काठमाडौं- नेपाली बजारमा सुनको मूल्य पछिल्ला दिनमा निरन्तर उकालो लागिरहेको छ।
साताको पहिलो दिन आइतबार १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यले सोमबार पुन: नयाँ रेकर्ड कायम गरेको हो।
छापावाला सुन ९ सय रुपैयाँले बढेर आज प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबाइ भइरहेको छ। आइतबार प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आज बढेको मूल्य हालसम्मकै उच्च हो।
यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार ५० रुपैयाँ कायम गरिएको छ।
चाँदीको मूल्यमा पनि ३० रुपैयाँले वृद्धि भइ आज प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ।
गतसाताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको भए पनि आइतबारबाट पुन: सुनको मूल्य उकालो लाग्न थालेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनमा शुक्रबार सुनको मूल्य ७ सय रुपैयाँले घटेको थियो।
गत साता बिहीबार पनि सुनको मूल्यले बुधबारको तुलनामा १६ सयले बढेर नयाँ कीर्तिमान कायम गरेको थियो। बिहीबारका लागि छापावाल सुनको मूल्य १ लाख ४० हजार रुपैयाँ तोकिएको थियो।
गत साता बुधबार सुनको मूल्य मंगलबारको तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ प्रतितोला र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँ तोकिएको थियो।
गत साता बुधबार यता निरन्तर उकालो लागि रहेको सुनको मूल्य गत शुक्रबार घटे पनि पुन: नयाँ रेकर्ड कायम गर्दै अगाडि बढिरहेको हो।
किन बढ्दै छ सुनको मूल्य?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य अन्तर्राष्ट्रिय घटनाक्रमको प्रभावले नेपालमा सुनचाँदीको मूल्य बढिरहेको बताउँछन्। ती घटनक्रमले नेपालमा सुनको मूल्य बढ्न सक्ने प्रक्षेपण आफूहरूले पहिले नै गरेको र अहिले सोही अनुरुप सुनको मूल्य बढ्न थालेको उनको भनाइ छ।
नेपालमा निरन्तर सुनको मूल्य बढ्दा ग्राहकहरू किन्ने नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ। अझैँ पनि मूल्य बढ्न सक्ने र कतिसम्म पुग्न सक्छ भन्ने सकिने अवस्था नरहेको उनले बताए।