नेपालले ‘लाइफटाइम एक्सपेरियन्स’ को नारासहित जनवरी १ सन् २०२० (पुस १५) बाट भ्रमण वर्षको औपचारिक सुरुआत गर्दै छ । ०७६ पुस १५ देखि ०७७ पुस १४ (सन् २०२०) सम्म ३ सय ६५ दिनभित्र हवाई वा स्थलमार्ग प्रयोग गरेर नेपाल प्रवेश गर्ने विदेशी नागरिक (गैरआवासीय नेपालीसमेत) गणना गरेर सरकारबाट २० लाख पर्यटकको संख्या पुर्याउने कोसिस हुनेछ । २० लाख हाराहारी विदेशी नागरिक नेपाल भित्रिए भ्रमण वर्ष सफल भएको भनेर सरकारी पक्षले खुसीयाली मनाउनेछ भने नपुगे विपक्षीका लागि नयाँ मसला प्राप्त हुनेछ ।
हालको पर्यटक परिभाषाअनुसार नेपालमा आउने सम्पूर्ण विदेशी पर्यटकका रुपमा गणना हुनेछ । तर, उनीहरु घुम्न मात्र आएका हु“दैनन्, कतिपय विदेशी नेपालमा काम गर्न पनि आउने गरेका छन् । अहिले विशेषगरी चिनियाँ नागरिक नेपालमा कामका लागि बढी आउँछन् । काम गर्न आउने विदेशीको छुट्टै तथ्यांक छैन । यद्यपि श्रम मन्त्रालयबाट विदेशीले नेपालमा काम गर्ने अनुमति भने लिनुपर्छ । अध्यागमन विभागको तथ्यांकअनुसार २०१९ को नोभेम्बरसम्म २ हजार २ सय ३ जनाले वर्किङ भिसा लिएर काम गरिरहेका छन् । सन् २०१८ मा २ हजार ३ सय ४५ जनाले वर्किङ भिसा लिएका थिए ।
भ्रमण वर्ष– २०२० का कार्यक्रम संयोजक सुरज वैद्यका अनुसार श्रमिक मात्र होइन, नेपालमा हुने विभिन्न किसिमका कार्यक्रम (सभा, सेमिनार, गोष्ठी) मा सहभागी हुन आउने विदेशीको पनि पर्यटककै रुपमा गणना हुन्छ । अहिले नेपालमा विदेशीको बढ्दो आकर्षणले २०२० मा २० लाख पर्यटक पुर्याउन कुनै समस्या नरहेको वैद्य दाबी गर्छन् ।
यसअघि सरकारले सन् १९९८ मा भ्रमण बर्ष र सन् २०११ मा नेपाल पर्यटन बर्ष .आयोजना गरेको थियो । १९९८ मा ५ लाख पर्यटक भिœयाउने लक्ष्य लिँदा ४ लाख ६३ हजार ६ सय ८४ र सन् २०११ मा १० लाख पुर्याउने लक्ष्य राखेकामा ७ लाख ३६ हजार २ सय १५ पर्यटकले नेपाल भ्रमण गरेका थिए । २०११ मा भन्दा सन् १९९८ मा तुलनात्मक रुपमा आँकलनअनुसार पर्यटक आगमन भएको थियो । यी दुई वर्षलाई हेरेका कतिपय जानकारले २०२० को लक्ष्य बढी भएकाले प्राप्त हुन कठिन पर्ने बताउँदै आएका छन् ।
सशस्त्र द्वन्द्व तथा राजनीतिक अस्थिरतापछि मुलुकमा बनेको स्थायी सरकार र तुलनात्मक रुपमा कमी आएका विभिन्न अवरोधका कारण पछिल्ला वर्षमा पर्यटकको संख्या बढ्न थालेको छ । त्यसले गर्दा पनि २०२० को लक्ष्यलाई आशाका किरणले हेर्नु अन्यथा भने हुँदैन । तर, पर्यटकको संख्या बढ्दै गए पनि तिनीहरुको बसाइ र त्यस अवसरमा उनीहरुले गर्ने खर्चमा खासै सुधार हुन नसकेकाले ‘मगन्ते पर्यटक’ बढाएर प्रदूषण बढाउन मद्दत पुग्ने भन्दै भ्रमण वर्षको लक्ष्यमाथि कटाक्ष गर्नेहरुको कुनै कमी छैन । पर्यटन व्यवसायी योगेन्द्र शाक्यका अनुसार पर्यटकको बसाइ अवधि एकदमै थोरै हुने गरेको र त्यो अवधिमा पनि खर्च गर्ने प्रवृत्ति एकदमै कम हुने गरेकोे छ । ‘नेपालमा कति पर्यटक भित्रिए भन्ने विषय गौण हुनुपर्छ,’ उनले भने, ‘पर्यटक कति दिन नेपाल बसे र दैनिक कति खर्च गरे भन्ने कुरा महङ्खवपूर्ण हुन्छ ।’
