काठमाडौं । नेपाल राष्ट्र बैंकको बिनाअनुमति नेपाल क्लियरिङ हाउस (एनसिएचएल)ले विप्रेषण (रेमिट्यान्स) कारोबार गरेको पाइएको छ। राष्ट्र बैंकबाट भुक्तानी सञ्चालकको कार्य गर्न अनुमति लिएको एनसिएचएलले गैरकानुनी तरिकाले रेमिट्यान्स कारोबार गरिरहेको पाइएको हो।
नेपाल राष्ट्र बैंककै १० प्रतिशत लगानी रहेको एनसिएचलले अमेरिकन फिनटेक कम्पनीसँग मिलेर गैरकानुनी रुपमा रेमिट्यान्स कारोबार गरिरहेको हो। जुनोले नेपालमा रेमिट्यान्स कम्पनी ठमेल रेमिट सञ्चालन गरिरहेको छ। ठमेल रेमिट राष्ट्र बैंकबाट रेमिट्यान्स कारोबार अनुमति प्राप्त संस्था हो।
एनसिएचएल आफ्नो मोबाइल वालेट (कनेक्ट आइपिएस) मा जुनोको वेबसाइट लिंक गर्दै सोझै आफ्नै मोबाइल एप्लिकेसनमा जुनोको वेबसाइट खुल्ने गरी ठमेल रेमिटमार्फत रेमिट्यान्स कारोबारमा संलग्न भएको पाइएकाे छ।नेपालमा रेमिट्यान्ससम्बन्धी कारोबार गर्न बैंकबाहेक अन्य संस्थाले राष्ट्र बैंकबाट अनिवार्य अनुमति लिनुपर्छ। बैंक तथा वित्तीय संस्थाबाहेक नेपालमा विप्रेषण कारोबारका लागि ५१ वटा कम्पनीले अनुमति लिएका छन्, जसमा एनसिएचएल पर्दैन।
एनसिएचएल बैंक र रेमिट्यान्स कम्पनीमध्ये दुवै नभएर भुक्तानी सञ्चालक संस्था हो। २०६५ मा बैंक तथा वित्तीय संस्थाले ९० प्रतिशत र १० प्रतिशत राष्ट्र बैंकले लगानी गरी स्थापना भएको एनसिएचएलले भुक्तानी, क्लियरिङ र सेटलमेन्टसम्बन्धी काम गर्छ।
यसले ५३ वटा बैंक तथा वित्तीय संस्था, पिसपी/पिएसओ, मर्चेन्ट बैंक, सरकारी तथा गैरसरकारी कम्पनी, रेमिट्यान्स कम्पनी, गैरबैंकिङ संस्था गरी करिब १०० बढीसँग भुक्तानी, क्लियरिङ र सेटलमेन्टसम्बन्धी सम्झौता गरी काम गरिरहेको छ। गत पुसदेखि एनसिएचएल अध्यक्षमा राष्ट्र बैंककै कार्यकारी निर्देशक रामु पौडेल रहेका छन्। कार्यकारी कार्यकारी निर्देशक पौडेल केही समयअघिसम्म राष्ट्र बैंकमा विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख थिए भने हाल बैंक सुपरिवेक्षण विभाग प्रमुख छन्।
इजाजतप्राप्त संघसंस्थाले जुन उद्देश्य तथा प्रयोजन खुलाएर सञ्चालन अनुमति लिएको हो, कानुनी रुपमा त्यही काम मात्रै गर्न पाउने राष्ट्र बैंकका प्रवक्ता तथा भुक्तानी प्रणाली विभाग प्रमुख डा. गुणाकर भट्ट बताउँछन्।
ग्राहकका रुपमा रहेका डेढ सय बढी संघसंस्थामध्ये एनसिएचएलले अमेरिकी फिनटेक कम्पनीको प्रवद्र्धनमा सञ्चालित ठमेल रेमिटको कारोबार आफ्नो मोबाइल एप्लिकेसनबाट कारोबार गरिरहेको छ। एनसिएचएलले ठमेल रेमिटको कारोबार आफ्नै मोबाइल वालेटमार्फत गर्न मिल्ने व्यवस्था गरेको हो।
