काठमाडौं। पारामाउन्ट मोटर्सले भित्र्याएको एमजी–४ को ग्राउन्ड क्लियरेन्स नेपालमा १६५ एमएम छ। बाहिर भने यसै गाडीको ग्राउन्ड क्लियरेन्स १४७ एमएम छ। अर्थात्, नेपालमा आउँदा एमजी–४ गाडीको ग्राउन्ड क्लियरेन्स १८ एमएमले बढाएर देखाइएका छ।
एमडब्लु वृद्धिले नेपाल भित्र्याएको सेरेस–३ को ग्राउन्ड क्लियरेन्स पनि नेपालमा परिवर्तन गरेर देखाइएको छ। सेरेस–३ को ग्राउन्ड क्लियरेन्स नेपालमा १९० एमएम छ। तर, नेपाल बाहिर भने सेरेस–३ को ग्राउन्ड क्लियरेन्स १८० एमएम छ। बाहिरको तुलनामा नेपालमा यस गाडीको ग्राउन्ड क्लियरेन्स १० एमएमले बढाएर देखाइएको छ।
नेपालका लागि स्काईवेलको आधिकारिक वितरक जी मोटर्स प्रालिले नेपाल भित्र्याएको स्काइवेल इटी–५ को ग्राउन्ड क्लियरेन्स पनि यहाँ आइपुग्दा परिवर्तन गराएर देखाइएको छ। चिनियाँ ब्रान्ड स्काईवेल इटी–५ को ग्राउन्ड क्लियरेन्स नेपालमा १९७ एमएम छ। चीनमा भने यही गाडीको ग्राउन्ड क्लियरेन्स १५९ एमएम छ। चीनको तुलनामा नेपालमा यस गाडीको ग्राउन्ड क्लियरेन्स ३८ एमएमले बढी देखाइएको छ।
यस्तै, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल ल्याएको हुन्डाई कोना जीएलको ग्राउन्ड क्लियरेन्स पनि नेपाल र बाहिरी मुलुकमा फरक छ। भारतमा हुन्डाई कोना जीएलको ग्राउन्ड क्लियरेन्स १७२ एमएम हँुदा नेपालमा भने १६० एमएम छ। यो गाडीको ग्राउन्ड क्लियरेन्स भारतको तुलनामा नेपालमा १२ एमएमले कम रहेको कम्पनीले उल्लेख गरेको छ।
यी केही प्रतिनिधि उदाहरण मात्रै हुन्। धेरै गाडीको ग्राउन्ड क्लियरेन्स नेपाल आइपुग्दा परिवर्तन भएको देखिन्छ। गाडीको ग्राउन्ड क्लियरेन्स बढाएर वा घटाएर देखाए पनि वितरकले यसको जानकारी ग्राहकलाई दिने गरेका छैनन्। विशेषगरी विद्युतीय गाडीमा ग्राउन्ड क्लियरेन्स परिवर्तन गरेर देखाइने गरेको छ। अधिंकाश अटोब्रान्डले बाहिरको तुलनामा नेपालमा ग्राउन्ड क्लियरेन्स बढी देखाउने गरेका हुन्।
तर, एउटै गाडीको ग्राउन्ड क्लियरेन्स बाहिरी मुलुक र नेपालमा किन भिन्नता हुन्छ भन्ने विषयमा अटो व्यवसायी नै फरक–फरक तर्क गर्छन्। अटो व्यवसायी जीवनजंग शाहीका अनुसार ओल्डसिज मार्केटका लागि आउने गाडीमा १८ देखि १९ इन्चको टायर राखिन्छ। ‘चीनमा टायरको ह्विलसाइज १८ इन्चको हुन्छ भने नेपालमा ल्याउँदा बढाएर १९ इन्च ह्विलको राखिन्छ,’ शाही भन्छन्, ‘यसले गाडी क्लियरेन्समा भिन्नता ल्याउँछ।’