सन् २०१७ मा नेपालमा पर्यटकको औसत बसाइ १२.६ दिन रहेकामा २०१८ मा भने १२.४ दिनमा खुम्चिएको छ । त्यस्तै, प्रतिपर्यटकको औसत खर्च प्रतिदिन २०१७ मा ५४ अमेरिकी डलर रहेकामा २०१८ मा घटेर ४४ डलरमा सीमित भएको छ । पर्यटक बढेका कारण नेपालले सन् २०१७ मा पर्यटन क्षेत्रबाट ६ लाख ५८ हजार ९२ डलर प्राप्त गरेकामा २०१८ मा ७ लाख ३ हजार १ सय ७९ डलर भित्र्याएको छ ।
संविधान कार्यान्वयनपछिको पहिलो निर्वाचित सरकार गठन भएपछिको आर्थिक बर्ष २०७५/७६ को बजेटमार्फत २० लाख पर्यटक नेपालमा भिœयाउने योजनासहित सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले भ्रमण वर्ष सफल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । त्यसको जिम्मेवारी तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीले लिएका थिए । यद्यपि उनले भ्रमण वर्षमा १५ लाख पर्यटक ल्याउने योजना अघि सारेका थिए । अहिले भ्रमण वर्षलाई सफल बनाउने जिम्मेवारी योगेश भट्टराईको काँधमा सरेको छ ।
भ्रमण वर्ष शुभारम्भको दिन नजिकिँदै गर्दा पनि पर्यटन क्षेत्रमा सरकारले ठोस लगानी नगरेको मात्र नभई पर्यटन क्षेत्रलाई अपनत्व ग्रहण गर्न नसकेको भनेर आलोचना भइरहेको छ । यद्यपि सरकारले भ्रमण वर्षलाई सफल बनाउन आफ्ना कार्यक्रममा राखेको छ । उता, भ्रमण वर्षलाई सफल बनाउन निजी क्षेत्रबाट पनि उत्तिकै सक्रियता देखिएको छ । खासगरी भ्रमण वर्ष अवसरमा आउने पर्यटकलाई विभिन्न क्षेत्रमा छूट अफर घोषणा भइरहेका छन् भने नयाँ गन्तव्य खोजी, नयाँ होटल निर्माणमा तीव्रता र नयाँ क्षेत्रबाट हवाई सेवा सुरु गर्ने होडबाजी नै चलेको छ ।
भ्रमण वर्षको पूर्वसन्ध्यामा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले नयाँ गन्तव्यको रुपमा जापानमा उडान सुरु गरेको छ भने छिट्टै चीनमा उडान गर्ने तयारी गरिरहेको छ । सीधा उडान हँुदा हवाई भाडा सस्तो पर्ने र सहज हुने भएकाले धेरै पर्यटक जापानको ओसाका र चीनको गोन्जाओबाट नेपाल आउने अपेक्षा गरिएको नेवानिका कार्यकारी अध्यक्ष मदन खरेलको भनाइ छ । भ्रमण वर्षलाई लक्षित गरी सम्पूर्ण जहाजमा लोगो राखेर प्रचार–प्रसार सुरु गरिएको उनले बताए ।
नेपालबाटै हिमालय एयरलाइन्सले बंगलादेशको ढाका, मलेसियाको क्वालालम्पुर र चीनका दुई गन्तव्य बेइजिङ तथा गुइयाङबाट उडान गरिरहेको छ । नेपालसँग सीधा हवाई सम्पर्क ह“ुदा त्यहाँका पर्यटकलाई सहज हुन्छ । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ चीनको प्रमुख पर्यटकीय सहर गुइयाङमा प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटक पुग्ने भएकाले त्यस ठाउँबाट धेरै पर्यटक नेपाल आउने सम्भावना रहेको बताउ“छन् ।