राष्ट्र बैंकबाट ठमेल रेमिटको नाममा विप्रेषण कम्पनीको लाइसेन्स लिए पनि एनसिएचएलको कनेक्ट आइपिएसमा ठमेल रेमिटको नामबाट नभएर ‘जुनो रिक्वेष्ट टु युएस’ नामक रेमिट एप्लिकेसमार्फत रेमिट्यान्स कारोबार भइरहेको हो।
यस्तो कारोबार गर्न स्वीकृति एनसिएचएलले पाएको होइन। इजाजतप्राप्त संघसंस्थाले जुन उद्देश्य तथा प्रयोजन खुलाएर सञ्चालन अनुमति लिएको हो, कानुनी रुपमा त्यही काम मात्रै गर्नु पाउने राष्ट्र बैंकका प्रवक्ता तथा भुक्तानी प्रणाली विभाग प्रमुख डा. गुणाकर भट्ट बताउँछन्।
‘रेमिट्यान्स कारोबार गर्न बैंकबाहेक रेमिट्यान्स कम्पनीले मात्रै पाउँछन्, अन्यको हकमा राष्ट्र बैंकबाट जे उद्देश्यका लागि लाइसेन्स लिएका हुन् त्यो काममात्रै कानुनी रुपमा गर्न पाउँछन्,’ राष्ट्र बैंकका प्रवक्ता भट्टले क्यापिटल नेपालसँग भने, ‘एनसिएचएलको हकमा राष्ट्र बैंककै लगानी भए पनि उसले भुक्तानी सञ्चालकको अनुमति लिएको हो, त्योबाहेक अन्य कारोबारमा गर्न राष्ट्र बैंकबाट स्वीकृति लिएको छैन।’
एनसिएचएलको जुनो कम्पनीसँगको मिलोमतोमा भएको रेमिट्यान्स कारोबारबारेमा राष्ट्र बैंक जानकार नरहेको उनले बताए।
‘आफ्ना ग्राहकबारेमा वेबसाइट वा मोबाइल एप्लिकेसनमा राख्न पाउँछ तर सोझै कारोबार गर्न पाउने/नपाउने भन्नेबारे राष्ट्र बैंकले केही बोलेको छैन,’ उनले भने, ‘यसबारे तत्काल के गर्न मिल्ने/नमिल्ने भन्नेबारे छानबिन हुन्छ।’
एनसिएचएलले रेमिट्यान्स कारोबारमा कस्तो प्रकारले संलग्नता देखाएको हो र उक्त काम कानुनबमोजिम भए/नभएको छानबिन राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले तत्काल गर्ने उनको भनाइ छ।
ऐन/कानुनले के भन्छ
राष्ट्र बैंकको भुक्तानी फस्र्यौट ऐन, २०७५ अनुसार भुक्तानी प्रणाली सञ्चालक संस्था तथा भुक्तानीप्रदायक कम्पनीले राष्ट्र बैंकमा भुक्तानीसम्बन्धी कारोबार गर्न मात्रै सञ्चालन अनुमति लिन पाउँछन्।
यसरी सञ्चालककाे अनुमति लिँदा नै सञ्चालन गरिने व्यवसायको प्रकृति तथा संस्थाको व्यावसायिक योजना उल्लेख गर्नुपर्छ। नेपाल क्लियरिङ हाउसले राष्ट्र बैंकबाट स्वचालित क्लियरिङसम्बन्धी कार्य, भुक्तानी प्रणालीको अन्तरआबद्धतासम्बन्धी कार्य, विद्युतीय भुक्तानी कार्डको सञ्जाल सञ्चालन गर्ने, भुक्तानी स्वीच सञ्चालन गर्ने र राष्ट्र बैंकले तोकेका अन्य कार्य गर्ने लाइसेन्स लिएको हो।
राष्ट्र बैंकले एनसिएचएललाई रेमिट्यान्स कारोबारमा संलग्न हुन स्वीकृत प्रदान नगरेको प्रवक्ता भट्टले प्रष्ट पारिसकेको अवस्थामा एनसिएचएल कानुनी कारबाहीको भागिदार हुने देखिन्छ।
एनसिएचएलएलले भुक्तानी फर्स्यौट ऐन, २०७५ को दफा ८ को उपदफा (ङ) र दफा १४ को व्यवस्था उल्लंघन गरेको हो। उल्लेखित दफाअनुसार एनसिएचएलले राष्ट्र बैंकमा स्वीकृति लिएअनुसार मात्रै कारोबार गर्न पाउँछ भने सेवा उपकरण थप गर्नुपर्ने भएमा राष्ट्र बैंकको अनुमति लिनुपर्ने हुन्छ।
