काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जतिपल्ट लिए पनि विश्वासको मत पाइरहने दाबी गरेका छन्। उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रीबाट राजीनामा दिन बाध्य पारेपछि जसपाले समर्थन फिर्ता लिसँगै प्रधानन्त्रीले चौथो पटक पनि विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका हुन्।
शनिबार नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा विश्वासको मतबारे चिन्ता नलिन नेता, कार्यकर्तालाई उनले आश्वस्त पारे।
उनले भने, ‘७ जेटमा विश्वासको मत लिँदै छु। यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दै छु भनेर कांग्रेसको एक नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनुपरेकाले यो पाँचौं, छैटौं पटक लिनुपर्नेजस्तो देखिन्छ।। तर, जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुनेमा विश्वस्त छु।
यसअघि प्रधानमन्त्री नियुक्ति हुँदा, एमाले सत्ता गठबन्धन हटाइँदा र कांग्रेसले सत्ता गठबन्धन छाड्दा गरी तीन पटक विश्वासको मत लिइसकेका छन्।
३१ वैशाखमा जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।
प्रधानमन्त्रीले आइतबार विहानसम्म संसद सहज हुने विश्वास रहेको बताए। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग निरन्तर छलफल गरिरहेकाले संसद् अवरोध हट्ने विश्वास उनले व्यक्त गरे।