भारतबाट पनि केही. एयरलाइन्सहरुले नेपालमा उडान थप गर्न खोजिरहेका छन् भने अन्य देशले पनि नेपालमा उडान गर्न चासो देखाइरहेका छन् । हवाई क्षेत्रमा प्रतिस्पर्धात्मक रुपमा उडान हुँदा यात्रुलाई भाडा सस्तो पर्न जान्छ । अहिले नेपालमा आउने जहाजले मह“गो भाडा लिने गरेको धेरै पर्यटकको गुनासो छ ।
नेपालमा दुई दर्जनभन्दा बढी मुलुकका २८ सहरबाट दैनिक औसतमा ५६ अन्तर्राष्ट्रिय उडान हुन्छ । विभिन्न मुलुकबाट आउने ती जहाजबाट पर्यटकीय सिजन (नोभेम्बर) मा औसत दैनिक ७ हजार ७ सय ७० यात्रु भित्रिने अध्यागमन विभागको तथ्यांक छ । तीमध्ये नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकको संख्या ३ हजार ६ सय छ । यसलाई आधार मान्दा नोभेम्बरमा १ लाख ८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
सोही अनुपातमा बाह्रै महिना विदेशी पर्यटक आगमन भए १३ लाख नेपाल आउने देखिन्छ । तर, सबै महिनामा त्यही अनुपातमा पर्यटक आउने भन्ने हुँदैन । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१९ को जनवरी देखि नोभेम्बरसम्म ९ लाख ७५ हजार ५ सय ५७ जना विदेशी नेपालमा आएका छन् । यो संख्या गत वर्षको सोही अवधिको भन्दा ७८ हजार १८ जना बढी हो । सन् २०१८ भरिमा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका थिए । यस आधारमा हेर्दा २० लाख पुग्न झन्डै दोब्बर संख्यामा पर्यटक आउनुपर्छ, जुन असम्भवजस्तै छ ।
नेपालमा हवाईजहाजमार्फत मात्र पर्यटक आउ“दैनन् । खुला सिमानाका कारण विभिन्न भारतका सीमा नाकाबाट नेपालमा पर्यटक आउने क्रम पनि उत्तिकै छ । सन् २०१८ मा स्थलमार्गबाट २ लाख ३ हजार ७ सय ८५ जना पर्यटक नेपाल प्रवेश गरेको बोर्डको तथ्यांक छ ।
नेपालमा अन्तर्राष्ट्रिय उडान थप र प्रभावकारी बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घन्टा उडान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको कार्यदलले पर्यटनमन्त्री योगेश भट्टराईलाई सुझाव दिइसकेको छ । तर विमानस्थललाई २४ सै घन्टा सञ्चालनमा ल्याउन अझै केही महिना लाग्नेछ । विमानस्थलको ‘रन वे’ को मर्मत भइरहेकाले वैशाखअघि त्यो सम्भव नभएको बताइन्छ ।
पर्यटनमन्त्री भट्टराई भ्रमण वर्ष चार कारणले मनाउन लागिएको दाबी गर्छन् । उनका अनुसार नेपालका गन्तव्यबारे अन्तर्राष्ट्रिय जगत्मा सुन्दर छवि प्रचारित गर्न, राष्ट्रिय रुपमा पर्यटनलाई प्राथमिकतामा रहेको आभास दिन, अन्य क्षेत्रका मुख्य सरोकारवाला निकायबीच समन्वय र सम्बन्ध सुदृढ गर्न र निजी क्षेत्रका सरोकारवालालाई उत्साहित र उत्प्रेरित गर्न भ्रमण वर्ष मनाउन लागिएको हो । गत आर्थिक वर्षमा पर्यटनबाट नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ३ प्रतिशत योगदान रहेको बताउ“दै मन्त्री भट्टराईले १५ औ“ पञ्चवर्षीय योजना सम्पन्न हुँदा (आव ०८०÷८१) सम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखिएको जानकारी दिए ।
