काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार २१२१.०१ बिन्दुसम्म पुगेर फर्किएको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अघिल्लो दिनको तुलनामा २७.५४ अंकले बढेर २०९२.०० को बिन्दुमा बन्द भएको हो।
कारोबारको सुरुवातीचरणबाटै उकालो लागेको नेप्से १२ बजेर २३ मिनेटमा २१२१.०१ बिन्दुसम्म पुगेको थियो। त्यसबाट थपघट हुँदै बन्द हुने समयमा भने २०९२.०० को बिन्दुमा सीमित भएको हो।
अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से ४५.६९ अंक बढेर २०६४.४५ विन्दुमा बन्द भएको थियो। नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष (२०८०/८१) को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेबाट सेयर बजारमा केही उत्साह देखिएको छ।
सोमबारको सेयर बजारमा कुल ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ५ अर्ब २५ करोडरुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएकामध्ये १३४ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर छ।
आज सामुदायीक लघुवित्त वित्तीय संस्था, बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्दा बाराही हाइड्रोपावर र एनआईसी एसियाको सेयर मूल्य पनि नौ प्रतिशत बढीले उकालो लागेको छ।
सोमबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक अर्थात् ७.४० प्रतिशतले घटेको छ।
लामो समयदेखि सुस्ताएको बैंकिङ समुहको सेयर मूल्यमा सोमबार पनि उत्साह आएको छ। बैंकिङ समुहको सेयर मूल्य ४.१८ प्रतिशतले बढ्दा इन्भेष्टमेन्ट समुहको सेयर मूल्य १.८४ र जलविद्युत समुहको सेयर मूल्य १.३८ प्रतिशतले बढेको छ। लघुवित्त समुहमा भने सर्वाधिक अर्थात् ०.६५ प्रतिशतको गिरावट आएको छ।
मौद्रिक नीति समीक्षामार्फत् राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेको थियो। जसका प्रभाव सेयर बजारमा परेको छ।