काठमाडौं। सेयर बजारमा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको सकरात्मक प्रभाव परेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष (२०८०/८१) को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको थियो। समीक्षाको प्रभावस्वरुप आइतबार कारोबार सुरु भएको एक घण्टा नबित्दै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५ अंकसम्मले वृद्धि भएको छ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार २०१८.७६ को बिन्दुमा बन्द भएको नेप्से आइतबार ११ बजेर ५० मिनेटसम्म ३५.०६ अंकले बढेर २०५४.३६ को बिन्दुम्म पुगेको छ। कारोबारको सुरुवाती चरणबाट उकालो लागेको नेप्से २०२८.०७ को बिन्दुसम्म घटेर पुनः उकालो लागेको छ।
समाचार तयार पार्दासम्म नेप्समा कुल १ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने १५५ कम्पनीको सेयर मूल्य बढ्दा ८५ घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ। हालसम्म आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागको छ भने सामुदायीक लघुवित्त र नेरुदे मिरमिरे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
कारोबारको करिब एक घण्टासम्ममा नेप्सेमा म्युचल फन्ड बाहेक सबै समुहको सेयर मूल्य वृद्धि भएको छ। जसमा निर्जीवन बिमा कम्पनी समुहको सेयर मूल्य ३.८१ प्रतिशत र बिमा कम्पनी समुहको सेयर मूल्य ३.३५ प्रतिशतले वृद्धि भइसकेको छ। यस्तै, बैंकिङ समुहमा पनि १.३० प्रतिशतको वृद्धि भएको छ।
मौद्रिक नीति समिक्षाले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गर्ने, बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने विषय समेटेको छ।
यस्तै, बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरिने र घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने पनि मौद्रिक समिक्षामा उल्लेख छ। यी व्यवस्थाले सेयर बजारमा पैसा घुमेर आउने र बजार चलायमान हुने अपेक्षा गरिएको छ।