उता, १५ औ“ पञ्चवर्षीय योजना (आव ०७६/७७–०८०/८१) मा नेपालमा विदेशी पर्यटक आगमन संख्या ३५ लाख पुर्याउने लक्ष्य राखिएको छ । विदेशी पर्यटकको सरदर बसाइ अवधि १५ दिन पु¥याउने र उनीहरुले सरदर दैनिक एक सय अमेरिकी डलर खर्च गराउने लक्ष्य राखिएको छ । योजना अवधिमा ४ लाख ९० हजार थप प्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुने र जीडीपीमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । भ्रमण वर्ष मनाउन लागिएको वर्ष २०२० चालू पञ्चवर्षीय योजनाको पहिलो वर्ष (आव ०७६/७७ को ६ महिना) र दोस्रो वर्ष (०७७/७८ को ६ महिना) पर्छ ।
भ्रमण वर्ष कार्यक्रम संयोजक वैद्यले सातै प्रदेशमा सात वटा लाइफटाइम एक्सपेरियन्स बनाउन लागिएको बताए । ‘प्रदेश सरकारलाई पनि एक–एक प्रदेशमा एक–एक लाइफटाइम एक्सपेरियन्स थप्न भनेका छौ“’, संयोजक वैद्यले भने, ‘हामीले १४ वटा लाइफटाइम एक्सपेरियन्स बनाउँछौ“ ।’ विभिन्न पर्यटकीय क्षेत्रमा कम्तीमा ७ दिन पर्यटक बस्ने वातावरण बनाउने काम भइरहेको बताउँदै वैद्यले त्यसका लागि सेभेन डेज इन पोखरा, सेभेन डेज इन लाङटाङ, सेभेन डेज इन पाटन, सेभेन डेज इन इलामजस्ता कार्यक्रम तय गरिएको जानकारी दिए । हरेक प्रदेशमा पर्यटकलाई आकर्षित गर्न विभिन्न क्षेत्रलाई समेटेर हरेक प्रदेशबाट तीन वटा ठाउँलाई आकर्षणको केन्द्रमा राखेर नयाँ ‘प्रडक्ट’ विकास गरिरहेको वैद्य सुनाउँछन् ।
सम्पदा पुनर्निर्माणमा ढिलाइ
भ्रमण वर्ष नजिकिँदा जाँदा सम्पदा पुनर्निर्माणमा भने ढिलाइ भइरहेको छ । ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त नेपालका अधिकांश सम्पदा अझै पुनर्निर्माण हुन सकेका छैनन् । नेपालमा आउने पर्यटकको विशेष रोजाइमा पर्ने सम्पदा नै पुनर्निर्माण नभएपछि भ्रमण वर्षमा आउने पर्यटकले भत्किएकै संरचना हेरेर फर्किने अवस्था छ । भूकम्पका कारण भत्किएका ८ सय ९१ सम्पदामध्ये हालसम्म ३ सय ८७ वटाको मात्र पुनर्निर्माण भएको छ ।
गौतमबुद्ध विमानस्थल नआउने
सन् २०१९ को डिसेम्बरभित्र सञ्चालनमा ल्याउने प्रचार गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै निर्माण पूरा नहुने निश्चितजस्तै छ । विमानस्थल चालू आर्थिक वर्षभित्र पनि सञ्चालनमा नआउने देखिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु चापका कारण हवाई ट्राफिक जाम बढेको भन्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा गौतमबुद्ध विमानस्थल निर्माणलाई तीव्रता दिएको थियो । तर, अन्तिम समय आएर निर्माण अवधि थप्ने गृहकार्यमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लागिपरेको छ । गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन विमानस्थलमा हवाई ट्राफिक जाम कम हुने अपेक्षा सरकारको छ ।
अलपत्र सय गन्तव्य
