काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् सदस्य (मन्त्रीहरु)को सम्पत्ति सार्वजनिक भएको छ। जेठ ३ को मन्त्रिपरिषद् बैठकले वर्तमान मन्त्रिमण्डलका सदस्यहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।
सामान्यतया मन्त्री नियुक्त भएको महिना दिनभित्रमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहे पनि प्रधानमन्त्री दाहालले १७ महिनापछि र फागुन २३ मा नियुक्त मन्त्रीहरुले भने साढे दुई महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
वैशाख ३१ मा नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री र राज्यमन्त्रीले भने सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्।
प्रधानमन्त्री दाहालको नाममा २५ लाख नगद र १५ कठ्ठा जग्गा
सार्वजनिक विवरणअनुसार प्रधानमन्त्री दाहालको नाममा एभरेष्ट बैंकमा २५ लाख नगद मौज्दात छ। सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको उल्लेख छ। स्व. धर्मपत्नी सीता दाहालको नाममा भरतपुर महानगर–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ। यो घर र जग्गा पैतृक सम्पत्ति भएको उनले उल्लेख गरेका छन्।
भरतपुर महानगरमा स्व.सीताको नाममा १ कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ। यसका अलावा, प्रधानमन्त्री दाहालसँग ५ तोला सुन छ, जुन पनि पैतृक भएको उल्लेख छ। विवरणमा प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारीसाधन नभएको उल्लेख छ।
सबैभन्दा धनी मन्त्री रघुवीर, अधिकांश सम्पत्ति श्रीमती जुलीको नाममा
उपप्रधानमन्त्रीसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा छ। २ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी पनि रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ।
महासेठले सार्वजनिक गरेको सम्पत्तिमध्ये अधिकांश श्रीमती जुलीकुमारी महतोको नाममा छ। महतोको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा छ। यस्तै, पत्नी महतोको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर पनि छ।
नारायणकाजीसँग १ लाख मात्रै नगद!
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा र गोरखाको सिरानचोक गाउँपालिका–८ मा ३ कित्ता जग्गा छ। विवरणअनुसार एउटा कित्ता ३१ रोपनी १५ आना छ भने अर्को कित्ता १ रोपनी १० आना तथा अर्को ५ रोपनी ७ आना छ। यो उनको पैत्रिक सम्पत्ति हो। श्रेष्ठसँग बा१०च ५७९८ नम्बरको महिन्द्रा गाडी छ जुन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको हुन्।
गृहमन्त्री रविको सम्पत्ति जग्गाबाहेक पत्नी निकिताको नाममा
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा नेपाल बैंकमा १ लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ छ। उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा छ। पैतृक सम्पत्तिबाट प्राप्त यो जग्गाबाहेक अरु सबै पत्नी निकिता पौडेलको नाममा छ। निकिताको नाममा बूढानीलकण्ठ–८ मा ५ आना जग्गामा बनेको घर छ। विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको भनिएको छ। घर किन्दा बैंकबाट लिएको २ करोड ५० लाख रुपैयाँमध्ये अब १ करोड ५० करोड तिर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।
