काठमाडौं। सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नताका समाचार प्रमाणसहित प्रकाशित भइरहेका बेला कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको पक्राउ गरेको छ।
थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउमा सिरोहियाले सहकारी ठगी प्रकरणलाई ढाकछोप गर्न आफूलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रत्यक्ष निर्देशनमा पक्राउ गरिएको दाबी गरे।
सिरोहियालाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मी कान्तिपुर कार्यालय पुगेका थिए।
आज मात्रै नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएको थियो।
सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय धनुषामा २०८१ वैशाख १६ मा किटानी जाहेरी दिएका थिए।प्रहरीले आजै उनलाई जनकपुर लैजाने तयारी गरिरहेको छ।
प्क्राउपछि सिरोहियाले सहकारीको बचत रकम हिनामिनाका विषयमा ननस्टप समाचार ब्रेकिङ गरेकै कारण गृहमन्त्री लामिछानेले प्रतिशोधपूर्ण व्यवहार गरेको प्रतिक्रिया दिए। सिरोहियाले गृहमन्त्रीविरुद्ध दुई वटा राहदानीका मुद्दा रहेकाले लामिछाने कुनै दिन पक्राउ पर्ने आशा व्य्रक्त गरे।
सहकारी ठगीसम्बन्धी समाचार रोक्न, ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूविरुद्ध उजुरी गर्न लगाएर सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गरिएको उनले आरोप लगाए।
सहकारी ठगीलगायत विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इञ्च पछि नहट्ने पनि उनले उल्लेख गरे। ‘निरंकुंश शाही शासनमा र लोकमानसिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो। तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ। म अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु। तर, कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन,’ उनले भनेका छन्।