पर्यटकका लागि आवश्यक पूर्वधार निर्माण गर्न भन्दै एक वर्षअघि पर्यटन मन्त्रालयले १ सयवटा नयाँ गन्तव्य पहिचान गरेको थियो । ती गन्तव्यका लागि पहिलो चरणमा २५÷२५ लाखको दरले बजेट विनियोजन भए पनि तिनको विकास कहाँ र कसरी भएको छ भन्ने अझै यकिन विवरण मन्त्रालयसँग छैन । पर्यटन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले नयाँ गन्तव्यको अवस्थाबारे अनुगमन गर्न लागिएको बताए । ‘अहिले नै कति प्रतिशत काम भयो भन्न सकिने अवस्था छैन’, प्रवक्ता तामाङले भने, ‘प्रगति विवरण मागेर अनुगमनमा जान्छौ“ ।’
उता, एक सयवटा गन्तव्यलाई तत्कालै पूर्णता दिन नसकिएको भन्दै भ्रमण वर्ष सचिवालयले २५ गन्तव्य छुट्याएको थियो । त्यस गन्तव्यको विशेष प्रचार–प्रसार गर्ने भन्दै समिति लागिपरेको छ । तर, ती स्थानको पनि खासै प्रचारप्रसार हुन सकेको छैन ।
दशरथ रंगशालामा उद्घाटन
भ्रमण वर्षको उद्घाटन दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले जनवरी १ (पुस १५) मा गर्ने कार्यक्रम तय भएको छ । त्यस दिन बिहानदेखि विमानस्थलमा पर्यटकलाई बाजागाजासहित स्वागत गर्ने तयारी छ । यस्तै, सातै प्रदेश र जिल्लामा पनि भव्य रुपमा भ्रमण वर्षको उद्घाटन हुनेछ । सबै प्रदेशका राजधानी र जिल्ला सदरमुकाममा पर्यटकको स्वागत गर्ने कार्यक्रम छ । विदेशस्थित दूतावासमा भने जनवरी ७ (पुस २२) मा एकैसाथ भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम छ ।
सातै प्रदेशलाई झल्काउने ‘युनिक इन फ्रेम’ का आधारमा कार्यक्रम गरिने संयोजक सुरज वैद्यले बताए । लुम्बिनी, जानकी मन्दिर, मुक्तिनाथलगायत सातै प्रदेशका पवित्र धार्मिक स्थलबाट आगोको ज्वाला, ‘फ्लेम’ सातै प्रदेशका मुख्यमन्त्री वा मन्त्रीले राष्ट्रपतिलाई दिने र राष्ट्रपतिबाट उद्घाटन गर्ने तयारी छ । सोही बेला नेपाली संस्कृति झल्कने प्रस्तुति पनि हुनेछ । उद्घाटनमा पर्यटन व्यवसायी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्कुल, कलेज र विभिन्न संघसंस्थाको सहभागिता रहने जनाइएको छ ।
पर्यटकलाई छूटको वर्षा
भ्रमण वर्षमा नेपाल आउने पर्यटकका लागि पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाहरुले छूटको घोषणा गरेका छन् । होटल एसोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्म होटलका कोठामा ३० प्रतिशत र खानामा १५ प्रतिशत छूट दिने निर्णय गरिएको छ । हानमा पर्यटक स्तरदेखि पाँचतारेसम्म गरी करिब दुई हजार होटल आबद्ध छन् ।
त्यस्तै, होमस्टे एसोसिएसन नेपाल (होसान) ले खाना र आवासका लागि २० प्रतिशत छूट दिने निर्णय गरेको छ । होसानका अध्यक्ष केशवप्रसाद बडालले भ्रमण वर्षभर बाह्य पर्यटकले मात्रै नभएर आन्तरिक पर्यटकले पनि खान र बस्नका लागि २० प्रतिशत छूट पाउने बताए । ५७ जिल्लामा ६ सयभन्दा बढी होमस्टे सञ्चालनमा छन् ।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले पर्यटकबाट लिँदै आएको रकमको १५ प्रतिशत छूट दिने निर्णय गरेको छ । टान अध्यक्ष खुम सुवेदीले नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी ट्रेकिङमा जाने गरेकाले उपलब्ध गराइने छूटले पर्यटक आकर्षित हुने दाबी गरे । हाल टानमार्फत मात्रै नेपालमा वार्षिक ४ लाख पर्यटक आउने गरेका छन् ।