लामिछानेकी पत्नी निकितासँग ८० तोला सुन रहेको छ जुन अधिकांश बुबाआमाले दिएको र केही खरिद गरेको उल्लेख छ। त्यस्तै, १५÷२० केजी चाँदी रहेको भनिएको छ। त्यो २५० देखि ३०० प्रतितोला भएका बेला खरिद गरेको भनिएको छ। निकितासँग गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत सेयर रहेको छ। निकिताको नाममा टाटा नेक्सनको विद्युतीय कार, निकिता नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनी सञ्चालक रहेको उल्लेख पनि उल्लेख छ। नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
साढे ३३ लाखका धनी अर्थमन्त्री
अर्थमन्त्री वर्षमान पुनसँग ३३ लाख ७० हजार ६१८ रुपैयाँ छ। एनएमबी बैंक खातामा पुनको ३३ लाख ७० हजार ६१८ रुपैयाँ मौज्दात रहेको छ। उक्त रकम प्राप्तिको स्रोत तलबभत्ता रहेको उल्लेख छ। त्यस्तै मन्त्री पुनको रोल्पा नगरपालिका ७ मा ८२० वर्ग मिटरमा फेलिएको घर रहेको र उक्त घर पैतृक रुपमा प्राप्त गरेको उल्लेख छ। मन्त्री पुनसँग बा ००१ अ ०००९ नम्बरको सवारीसाधन रहेको छ, यो पार्टीको सम्पत्ति भएको उल्लेख गरिएको छ।
सिँचाइ मन्त्रीसँग ३५ लाख, सवारीसाधन पार्टीको
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतसँग ३५ लाख रुपैयाँ रहेको जानकारी दिएका छन्। बस्नेतको राष्ट्रिय वाणिज्य बैंकको खातामा १० लाख रुपैयाँ मौज्दात छ। मन्त्री बस्नेतकी श्रीमती सत्य पहाडीको नाममा ६ लाख रुपैयाँ बराबरको सेयर छ भने ५ तोला सुन छ। यसबाहेक पार्टीले दिएको एउटा सवारी रहेको र सो सवारी पार्टीको नाममा रहेको उल्लेख छ।
संघीय मामिला मन्त्री जोशीसँग ३१ तोला सुन र ६० तोला चाँदी
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीसँग डेढ लाख रुपैयाँ नगद रहेको छ। मन्त्री जोशीको सार्वजनिक सम्पत्ति विवरण अनुसार विभिन्न बैंक खातामा १ लाख ६९ हजार रुपैयाँ नगद रहेको छ भने काठमाडौंको कीर्तिपुर, बझाङको छविसपाथिभेरा ४ र जयपृथ्वी नगरपालिका ७ मा गरी ३ वटा घर रहेको छ। यस्तै, जयराज जोशीको नाममा बझाङका विभिन्न ठाउँमा जग्गा र काठमाडौंमा निर्मला कुमारी कोइरालाको नाममा जग्गा छ।
मन्त्री जोशीसँग ३१ तोला सुन र ६० तोला चाँदी छ। उक्त सुनचाँदी पैतृक सम्पत्ति र विवाहबाट दाइजो प्राप्त भएको उल्लेख छ। जयलक्ष्मी देवी जोशीको नाममा रंगुन खोलाको ८ लाखको सेयर रहेको छ भने ४३ लाख रुपैयाँ ऋण छ। उक्त ऋणवापत ३ लाख १० हजार रुपैयाँ ब्याज तिरेको विवरणमा उल्लेख छ।
पर्यटमन्त्रीको चल सम्पत्ति १३ लाख
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ मौज्दात छ। चल सम्पत्तिमा १३ लाख नगद पनि छ, जसलाई उनले तलब भत्ताबापत पाएको भनेका छन्। त्यसैगरी उनको जन्मथलो नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन्। त्यसबाहेक तामाङसँग ६ तोला सुन र ७÷८ तोला रहेको र ती तलब भत्ताबाट खरिद गरेको उनले विवरणमा खुलाएका छन्।
सञ्चारमन्त्रीको काठमाडौंमा घर, विभिन्न सहकारीमा बचत
