै पनि कार्यान्वयनको अवस्थामा छैन। ईपीजी गठन यहाँकै पालामा भयो। तर, त्यसले तयार पारेको प्रतिवेदन भारतले बुझ्नै नमानेको अवस्था छ, अनि भारतसँगको द्विपक्षीय वार्ताहरूमा ती विषय नै नउठाउने अघोषित समझदारीजस्तै नेपालको राजनीतिक नेतृत्वमा बनिसकेको अवस्था छ, कहाँ चुक भयो त ?
उहाँहरूको दूरदृष्टि र भिजन नै नभएर हो। मैले जुन दूरदृष्टिले त्यो बनाएको थिएँ, उहाँहरूले बुझ्ने कोसिस नै गर्नु भएन। राजनीतिक अस्थिरताका कारण पनि संस्थागत स्थिरता हाम्रोमा छैन। हाम्रो कर्मचारीतन्त्र परराष्ट्र मन्त्रालयलगायतका संस्थाहरूको पनि बलियो संस्थागत आधार बनिसकेको छैन। यो कारणले गर्दा केही कमी कमजोरी आउँछन्। तर, मैले सारेको अवधारणा ठीक छ। त्यसले मात्र देशको हित गर्छ। देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्दै आगामी दिनमा विश्वमञ्चमा नेपालले भूमिका खेल्न सक्छ भन्ने मलाई लाग्छ।
वैचारिक निकटताका आधारमा कहिले भारत, कहिले चीनसँग निकट हुने कारणले पनि छिमेकीहरू कहिले चीन कहिले भारत सशंकित हुने अवस्था आएको हो कि?
पहिलो कुरा, परराष्ट्र नीतिमा पार्टीको विचारलाई अघि सार्नु हुँदैन। देशको साझा हित र स्वार्थ हुन्छ। त्यो पार्टीको हित र विचारधाराभन्दा माथि हुन्छ। त्यस अर्थमा देशमा कांग्रेस जो उदारवादी पुँजीवादी विचार राख्ने पार्टी आउँदा भारतसँग नजिक हुने र कम्युनिस्ट आउँदा चीनसँग नजिक हुने अवस्था आउनु गलत हो। हाम्रो विचार एउटा हुन सक्छ। तर, देशको स्वाधीनतताको रक्षा, आर्थिक सामरिक सुरक्षाको कुरा र समग्र हितको कुरालाई केन्द्रमा राखेर विचारधाराभन्दा माथि उठ्नुपर्छ। त्यो हुन नसक्नाले नै कहिले कता कहिले कता ढल्कने गरेको देखिएको हो। त्यसैले जो सत्तामा आए पनि साझा परराष्ट्र नीति बनाउनुपर्छ।
एमसीसी परियोजनाको समयमा नेपालको आन्तरिक मामिलामा चासो नराख्ने चीनले आक्रामक भूमिका देखायो र अमेरिकासँग तिखो वाकयुद्ध देखियो, त्यसबाट हामीले के पाठ लिने ?
ठूला शक्ति राष्ट्रले साना देशप्रति आफ्नो प्रभाव राख्ने प्रयत्न सबैले गर्छन्। हामीले त हाम्रो राष्ट्रहितमा कसरी व्यवस्थापन गर्ने भन्ने कुरा हो। अमेरिकासँग हामीले छुट्टै सम्बन्ध राख्ने हो। हाम्रो राष्ट्रिय हितमा एमसीसी सम्झौता गरेको हो। चीनसँग बीआरआई पनि हाम्रो हित हामीले गर्ने हो। भारतसँग पनि जलस्रोतलगायतका सम्झौता हाम्रो हितमा गर्ने हो। अरुले के भन्छन् भन्ने प्रमुख होइन, उनीहरूले भन्न सक्छन्। तर, हामीले हाम्रै हितमा निर्णय गर्ने हो।
बीआरआईकै हकमा हस्ताक्षर धेरै अगाडि गर्यौँ, योजना छनोटको अवस्थामा पनि पुग्न सकेका छैनौँ नि त?
यसमा हाम्रो परराष्ट्र नीतिको प्रस्टता नुहुनुको कारणले यो आएको हो। पहिलो त हाम्रोजस्ता देश कुनै पनि सैनिक गठबन्धनमा हामीजस्तो देश सहभागी भएका छैन र हुनु पनि हुँदैन। दोस्रो, आर्थिक लगानी परियोजना निर्माणजस्ता कुरा राष्ट्रिय हितलाई केन्द्रमा राखेर अलगअलग ढंगले सम्झौता गर्नुपर्छ। एमसीसी पनि सडक पूर्वाधार बनाउन हामीले राष्ट्रिय हितमा प्रयोग गरेका हौँ, भलै त्यसलाई के के हुन सक्छ भन्ने आशंका अर्को पाटो हो।
बीआरआईअन्तर्गत सहयोग लिएर पनि पूर्वाधार विकास गर्नुपर्छ। भारतसँग पनि जलस्रोतलगायत सहमतिअनुसार जानुपर्छ। एमसीसी, बीआरआई र भारतसँगका जलस्रोतलगायतका सम्झौता एकले अर्काविरुद्ध प्रयोग गर्ने विषय सही होइन। यी छुट्टै र स्वतन्त्र विषय हुन्। र, हामीले स्वतन्त्र ढंगले निर्णय गर्नुपर्छ।