नेपाल ट्राभल एन्ड टुर्स एसोसिएसन (नाट्टा) ले आफ्नो सेवामा १० प्रतिशत छूट दिने घोषणा गरेको छ । नाट्टाका अध्यक्ष सीएन पाण्डेले ट्राभल एजेन्सीबाट लिने प्याकेजमा १० प्रतिशत छूट दिइने बताए ।
प्राथमिकतामा खेल पर्यटन
भ्रमण वर्ष सचिवालयले खेल पर्यटनलाई पनि प्राथमिकतामा राखेको छ । सन् २०२० को नोभम्बरभित्र विश्वकै लामो ‘रिभर ¥याफ्टिङ’ प्रतियोगिता नेपालकै कर्णालीमा आयोजना हुँदै छ । कर्णाली नदीमा सञ्चालन गरिने प्रतियोगिता राकम कर्णालीदेखि चिसापानीसम्मको २ सय ४२ किलोमिटर दूरीमा हुनेछ । यो कार्यक्रमले नेपाललाई विश्वस्तरमै ब्रान्डिङ गर्ने र यहा“को साहसिक पर्यटन प्रवद्र्धन गर्न थप सहयोग पुग्ने दाबी सचिवालयको छ । आगामी अगस्त अन्तिम साता नेपालमा अन्तर्राष्ट्रिय ‘एडभेन्चर टुरिजम मार्ट’ आयोजना गर्ने तयारी छ । र्याफ्टिङ, पर्वतारोहण, टेर्किङ, कायाकिङ, बन्जी, प्याराग्लाइडिङ, एभरेस्ट स्काई डाइभिङसहितका खेल गतिविधि भ्रमण वर्षमा आयोजना गरेर खेल पर्यटनका लागि पनि नेपाल उत्कृष्ट गन्तव्य भएको विश्व जगत्लाई जानकारी दिइने संयोजक वैद्यले बताए ।
राजनीतिक दलको प्रतिबद्धता
भ्रमण वर्षलाई सफल बनाउन सबै राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका छन् । भ्रमण वर्षका कार्यक्रम सञ्चालन गर्न आवश्यक स्वयंसेवक परिचालन गर्न राजनीतिक दलहरु सक्रिय रुपले सहभागी हुने बताइएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आफ्नो पार्टीका तर्फबाट भ्रमण वर्षलाई सहयोग हुने बताए ।
नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारमन्त्री मोहन बस्नेतले भ्रातृसंगठनलाई स्वयंसेवकको रुपमा परिचालन गरिने जानकारी दिए । त्यस्तै, राष्ट्रिय जनता पार्टी (राजपा) का नेता लक्ष्मणलाल कर्णले पनि पर्यटक भनेको पहाडमा मात्र घुम्ने भन्ने प्रवृत्ति अन्त्य गर्दै तराईमा पनि घुम्न जाने वातावरण बन्दै गएको बताए । राजपाले भ्रमण वर्षको लक्ष्य पूरा गर्न राजनीतिक रुपले कुनै कसर बाँकी नराख्ने बताउँदै कर्णले मधेसले भने ‘भिजिट मधेस’ को अभियान सुरु गरेको दाबी गरे ।
प्रदेशको तयारी : तीन प्रदेश तीव्र, चार प्रदेश सुस्त
भ्रमण वर्ष सुरु हुन अब १५ दिन मात्र बाँकी छ । तर, कतिपय प्रदेशहरु भ्रमण वर्षका कार्यक्रमप्रति खासै सचेत देखिँदैनन् । प्रदेश नम्बर १, ३ र गण्डकी प्रदेशमा भ्रमण वर्षको तीव्र प्रचार र तयारी भए पनि प्रदेश २, ५, कर्णाली र सुदूपश्चिम भने सुस्त देखिएका छन् । प्रदेश १, ३ र गण्डकीले आफ्नो क्षेत्रभित्रका पर्यटकीय स्थलको प्रचार गर्ने कार्यक्रम तय गरिसकेका छन् ।