सञ्चार मन्त्री रेखा शर्माको कृष्णध्वज खड्काका नाममा कीर्तिपुर नगरपालिका–७ मा ६ आना जग्गा र साढे २ तलाको घर रहेको उल्लेख गरिएको छ। यस्तै प्यूठानमा कृष्णध्वज खड्का, हरि खड्का र घमानसिंह खड्काका नाममा पैतृक सम्पत्ति छ। मन्त्री शर्माले सुन ६ तोला र चाँदी २ तोला रहेको र त्यो पैतृक तथा उपहारबाट प्राप्त भएको उल्लेख गरेकी छन्।
यसका साथै, मन्त्री शर्माको नाममा राष्ट्रिय वाणिज्य बैंकमा १ लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाख रुपैयाँ बचत छ। सार्वजनिक सम्पत्ति विवरणमा उनले आफू, श्रीमान् र छोरीहरूका नाममा १५ सय कित्ता सेयर रहेको उल्लेख गरेकी छन्। ६५ लाख ऋण, २०७७ साउनमा ३६ लाखमा कार किनेको पनि विवरणमा उल्लेख छ।
कानुनमन्त्री गिरीसँग २३ ताेला सुन र ५० लाखकाे पैतृक सम्पत्ति
कानुनमन्त्री पदम गिरीको नाममा पर्वतमा ७ आना जग्गा रहेको छ। त्यो पैतृक सम्पत्ति रहेको उल्लेख छ। गिरीसँग २३ तोला सुन र पारिश्रमिकबाट आएको १ लाख बैंक खातामा छ। न्यू ऐरा रेस्टुरेन्ट एन्ड पार्टी प्यालेस पोखरामा ऋण र पैतृक सम्पत्तिबाट ५० लाख लगानी गरेको उल्लेख छ। यस्तै, नेपाल बैंकबाट ४० लाख ऋण लिएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
जग्गाकी धनी कृषिमन्त्री ज्वालाकुमारी
कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहको बारामा श्रीमान् अमृतकुमार शर्मा बजगाईको नाममा ६ कट्ठा, सर्लाहीमा ५ बिघा, १९ कट्ठा जग्गा छ। मन्त्री साहको कलैयामा १५ कट्ठा जग्गा र १० कट्ठा जग्गा जग्गा रहेको छ । यस्तै सुन १० तोला, चाँदी २५ तोला रहेको छ। नगदतर्फ सानिमा बैंकमा ३० हजार रुपैयाँ, श्रीमानको नाममा १० हजार रुपैयाँ र चार कट्ठा जग्गामा बनेको अढाई तले घर रहेको मन्त्री साहको सम्पत्ति छ।
सम्पत्तिविहीन भूमि व्यवस्थामन्त्री, सबै श्रीमतीका नाममा
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको आफ्नै नाममा अलिकति पनि जग्गा नरहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। अधिकारीको श्रीमती वसुन्धरा पौडेल अधिकारीको नाममा कपिलवस्तु वाणगंगामा ५ कट्ठा जमिन रहेको जनाएकामा श्रीमतीकै नाममा वुद्धभूमि ५ मा १ बिगाहा १५ कट्ठा जमिन छ। यस्तै, श्रीमतीकै नाममा काठमाडौँ कीर्तिपुरमा २०६.६६ वर्ग मिटर जग्गा रहेको छ। भाइ नवराज अधिकारीको नाममा ९ कट्ठा जमिन पैतृक सम्पत्ति छ।
चल सम्पत्तिको रूपमा १० तोला सुन रहेको उल्लेख गरेका मन्त्री अधिकारीले स्वआर्जनले जोडेको उल्लेख गरेका छन्। यस्तै, आफ्नो र श्रीमतीको नाममा विभिन्न बैंकमा रहेको खातामा १५ लाख रुपैयाँ नगद रहेको उल्लेख गरेका छन्। मन्त्री अधिकारीले छोरा मनोज अधिकारीका नाममा भिजन इनर्जी (सङ्खुवासभा) को १५ लाख रुपैयाँ बराबरको १५ हजार कित्ता सेयर समेत रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
ज्येष्ठ नागरिक मन्त्रीसँग ८५ तोला सुन र २५ किलो चाँदी
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको काठमाडौं महानगरपालिका वडा नम्बर– ९ मा १२ आना १ पैसा ३ दाम जग्गा छ। स्वआर्जनबाट २ करोड ६७ लाख रुपैयाँमा उक्त जग्गा किनेको उनले उल्लेख गरेकी छन्। त्यस्तै सुनसरीको दुहबीमा १ बिघा १ धुर जग्गा रहेको उल्लेख छ। त्यसबाहेक सुनसरीको तनमुना २ कट्ठा र तनमुनामै २ बिघा ११ कट्ठा साढे ६ धुर, औराबनीमा १० धुर, सुनसरीकै औराबनीअर्को १० धुर जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
