काठमाडौं। तीन कारोबार दिनमा सेयर बजार ९७.१७ अंकले उकालो लागेको छ। गएको शुक्रबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष (२०८०/८१) को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेबाट लगातार बढेको सेयर बजारमा पछिल्लो तीन कारोबारबाट ९७.१७ अंकको सुधार आएको हो।
साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.९४ अंकले बढेर २११५.९४ को बिन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार नेप्से २७.५४ अंक र आइतबार ४५.६९ अंकले बढेको थियो।
मंगलबार सेयर बजारमा कुल ५ अर्ब २० करोडरुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने कुल ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस्तै, आइतबार पनि नेप्सेमा कुल ५ अर्ब २५ करोडरुपैयाँ बराबरको कारोबार थियो। पछिल्लो तीन दिनमा मात्रै नेप्सेमा कुल १६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भइसकेको छ।
खासगरी, मौद्रिक नीति समीक्षामार्फत् राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेको थियो। यस्तै, पछिल्लो केही दिन यता पुँजीगत लाभकर ५ प्रतिशतमा झारिने विषय चर्चामा छ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले लङ टर्म र सर्ट टर्म कारोबार छुट्ट्याउने भन्दै दुई थरि कर निर्धारण गरेका थिए जस अनुसार अल्पकालीन लगानीकर्तालाई ७.५ प्रतिशत पुँजीगत लाभकर र दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशत पुँजीगत लाभकर निर्धारण गरिएको थियो। यसलाई परिवर्तन गरेर अब ५ प्रतिशत नै पुँजीगत लाभकर निर्धारण गर्ने विषय उठिरहेको छ। यी दुबै विषयको प्रभाव हाल सेयर बजारमा देखिरहेको छ।
मंगलबार कारोबारमा आएकामध्ये १९४ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ४३ कम्पनीको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
मंगलबार जानकी फाइनान्स, मेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था र सामुदायीक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, बुद्धभुमी नेपाल हाइड्रोपावर, मध्य भोटेकाशी जलविद्युत कम्पनी, इस्टर्न हाइड्रापावर, कुथेली बुखारी स्मल हाइड्रोपावर र माहुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि नौ प्रतिशत बढीले उकालो लागेको छ।
मंगलबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक अर्थात् ४.२८ प्रतिशतले घटेको छ। मंगलबार विकास समुहबाहेक सबै समुहको सेयर मूल्य बढेको छ। फाइनान्स समुहको सेयर मूल्य ३.५५ प्रतिशतले बढ्दा जलविद्युत समुहमा २.१६ प्रतिशतको सुधार भएको छ।