प्रदेश १ को पर्यटन मन्त्रालयका सूचना अधिकारी अनिरुद्धकुमार साहले १ लाख पर्यटक भिœयाउने योजनाका साथ तयारी भएको जानकारी दिए । जनवरी १ मा विराटनगरमा भव्य कार्यक्रम गरिने र विमानस्थलबाट पर्यटकलाई स्वागत गर्ने गरी कार्यक्रम तय भएको उनको भनाइ छ । प्रदेश १ ले पर्यटकलाई आवश्यक सूचना एवं जानकारी प्रदान गर्ने उद्देश्यले प्रदेश प्रवेश गर्ने प्रमुख सीमा नाका र मुख्य विमानस्थलमा ‘डिजिटिल डिस्प्ले बोर्ड’ को स्थापना गर्न लागेको जानकारी दिएको छ ।
त्यस्तै, निजी क्षेत्र, पर्यटन व्यवसायी र सरोकारवाला निकायसँगको सहकार्यमा पर्यटकीय मेला–महोत्सव आयोजना गर्ने कार्यक्रम छ । युवा लक्षित साहसिक पर्यटनको गन्तव्य बनाउन माउन्टेन बाइक, हाइकिङ र र्याफ्टिङजस्ता साहसिक पर्यटनका कार्यक्रम सञ्चालन हुनेछन् ।
प्रदेश २ का पर्यटन मन्त्रालयका प्रवक्ता जगननाथप्रसाद जयसवालले भ्रमण वर्षको कार्यक्रमबारे छलफल भइरहेको जानकारी दिए । तर यही कार्यक्रम गर्ने भन्ने अझै नटुंगिएको उनले बताए ।
उता, प्रदेश ३ का पर्यटनमन्त्री अरुण बराल भ्रमण वर्षको तयारी तीव्र पारिएको बताउ“छन् । भ्रमण वर्षलाई लक्षित गरी संघीय राजधानीसहित प्रदेशका सबै जिल्लामा तयारी पूरा भएको उनले जनाए । भ्रमण वर्षलाई नै लक्षित गरेर प्रदेश ३ ले ६८ वटा निर्वाचन क्षेत्रमा विभिन्न समय विभिन्न किसिमका मेला–महोत्सव आयोजना गरिने बरालले बताए ।
त्यस्तै, गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले सन् २०१९ देखि २०२२ लाई ‘गण्डकी पर्यटन वर्ष’ को रुपमा मनाइरहेको जानकारी दिए । गण्डकीले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष, सन् २०२० लाई छिमेकी भ्रमण वर्ष, सन् २०२१ लाई पूर्वाधार तयारी वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय भ्रमण वर्ष मनाउने कार्ययोजना अघि सारेको छ । गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा लागिरहेकाले भ्रमण वर्ष २०२० मा आउने पर्यकटलाई भव्य स्वागतको तयारी भइरहेको लम्सालले बताए ।
प्रदेश ५ का पर्यटनमन्त्री लीला घिमिरेले लुम्बिनीमा बुद्ध जयन्ती अवसरमा वार्षिक रुपमा गर्दै आएको कार्यक्रमलाई प्राथमिकता दिइएको बताए । जनवरी १ मा उद्घाटन गर्ने कार्यक्रमबाहेक अन्य तय भइनसकेको उनको भनाइ छ ।
उता, कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्द सिंह बुढाले १ वर्षमा १ लाख पर्यटक भिœयाउने योजनाका साथ तयारी थालिएको बताउ“छन् । पर्यटकीय दृष्टिकोणले कर्णाली प्रदेश उर्बर रहेको बताउ“दै बुढाले ५ वटा नयाँ पर्यटन पदमार्ग निर्माण गरिरहेको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो प्रदेशमा १ लाख पर्यटक भिœयाउने योजनाका साथ कार्यक्रम तय गरिएको बताए । धार्मिक एवं प्राकृतिक सुन्दरताले धनी सुदूरपश्चिम प्रदेशमा पर्यटकलाई नै लक्षित गरी ५ वटा नयाँ करिडोर निर्माण भइरहेको मुख्यमन्त्री भट्टको भनाइ छ ।
पर्यटकको परिभाषा
