काठमाडौं। १० महिनामा करिब साढे ८ हजार विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। चालू आर्थिक वर्ष २०८०÷८१ को १० महिना (साउनदेखि वैशाखसम्म)मा ८ हजार ४ सय ९७ युनिट विद्युतीय गाडी नेपालमा भित्रिएको हो।
आज भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार १० महिने अवधिमा कार, जिप र भ्यान गरी कुल २१ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएको हो। उक्त गाडी आयातबाट सरकारले ९ अर्ब ३६ करोड ४४ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ।
गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा नेपालमा कुल ८ अर्ब ४१ करोड ९३ लाख रुपैयाँ बराबरको २ हजार ९ सय ५५ युनिट विद्युतीय गाडी नेपाल भित्रिएका थिए। गत वर्षको तुलनामा यस वर्ष भित्रिएको विद्युतीय गाडीको संख्या ५ हजार ५४२ युनिटले बढी हो।
गत वर्षको सोही अवधिमा भित्रिएका २ हजार ९ सय ५५ युनिट गाडीबाट सरकारले २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष सरकारले ७ अर्ब ५ करोड बढी राजस्व प्राप्त गरेको छ।
कुन देशबाट कति आयात
१० महिनामा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट आयात भएका छन्। यस अवधिमा चीनबाट १५ अर्ब १७ करोड रुपैयाँ बराबरको ५ हजार ५ सय ४७ युनिट विद्युतीय गाडी नेपाल भित्रिँदा भारतबाट ५ अर्ब २६ करोड ६७ लाख रुपैयाँ बराबरको २ हजार ७ सय ४५ युनिट विद्युतीय गाडी आयात भएको छ।
यस्तै, यसै अवधिमा इन्डोनेसियाबाट २७ करोड ४८ लाख रुपैयाँ बराबरको १४१ युनिट विद्युतीय गाडी नेपाल भित्रिएको छ। भन्सार विभागको तथ्यांकअनुसार सबैभन्दा धेरै ५० देखि १०० किलोवाट क्षमतासम्मको विद्युतीय गाडी नेपाल भित्रिएका छन्।
यस अवधिमा ५० देखि १०० किलोवाट क्षमताको विद्युतीय गाडी ८ हजार ३ सय ६८ युनिट आयात हुँदा १०० देखि २०० किलोवाट क्षमताको १०५ युनिट आयात भएको छ। यस्तै, २०० किलोवाटमाथिका २४ युनिट गाडी नेपाल भित्रिएका छन्।