बाहिरी मुलुकमा ग्राउन्ड क्लियरेन्सको धेरै मतलब गरिँदैन। तर, नेपालमा यसलाई निकै महत्त्वपूर्ण मानिन्छ। विद्युतीय गाडी खरिदकर्ताको पहिलो चासोको विषय नै ग्राउन्ड क्लियरेन्स र गाडीको रेन्ज हुने गरेको छ। हुन त, नेपालको सडक अवस्थाले गर्दा पनि ग्राहकको चासोमा ग्राउन्ड क्लियरेन्स परेको हो।
छिमकी चीनमा पनि ग्राउन्ड क्लियरेन्सलाई प्रमुख विषयको रुपमा हेरिँदैन। निर्माण गरिएका सबै गाडी त्यहाँको सडकमा सञ्चालनका लागि उपयुक्त हुन्छन्। यसर्थ, त्यहाँका अटो ब्रान्डले ग्राउन्ड क्लियरेन्स सही नराख्ने गरेका छन्। अर्थात्, विभिन्न मुलुकमा ग्राउन्ड क्लियरेन्स मापन पनि फरक–फरक ढंग र प्रविधिको प्रयोगमार्फत् हुने गरेकाले पनि नेपाल र बाहिरी मुलुकमा फरक पर्न गएको अटो व्यवसायी बताउँछन्।
चीनमा ग्राउन्ड क्लियरेन्स मापन गर्दा गाडीमा मानिस राखेर अर्थात् लोड भएपछि मात्रै गरिन्छ। तर, नेपालमा मानिस नराखी ग्राउन्ड क्लियरेन्स मापन गरिन्छ। यसले गर्दा पनि नेपाल र बाहिरी मुलुकमा एउटै गाडीको ग्राउन्ड क्लियरेन्स फरक–फरक हुने गरेको पाइन्छ। अर्का अटो व्यवसायी अनुपकुमार बराल हरेक ठाउँमा त्यहाँको आवश्यक्ताअनुसार ग्राउन्ड क्लियरेन्स निर्धारण गरिने हुनाले फरक–फरक हुने बताउँछन्।
‘हरेक मुलुकमा त्यहाँको आवश्यक्ताअनुसार गाडीको ग्राउन्ड क्लियरेन्स तयार गरिन्छ। नेपालमा पनि यहिँको आवश्यक्ताअनुसारको ग्राउन्ड क्लियरेन्स तयार गरेर पठाइएको हुन्छ,’ बराल भन्छन्, ‘हाम्रोमा पठाउने गाडी म्यानुफ्याक्चरहरूले अनुकूल पनि गरिदिन्छन्।’ ग्राउन्ड क्लियरेन्स, पावर, पिकअप त्यसको मोटर, ब्याट्री र पावरजस्ता सामान्य कुरा ‘म्यानुपुलेट’ नहुने बरालको दाबी छ।
‘सुविधासम्पन्न मुलुकमा गाडी पठाउँदा गाडी साइज ठूलो बनाएर, ग्राउन्ड क्लियरेन्स कम गरेर पठाउने काम हुन्छ,’ व्यवसायी बराल भन्छन्, ‘म्यानुफ्याक्चरिङ गर्दा नै कुन मुलुकमा कति ग्राउन्ड क्लियरेन्सको गाडी उपयुक्त हुन्छ भनेर देशअनुसार छुट्टै बनाएका हुन सक्छन्।’
बाहिरी मुलुकमा ग्राउन्ड क्लियरेन्सको धेरै मतलब गरिँदैन। तर, नेपालमा यसलाई निकै महत्त्वपूर्ण मानिन्छ। विद्युतीय गाडी खरिदकर्ताको पहिलो चासोको विषय नै ग्राउन्ड क्लियरेन्स र गाडीको रेन्ज हुने गरेको छ।
अर्का अटो व्यवसायी आकाश गोल्छा नेपालको आवश्यक्ताअनुसार आयात गरिएकाले ग्राउन्ड क्लियरेन्स फरक पर्न गएको हुन सक्ने तर्क गर्छन्। ‘नेपालका व्यवसायीले यहाँको आवश्यक्ताअनुसार मगाउँछन् र सोहीअनुसार आउँछ,’ गोल्छा भन्छन्, ‘नेपालका बाटोघाटो राम्रो छैन। त्यसकारण बढी ग्राउन्ड क्लियरेन्स भएको गाडी मगाएका हुन सक्छन्।’