काठमाडौं। प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता विवादमा पक्राउ गरेपछि आलोचनामा पर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको बचाउ गरेको छ।
उपप्रधान तथा गृहमन्त्री एवं पार्टी सभापतिसमेत रहेका रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएका समाचार प्रकाशित हुँदै आए पनि रास्वपाले त्यसबारे प्रतिक्रिया नदिई सिरोहिया पक्राउलाई जतिसुकै शक्तिशाली भए पनि कानुन पालना सबैले गर्नुपर्छ भन्ने मान्यताको जित भएको बताएको हो।
रास्वपाले सिरोहियाको नाम नलिए पनि शक्तिशालीले गरेको बदमासीलाई कानुनी कारबाही गरिनु लोकतन्त्रको जित भएको विज्ञप्ति निकालेको हो।
धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले मंगलबार व्यवसायी सिरोहियालाई पक्राउ गरिएको तथ्य जानकारीमा आएको रास्वपा महामन्त्री डा. मुकुल ढकालले विज्ञप्तिमार्फत बताएका छन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टी उदीयमान बहुलवादी लोकतान्त्रिक शक्ति हो। नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति यो दल कटिबद्ध छ। नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हकाधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासनअनुरूप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौं,’ रास्वपाले विज्ञप्तिमार्फत भनेको छ।
विधिको शासनको सौन्दर्य कानुनभन्दा माथि कोही हुँदैन भन्ने भएको उसले उल्लेख गरेको छ। ‘विधिको शासनको अर्को सौन्दर्य हो– कानुनभन्दा माथि कोही हुँदैन। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नैपर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जित हो। कोहीकोहीलाई छुनै हुन्न भन्नु सामन्ती कायरता हो। यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ,’ विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाप्रति पार्टीको उच्च सम्मान रहेको बताएको छ। तर, एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैरकानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइए पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा अस्वीकार्य रहेको बताएको छ।
‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन्। अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन। यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ,’ रास्वपाले भनेको छ, ‘न्यायको विधि पुगोस्। सञ्चार माध्यम लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्नुपर्छ भन्ने सन्देश जनतामा जाओस्। अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जित होस्।’