दाङको सोनपुरमा १५ कट्ठा पैतृक सम्पत्ति रहेको पनि उल्लेख छ। उनीसँग ८५ तोला सुन र २५ किलो चाँदी रहेको पनि उल्लेख छ। उनीसँग एभरेष्ट बैंकमा १२ लाख ४१ हजार ८३०, राष्ट्रिय वाणिज्य बैंकमा ५ लाख ४६ हजार ११९ र नबिल बैंकमा १२ हजार रुपैयाँ नगद मौज्दात रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ। उनले आफूसँग ४ लाख ६५ हजार मूल्यका मोटरसाइकल रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्।
खानेपानी मन्त्रीको १० तोला सुन र १०० तोला चाँदी
खानेपानी मन्त्री राजेन्द्रकुमार राईले ७ वटा गाई र ६३ वटा बाख्रा रहेको उल्लेख गरेका छन्। राईले घरजग्गाबाहेकको कृषि तथा पशुधनमा १० लाख मूल्य बजारबारको अंशबाट पाएको ७ वटा गाई, आफ्नै कमाईबाट २०७९ देखि पाल्दै आएको २५ लाख मूल्यको ६३ वटा बाख्रा रहेको पनि उल्लेख गरेका छन्। राईको पुख्र्यौली सम्पत्तिबाट प्राप्त भएको १० तोला सुन र १०० तोला चाँदी रहेको उल्लेख भने उनको अंशबाट प्राप्त भएको धनकुटाको एउटा घर र चियावगानसहितको अंशबाट पाएको जग्गा रहेको उल्लेख गरेका छन्।
रक्षामन्त्री उप्रेतीले जग्गा देखाएनन्
रक्षामन्त्री हरिप्रसाद उप्रेतीको सर्लाहीमा साढे १५ कट्ठा पुर्ख्यौली जग्गा रहेको छ। विवरणअनुसार श्रीमतीको नाममा साढे १५ कट्ठा, छोराको नाममा २० कट्ठा जग्गा रहेको छ। यस्तै, सुन २५ तोला रहेको छ । यस्तै १६ लाखको गाडी रहेको मन्त्री उप्रेतीले सम्पत्ति विवरणमा देखाएका छन्। उनले उनले नगद सम्पत्ति देखाएका छैनन्।
श्रममन्त्री अर्यालसँग ३ कराेडकाे घर, १५० तोला सुन, १०० तोला चाँदी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालको श्रीमती अम्बिका केसीको नाममा काठमाडौँमा करिब ३ करोड मूल्य बराबरको घर रहेको छ। यस्तै उनको र अम्बिका केसीको नाममा १२ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ। धादिङको गजुरी, काठमाडौँको नागार्जुन र लमजुङको राइनासमा उनीको जग्गा रहेको हो।
उक्त जग्गा व्यापार र निजी कमाइबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ। यस्तै अर्यालसँग १५० तोला सुन, १०० तोला चाँदी र हिरा १० तोला रहेको छ। सबै सुनचाँदी र हिरा व्यापारबाट आर्जन गरिएको सम्पत्ति विवरणमा उल्लेख छ। यस्तै अर्यालको विभिन्न बैंकमा नगद मौज्दात, सेयर र गाडी सम्पत्ति विवरणमा उल्लेख छ।
शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति ४ करोड
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंक खातामा डेढ करोड रुपैयाँ छ। मन्त्री श्रेष्ठका श्रीमान पोल्याण्डका नागरिकको खातामा भएको रकमसमेत जोड्दा साढे ४ करोड रुपैयाँ पुग्छ। सम्पत्ति विवरणका अनुसार मन्त्री श्रेष्ठको एनआईसी एसिया बैंकको खातामा १ करोड १५ लाख रुपैयाँ छ। त्यस्तै एभरेस्ट बैंकमा ३७ लाख रुपैयाँ रहेको उनले खुलाएकी छन्। यो रकम आफ्नो पारिश्रमिक रहेको मन्त्री श्रेष्ठले उल्लेख गरेकी छन्।