राष्ट्र बैंकले भुक्तानी फस्र्योट ऐनको व्यवस्था उल्लंघन गर्ने एनसिएचएल र विप्रेषण विनियमावलीका व्यवस्था उल्लंघन गर्ने ठमेल रेमिटलाई कारबाहीको दायरामा ल्याउने/नल्याउने भन्नेबारे भने हेर्न बाँकी छ।
उल्लेखित दफाको उल्लंघन गर्नेलाई भुक्तानी फस्र्यौट ऐनले ५ वर्षदेखि १० वर्षसम्म जेल सजाय वा १ करोड रुपैयाँसम्म नगद जरिवाना वा दुवै हुन सक्ने उल्लेख गरेको छ। साथै, राष्ट्र बैंकले संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतलाई स्पष्टीकरण सोध्ने, नसिहत दिने, पदबाट बर्खास्तसम्म गराउन सक्छ।
यता, अमेरिकन फिनटेक कम्पनी जुनोबाट सञ्चालित ठमेल रेमिटले पनि कानुन मिचेरै रेमिट्यान्स कारोबारमा संलग्न भएको देखिन्छ। जुनोकै वेबसाइटमार्फत रेमिट्यान्स कारोबार गर्ने ठमेल रेमिटले राष्ट्र बैंकद्वरा जारी विप्रेषण विनियमावली, २०७९ मा उल्लेखित १० नम्बर निर्देशनको बुँदा नम्बर (क) को व्यवस्था उल्लंघन गरी रेमिट्यान्स कारोबार गरेको देखिन्छ।
विप्रेषण विनियमावली, २०७९ अनुसार विप्रेषण कम्पनीहरुले विदेशी मुद्रा नेपालबाट विदेशमा पठाउन पाउँदैनन्। नेपालबाट विदेशीमा रेमिट्यान्स पठाउनुपरे बैंकमार्फत मात्रै पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
नियामकीय प्रावधान उल्लंघन गर्दै ठमेल रेमिटले जुनोको वेबसाइटमार्फत नेपालबाट पनि रेमिट्यान्स पठाइरहेको छ। जुनोले नेपालबाट अमेरिकमा अधिकतम १० लाख रुपैयाँ अर्थात् ७ हजार ५ सय अमेरिकी डलर पठाउन सकिने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले भुक्तानी फस्र्योट ऐनको व्यवस्था उल्लंघन गर्ने एनसिएचएल र विप्रेषण विनियमावली व्यवस्था उल्लंघन गर्ने ठमेल रेमिटलाई कारबाही दायरामा ल्याउने/नल्याउने भन्नेबारे भने हेर्न बाँकी छ।
एनसिएचएलको रेमिट्यान्समा संलग्नता
एनसिएचएले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा टेकेर भुक्तानी प्रणालीको अन्तरआबद्धतासम्बन्धी कार्य गर्ने भन्दै गत वर्ष नै जुनो कम्पनीसँग सम्झौता गरी अन्तरदेशीय रियल टाइम (तत्कालै प्राप्त गर्न सकिने) भुक्तानी फिचर प्रयोग गर्न थालेको हो।
त्यसयता एनसिएचएलको कनेक्ट आइपिएसमा रेमिट रिक्वेस्ट फिचर राखेर त्यहीबाटै जुनो कम्पनीको वेबसाइट ठमेल रेमिटको कारोबार गर्न मिल्ने व्यवस्था गर्न पुवार्धार तयार गरिरहेकाे थियाे। आवश्यक तयारी सम्पन्न भएपछि गरी jविगत एक महिनादेखि एनसिएचएल जुनाेसँग मिलेर गैरकानुनी रूपमा रेमिट्यान्स काराेबारमा संलग्न छ। एक महिनादेखि ‘तु रेमिट्यान्स सेवा’ भन्दै एनसिएचएलले ठमेल रेमिटको नाममा फिनटेक कम्पनी जुनोलाई एनसिएचएलले आफ्नो आन्तरिक च्यानल प्रयोग गर्न दिएको हो।
