काठमाडौं । कोटेश्वर–कलंकी सडकखण्ड विस्तार गरी चीनियाँ निर्माण कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले सरकारलाई हस्तान्तरण गरेको एक बर्ष पुरा भएको छ ।
नेपालकै नमुना सडकको रुपमा विस्तार भएको चक्रपथको सो खण्ड सरकारलाई हस्तान्तरण भएको एक बर्ष बितिसक्दा पनि ट्राफिक लाईट र सडक बत्ती जडान गरिएको छैन ।
सडक निर्माणसँगै ट्राफिक लाइट, सडक बत्ती, आवश्यकता अनुसार जेब्रा क्रसिङ, आकाशेपुल र फुटपाथ पनि निर्माण गर्नुपर्ने हो । हस्तान्तरण भएको एक बर्ष बित्दा पनि सरकारी बेवास्ताले यो क्षेत्रमा सडक दुर्घटना पनि बढाएको छ ।
८ लेन तथा अण्डरपाससहित विस्तार भएको कोटेश्वर–कलंकी खण्ड नेपालको पहिलो सडक हो । तर, हेर्दा जति सुन्दर, सुविधाजनक र अत्याधुनिक देखिए पनि पूर्वाधार अभावले सडक प्रयोग जोखिमपुर्ण हुदै गएको छ ।
सो सडकखण्डमा एक बर्षमा ७६ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाइसकेको महानगरिय ट्राफिक महाशाखाका प्रमुख भिम ढकालले बताए ।
तर, सडक विस्तार गरी हस्तान्तरण गरेको एक बर्षसम्म चिनीयाँ निर्माण कम्पनीकै जिम्मेवारी हुने भएकोले सरकारले केहि गर्न नसकेको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले बताए ।
२०७५ मंसिर २९ मा सरकारलाई दिएको सो सडकखण्ड यो पुसबाट पूर्णरुपले नेपाल सरकारको मातहतमा आएको छ । सरकारको मातहतमा आएपछि ६ स्थानमा आकाशेपुल, ट्राफिक लाइट, सडक बत्ती तथा फुटपाथ निर्माण कार्य अगाडी बढाएको उनले बताए ।
उनले भने ‘ट्राफिक लाइट जडानको लागी बृहत योजना चाहिने हुन्छ, हामी जडान गर्ने तयारीमा छौ । कहिले हुन्छ, एकिन समय भने तोकिएको छैन ।’
नेपालमा ट्राफिक लाइट जडान गर्नेको लागी विदेशीको सहयोग लिनु पर्ने भएकाले प्रक्रियामा लामो समय लाग्ने सापकोटाको भनाइ छ ।
कोटेश्वर–कलंकी चक्रपथ सडक सन् २०१२ मा करिव ५ अर्ब रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्ने गरी चिनीयाँ निर्माण कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपसँग साझेदारी गरीएको थियो । यो रकम चीन सरकार कै अनुदान हो ।
२७ किलोमिटर चक्रपथमध्ये १०.३९ किलोमिलटर ८ लेनको सडक विस्तार गरी चिनीयाँ निर्माण कम्पनी सांघाईले २०७५ मंसिर २९ गते नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।