त्यस्तै उनकै श्रीमानको नाममा पोल्याण्डको मुद्रा पनि १ लाख ८० हजार रुपैयाँ छ। शिक्षामन्त्री श्रेष्ठसँग काभ्रेको रियालेमा ८ रोपनी ६ आना ३ पैसा जग्गा छ। उनले उक्त जग्गा पारिश्रमिकबाट किनेको उल्लेख गरेकी छन्। मन्त्री श्रेष्ठले विवाहमा उपहार पाएको १० तोला र हजुरआमाको शेषपछि पाएको १ तोला गरी ११ तोला सुन, विवाहमा उपहार पाएको १ सय तोला चाँदी, विवाहमा उपहार पाएको हिराको सेट र हजुरआमाको शेषपछि पाएको हिराको टप रहेको विवरण सार्वजनिक गरेकी छिन्। त्यस्तै एक थान स्कुटर, एक थान विद्युतीय गाडी पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्।
खेलकुदमन्त्री श्रेष्ठको सेयर बजारमा १ करोड बढी लगानी
युवा तथा खेलमन्त्री विराजभक्त श्रेष्ठले ‘सेयर मार्केट’मा एक करोड बढी लगानी गरेका छन्। उनीसँग १५ हजार ९०६ कित्ता सेयर रहेको छ। जसको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रूपैयाँ रहेको छ। श्रेष्ठले आफ्नै बुबा विरेन्द्रभक्त श्रेष्ठसँग २० लाख रूपैयाँ ऋण लिएका छन्। २०७० सालमा लिएको ऋण अझै फिर्ता नगरेको विवरण उनले उल्लेख गरेका छन्। हाल उनीसँग कुल ५० लाख ऋण रहेको पनि उल्लेख छ। उनीसँग ल्यान्ड क्रुजर, विद्युतीय सवारी साधन रहेका छन्। बैंकमा उनीसँग ८३ लाख ७२ हजार ७४५ रुपैयाँ रहेको छ।
वनमन्त्री साहको ४० लाख बचत
वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको करिब ४० लाख रुपैयाँ बचत रहेको सम्पत्ति सार्वजनिक भएको छ। उनले विभिन्न १२ वटा बैंकको खातामा ४५ लाख ९९ हजार ३६२ रुपैयाँ रहेको उल्लेख गरेको छन्। उनीसँग ५६ तोल सुन रहेको छ भने करिब डेढ केजी चाँदी रहेको छ। उनको १५ स्थानमा ५ बिगाहा बढी जग्गा बताएका छन् भने सप्तरीको विभिन्न ठाउँम घर रहेको बताएका छन्।
सहरी विकासमन्त्री बुढाको १५ लाख बैंकमा मौज्दात
सहरी विकासमन्त्री धनबहादुर बुढाको काठमाडौंमा दुई वटा घर रहेको छ। उनको श्रीमती हिमालीको नाममा १७ र २० आना क्षेत्रफलको जग्गामा काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा दुई वटा घर रहेको छ। श्रीमती हिमालीकै नाममा काठमाडौं महानगरपालिका ६ मै अर्को ६ आना जग्गा पनि रहेको छ। उनको १५० तोला सुन र ३०० तोला चाँदी छ। मन्त्री बुढाको नाममा १५ लाख बैंक मौज्दात रहेको छ भने श्रीमतीको नाममा थप ४५ लाख नगद रहेको छ।
उद्योगमन्त्री भण्डारीको १० लाख ऋण
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको पाटनमा उदय सिंह भण्डारीको नाममा ६ कोठे पुख्र्याैली घर र २ रोपनी जग्गा रहेको छ। यस्तै, कविता भण्डारीको नाममा कञ्चनपुरमा २ कट्ठा जग्गा छ। भण्डारीले श्रीमतीको नोकरी र कृषि व्यवसायबाट खरिद गरिएको ६ तोला सुन रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
मन्त्री भण्डारीकै नाममा भने एभरेस्ट बैंकमा ८ लाख ६४ हजार ४४६ रुपैयाँ, कविता भण्डारीको नाममा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल बैंकमा क्रमशः १ हजार र ३ लाख ६३ हजार रुपैयाँ छ। प्रसिद्ध भण्डारीको नाममा संगम हस्पिटलमा प्रालिमा ८ लाख बराबरको ८ हजार कित्ता सेयर पनि छ। भण्डारीले २०७९/३/५ मा १० लाख रुपैयाँ ऋण लिएको पनि विवरणमा उल्लेख छ।