राष्ट्र बैंकबाट विप्रेषण कारोबार अनुमति ठमेल रेमिटको नाममा लिएको जुनोले एनसिएचएलको आन्तरिक च्यानलमा आफ्नै वेबसाइट लिंक गरी रेमिट्यान्स कारोबार गर्न विकल्पमा ठमेल रेमिट राखेको छ। एनसिएचएलले जुनोलाई नेसनल पेमेन्ट स्विच (एनपिएस) को प्रयोगमा ल्याएर स्वचालित रुपमा रेमिट्यान्स कारोबारमा सहकार्य गरिरहेको हो।
जुनोले ठमेल रेमिटको नाममा लाइसेन्स लिए पनि रेमिट्यान्स कारोबार भने एनसिएचएलमार्फत जुनो रेमिट भनेरै गरिरहेको छ। कनेन्ट आइपिएसको मोबाइल एप्लिकेसनमा भएको रेमिट सेवाबाट रेमिट्यान्स कारोबार गर्ने ग्राहकलाई आफूले ठमेल रेमिटबाट कारोबार गरिरहेको भन्ने कुनै पनि संकेत दिएकाे पाइँदैन।
एनसिएचएलको रेमिट सेवामा ‘क्लिक’ गर्दा आउने नाम नै जुनो रेमिटको हो। त्यसपछिका विकल्पमा मात्रै जुनो पेआउट पाटर्नर भनेर ठमेल रेमिटलाई राखेको छ। जुनोले आफुलाई एनसिएचएलको सदस्यको रुपमा पनि देखाएको छ।
राष्ट्र बैंकले अन्तरआबद्धताका लागि एनसिएचएललाई कानुनी मान्यता दिएकै भए पनि ठमेल रेमिटकै नाम उल्लेख गरेर अन्तरआबद्धता गराए मात्रै नियमसम्मत हुने देखिन्छ। राष्ट्र बैंकबाट एउटा नामको स्वीकृति लिएर अर्को नामको कम्पनीबाट रेमिट्यान्स भइरहेको कम्पनीलाई अन्तरआबद्धता दिनु एनसिएचएलले राष्ट्र बैंकको आडमा गलत कार्य गरेको प्रष्ट हुन्छ।
राष्ट्र बैंकको नियामकीय प्रावधानमै रहेका ग्राहकका बारेमा आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनमा राखिएको एनसिएचएलका सीइओ निलेशमान सिंह प्रधान बताउँछन्।
‘जुनो भनेकै ठमेल रेमिट हो, जसलाई हामीले हाम्रा अन्य ग्राहक संघसंस्थाका बारेमा राखेजस्तै गरेर जुनोबारेमा पनि राखेका हौं,’ एनसिएचएलका सीइओ प्रधानले भने, ‘राष्ट्र बैंकले यसबारेमा हामीलाई गर्न पाउने वा नपाउने भन्ने विषयमा केही भनेको छैन।’
आफू रेमिट्यान्स कारोबारमा संलग्न नभएर ग्राहक संस्थाबारेमा जानकारी मात्रै गराउन जुनो कम्पनीले ठमेल रेमिटलाई मोबाइल एप्लिकेसनमा राखिएको एनसिएचएलका सीइओ प्रधानको दाबी छ।
अमेरिकन फिनटेक कम्पनी जुनोले सन् २०११ मा अमेरिकमा भएको नेपाली कामदारको पैसा नेपाल पठाउने माध्यम बन्ने भन्दै रेमिट कारोबार सुरु गरेको थियो। त्यसयता जुनोले नेपालमा मात्रै नभएर सन् २०१६ यता २० बढी देशमा प्रतिवर्ष १०० मिलियन डलर बढी रेमिट्यान्स कारोबार गरिरहेको छ।
जुनोले नेपालमा भने विद्युतीय भुक्तानीमा विकास गर्दै ‘नियो’ बैंकको रुपमा आफूलाई स्थापित गर्ने उद्देश्यका साथ आफ्ना सम्पूर्ण कारोबार अनलाईनमार्फत नै गर्न थालेको छ।