काठमाडौं। सिम्रिक एयरले कैलाश–मानसरोवर धार्मिक तीर्थाटन गराउने भएको छ। आन्तरिक पर्यटकलाई लक्षित गर्दै सिम्रिक हेलिकोप्टरले मासिक किस्तामा यात्राको खर्च तिर्ने व्यवस्थासहित धार्मिक यात्रा गराउन लागेको महाप्रबन्धक मुरलीधर जोशीले जानकारी दिए।
कोभिड–१९ पछि चीनले भारतीय पर्यटकलाई कैलाश क्षेत्रमा जान रोक लगाइरहेकका बेला सिम्रिकले नेपालीलाई लक्षित गरी जेठ २१ बाट यात्रा सुरु हुने गरी प्याकेज सार्वजनिक गरेको हो।
पछिल्लो समय धेरै नेपालीहरु कैलाश मानसरोवर यात्रामा निस्किरहेका बेला सिम्रिकले सहजताको लागि प्याकेज सार्वजनिक गरेको महाप्रबन्धक जोशीको भनाइ छ।
सार्वजनिक प्याकेजअनुसार ५ रात र ६ दिनका लागि २ लाख ५० हजार रुपैयाँ तोकेको छ। सो रकमले नेपालगञ्ज–हुम्ला सिमीकोट–हिल्सा हुँदै थाक्लाकोट–मानसरोवर पुगेर कैलाश सर्किट घुमेर फर्किने रुट तयार पारेको छ।
सिम्रिकले सनराइज कैलाश ट्राभल प्रालिसँग साझेदारी गरेको छ। पूर्वी नेपाल, काठमाडौंलगायत क्षेत्रबाट जाने यात्रीले भने नेपालगञ्जसम्मको यात्रा प्रबन्ध आफैंले गर्नुपर्नेछ।
यात्रुलाई पैसा अभाव कारण रोकिन नपरोस् भन्ने उद्देश्यले सहजताका लागि नबिल बैंक, हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकसँग सम्झौता गरेको छ। यी बैंकमा खाता खोल्नेलाई सरल र सहज रुपमा क्रेडिट कार्ड उपलब्ध गराउनेछ र सो रकम एक वर्षसम्म बिनाब्याज तिर्न मिल्ने व्यवस्था भएको कम्पनीले जनाएको छ।
यात्राका क्रममा दुर्घटना भए घाइते यात्रुको औषधोपचारका लागि कम्पनीले ५ लाख रुपैयाँसम्मको मेडिकल र यात्रुको मृत्यु भए १० लाख बिमा भुक्तानी दिने गरी सम्झौता गरिएको महाप्रबन्धक जोशीले बताए।
योसँगै हवाई यात्राका क्रममा दुर्घटना भए वा केही भए हवाई उड्डयन ऐनअन्तर्गत तोकिएबमोजिमको बिमा यात्रुले छुट्टै पाउनेछन्। कम्पनीले यात्राका लागि सगरमाथा लुम्बिनी कम्पनीसँग बिमा सम्झौता गरेको छ।
यस्तो छ यात्रा तालिका
कैलाश मानसरोवर निस्कने यात्रुको पहिलो बसाइँ नेपालगञ्जकै सुविधासम्पन्न स्टार होटलमा हुनेछ, जहाँ खानेबस्ने सुविधा राखेको छ। भोलिपल्ट (दोस्रो दिन) नेपालगञ्जबाट प्लेनमा सिमीकोट, तेस्रो दिन सिम्रिक एयरको हेलिकोप्टरमार्फत यात्रुलाई हिल्सास्थित अध्यागमन विभागमा लगिनेछ।
हिल्साबाट थाक्लाकोटसम्मको करिब १ घन्टाको (२७ किलोमिटर) यात्रा बसमा हुनेछ। चौथो दिन बिहानै निस्किएर करिब डेढ घन्टा (९५ किलोमिटर) को यात्रापछि मानसरोवर ताल पुगिनेछ। त्यहाँ पूजापाठ सकेर मानसरोवर परिक्रमा सुरु हुनेछ।
कुल ९० किलोमिटर रहेको कैलाश–मानसरोवर सर्किट घुमेर सोही दिन प्रसिद्ध धार्मिक स्थल दार्चिन र यमदरबारको भ्रमण एवं बेलुकी बास थाक्लाकोटमा हुने उल्लेख छ।
यात्राको पाँचौं दिन हिल्सामा राखिनेछ। तीर्थालुलाई त्यहाँ चिनियाँ होटलमा राखिनेछ। त्यस्तै, कैलाश–मानसरोवर यात्राभर सुविधा सम्पन्न चिनियाँ पर्यटक बसको प्रयोग हुनेछ। हिल्साबाट भने सिम्रिक एयरले पुनः यात्रुलाई सिमीकोट झार्नेछ। सोही दिन सिमीकोटमै राखेर छैटौं दिन प्लेनमार्फत यात्रुलाई नेपालगञ्ज ल्याइने कम्पनीले जनाएको छ।
एक समूहमा १५ जना
धार्मिक यात्राको एक समूहमा १५ जना समावेश हुनेछन्। सिजन अवधिभर चल्ने प्याकेजमा मागको आधारमा तीन÷तीन दिनको अन्तरालमा यात्रा गराइनेछ।
भारतीय आउन छाडेपछि सुस्ताएको रुट चलायमानको आस
भारतीय पर्यटक आगमन बन्द भएपछि कैलाश–मानसरोवर क्षेत्र जाने रुट सुस्ताएको छ। त्यस क्षेत्रमा खोलिएका होटल बन्द हुन लागेका छन् भने पर्यटक गाइडसमेत बेरोजगार भएका छन्। सिम्रिकले पर्यटकीय क्षेत्रलाई चलायमान बनाउन र पर्यटक गाइडलाई रोजगार बनाउने उद्देश्यले प्याकेज सार्वजनिक गरेको महाप्रबन्धक जोशीले बताए।
प्याकेज चल्दा त्यस क्षेत्रमा पर्यटन चलायमानसँगै गाइडले समेत रोजगारी पाउने भएपछि सीधा हवाई यात्रा नगराई एड्भेन्चर अनुभव गराउन खोजिएको उनको धारणा छ।