काठमाडौं- अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ र चितवनका दुर्गम वस्तीमा विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुगेको छ। धादिङको गजुरी, बेनीघाट रोराङ नगरपालिका र चितवनको इच्छाकामना नगरपालिकाको विकट चेपाङ वस्तीमा राष्ट्रिय प्रसारण लाइन पुगेको हो। नेपाल विद्युत प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटरसमेत उपलब्ध गराएको छ।
बिजुलीको पहुँच विस्तार गर्न प्राधिकरणले मिटर धान्न नसक्ने गरी पिछडिएका तथा आर्थिकरूपले विपन्न परिवारलाई निःशुल्क मिटर वितरण गर्दै आएको छ। प्राधिकरणले देशभरका आफ्ना वितरण केन्द्रमार्फत देशका गरिव वर्गलाई निःशुल्क मिटर उपलब्ध गराउँदै आएको हो। आर्थिक अवस्था कमजोर भएका जनताले मापदण्डअनुसार एकल फेज इनर्जी मिटर, ५.३० एम्पीयर क्षमताको एमसीबी बक्स निःशुल्क पाउनेछन्।
चितवनको इच्छाकामना नगरपालिका–१ कलिङ्मामा शनिबार आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नगरपालिकाले पूर्ण विद्युतीकरण गरेको घोषणा गरे।
प्राधिकरणले चालु आर्थिक वर्षमा इच्छाकामना नगरपालिकाका-७ को विद्युतीकरणमा मात्रै १५ करोडभन्दा बढी खर्च गरेको छ।
कार्यकारी निर्देशक घिसिङ्लेले सरकारले उपलब्ध गराएको बजेट, प्राधिकरणले आर्जन गरेको नाफा र अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट सहुलियत ऋण लिएर मुलुकमा पूर्ण विद्युतीकरणको काम भइरहेको बताए।
‘७/८ वर्षअघि राष्ट्रिय प्रणालीमा करिव ६० प्रतिशत जनताको मात्रै विद्युत् पहुँच थियो। जहाँ विद्युत् उपलब्ध थियो त्यहाँ लोडसेडिङ थियो भने अन्य ठाउँमा अन्धकार थियो। भर्खरै लोडसेडिङको अन्त्य भएर इतिहास बनेको छ। राष्ट्रिय प्रणालीमा ९५ प्रतिशत जनताको पहुँचमा विद्युतीकरणको ठेक्का सम्झौता भइसकेको र काम भइरहेको छ,' घिसिङले भने। विद्युतीय चुलो प्रयोग गर्दै ज्ञासलाई विस्थापित गर्नसमेत घिसिङको आग्रह छ।
नगरपालिकाका अध्यक्ष दानबहादुर गुरुङले एक वर्षमा नगरपालिकामा विभिन्न स्रोतबाट अपेक्षाभन्दा बढी बजेट आएको र त्यसले विद्युत विस्तारको काम सम्भव भएको बताए।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालेले विद्युतको सुरक्षित प्रयोग र समयमै महसुल तिर्न आग्रह गरे। नगरपालिकाकी उपाध्यक्ष माया सिलवाल र वडा नम्बर १ का अध्यक्ष सन्तबहादुर मगराले नगरपालिकाको सक्रियताले अध्यारोमा बस्नु पर्ने जनताका दु:ख हटेको भन्दै खु्सी व्यक्त गरे।