सुनसरी । सुनसरीको दुहवी नगरपालिका-९ छाताबेलीका ११ घरपरिवार आगलागीपीडितलाई राहत वितरण गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालयका सचिव दिनेश भट्टराई समेतको उपस्थितीमा एक कार्यक्रमबीच आगलागी पीडित परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेकी छन्।
त्यसैगरी इटहरी नगरपालिका-७ रामजानकी टोल सिसौना निवासी आगलागी पीडित इन्द्रकुमार खड्काको घरमै गएर राहत सामग्री वितरण गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्ले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास केन्द्र, दीनेश चौधरी स्मृति प्रतिष्ठान र लेटर डे सेन्ट च्यारिटिजसँगको समन्वयमा उक्त राहत हस्तान्तरण गरिएको हो।
प्रति परिवारका दरले २५ किलो चामल, पाँच किलो दाल, तीन किलो नुन, दुई सेट ब्ल्याङ्केट, एक सेट स्ट्याण्ड फ्यान, स्टेशनरी र पेस एक सेट, एक बण्डल जस्ता पाता, एक सेट डिग्निटी किट, एक सेट झुल, किचनका सामग्री र डसना सेट वितरण गरिएको हो।
यसैगरी इटहरी नगरपालिका-७ रामजानकी टोल सिसौना निवासी आगलागी पीडित इन्द्रकुमार खड्काको घरमै पुगेर मन्त्री चौधरीले राहत सामग्री हस्तान्तरण गरेकी छन्। खड्काको परिवारलाई सहयोग स्वरूप १२ वटा सिमेन्टको पिलर, १० बोरा सिमेन्ट, ३ ट्याक्टर बालुवा र गिट्टीलगायत सामग्री सहयोग गरिएको हो। इटहरी ७ का वडा सदस्य दीपक घिमिरेले सहयोग व्यवस्थापन गरेका थिए।
गत वैशाख २१ गते घरमा कोही नभएको दिउँसोको समयमा विद्युत सर्ट भएर खड्काको घरमा आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको क्षती भएको थियो।