व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । विश्व पर्यटन संगठनको परिभाषाअनुसार पर्यटक भन्नाले आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस घन्टाभन्दा बढी तर एक क्रमागत वर्षभन्दा कम समय मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयस्रोत हुने क्रियाकलापबाहेक अरु उद्देश्यका लागि यात्रा गरी बस्ने मान्छेलाई जनाउँछ । विश्वमा पर्यटन फुर्सदको समयलाई सदुपयोग गरी मनोरञ्जनात्मक क्रियाकलाप गर्ने लोकप्रिय कार्यक्रमभित्र पर्छ ।
‘लाइफ टाइम एक्सपेरियन्स’
पर्यटकले जहिले पनि आरामदायी र विलासी (कम्फर्ट एन्ड लक्जरियस) भन्दा पनि आफूले जीवनमा कहिल्यै अनुभूत नगरेको अनुभव गर्न चाहन्छन् । त्यसैले पर्यटकले जहिले पनि नयाँ र कठिन गन्तव्य खोजिरहेका हुन्छन् । एउटा १५ मिनेटको उडान अर्थात् हेलिकोप्टर चार्टर गरेर घुम्ने हो भने तराईका आ“प खानेदेखि लिएर हिमालको स्याउ खाने ठाउँसम्म पर्यटक पुग्न सक्छन् । अर्को, हात्ती हेर्नेदेखि हिमचितुवा हेर्ने ठाउँसम्म पुग्न सकिन्छ । ३५÷४० डिग्रीको तापक्रमबाट माइनस ३५÷४० डिग्री चिसो भएको ठाउँसम्म पर्यटक पुग्न सक्छन् । यी सबै प्रकृतिका स्थान नेपालमै पाइन्छन् ।
विश्वको होचो स्थानदेखि अग्लो ठाउँ हेर्न पाइने गन्तव्य पनि नेपालमै छ । संसारकै उच्च ठाउँमा भएका सुन्दर पहाड तथा लेक नेपालमै छन् । यो पर्यटकका लागि लाइफ टाइम एक्सपेसियन्स हुन सक्छ । थोरै क्षेत्रफलमा रहेर पनि धेरै छोटाछोटा दूरी, नयाँ–नयाँ प्राकृतिक सुन्दरता, ‘वाइडलाइफ’ गतिविधि पाइने संसारमा बिरलै गन्तव्यमध्ये नेपाल प्रमुख हो । छोटो समयमा धेरेभन्दा धेरै फरक दृश्य हेर्न र अनुभूति गर्न पाइन्छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार नेपालको यस्तो वस्तुस्थितिलाई हेरेर नै लाइफ टाइम एक्सपेरियन्स मूल नारा तय गरिएको हो ।
४० देशका पर्यटनमन्त्रीलाई निम्तो
पर्यटनमन्त्रीमा नियुक्त हुनासाथ पर्यटनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षको उद्घाटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी चिनफिङलगायतलाई पनि ल्याइने बताएका थिए । तर, मन्त्रीको त्यो भनाइलाई सामाजिक सञ्जालमा बकबास र हावादारी गफ भनेर उडाइएपछि उनले सम्बन्धित देशका कार्यक्रममा सहभागी गराउन सकिने दाबी गरेका थिए । तर, परिस्थिति त्यस्तो अहिलेसम्म देखिएको छैन । यद्यपि भ्रमण वर्षको उद्घाटन कार्यक्रममा विभिन्न ४० देशका पर्यटनमन्त्रीलाई निम्तो पठाइएको पर्यटन बोर्डले जनाएको छ । तर, कुन–कुन मुलुकका पर्यटनमन्त्रीलाई निम्तो पठाइएको भन्नेबारे बोर्डले विस्तृत विवरण दिन मानेको छैन ।
रवीन्द्रको त्यो १५ लाख पर्यटकको लक्ष्य
स्व. पर्यटनमन्त्री रवीन्द्र अधिकारीले भ्रमण वर्ष २०२० मा १५ लाख पर्यटक नेपालमा ल्याउने घोषणा गरेका थिए । पर्यटनमन्त्रीको रुपमा सपथ लिएलगत्तै उनले १५ लाख पर्यटकको योजना अघि सारेका थिए । तर, त्यसको केही समयपछि बसेको मन्त्रिपरिषद् बैठकले उनको योजनालाई बढाएर २० लाख पर्यटक भिœयाउने निर्णयसँगै भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो ।
(क्यापिटल म्यागजिन पुष अंकबाट)