काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय वातावरण बचाउन र खर्च कम गर्न पनि नेपालमा विद्युतीय सवारीसाधन प्रयोग बढाउन आवश्यक भएको बताएका छन्। शुक्रबार स्पार्क कारले आयोजना गरेको ‘ग्रीन मोबिलिटी एन्ड टुरिजम प्रोस्पेरिटी’बारेको छलफलमा मन्त्री बस्नेतले यस्तो बताएका हुन्।
आगामी दिनमा विद्युतीय सवारीसाधन प्रयोगलाई बढाउने नीतिका लागि सरकारसँग पहल गर्ने उनको भनाइ छ। नेपालीले पर्यावरणलाई स्वच्छ बनाउन मात्र नभई उपभोक्ताले पेट्रोल तथा डिजेलमा गरिरहने खर्च कटौती गर्नका लागि पनि विद्युतीय सवारीसाधन प्रयोग बढाउनुपर्ने उनले बताए। उनले भने, ‘बिजुली गाडी पेट्रोल किनेर चलाउनुभन्दा स्वदेशकै विद्युत् प्रयोग गरेर गाडी चलाउन पाउँदा लागत पनि कम लाग्ने अवस्था आउँछ।’
आगामी १२ वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादनको लक्ष्यसहित अहिले नेपालमा ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना बनाइएको उनले जानकारी दिए। यसका लागि भारवहन, प्रसारण लाइन, वितरण प्रणालीलगायत आवश्यक पर्ने पूर्वाधारसमेत बनाउने लक्ष्य लिइएकाले आगामी वर्षमा विद्युतीय सवारीसाधनको प्रयोग झनै बढ्ने उनले विश्वास व्यक्त गरे।
बस्नेतले विद्युत् उपयोग कसरी गर्ने वा उपयोग क्षमता बढाउनेतर्फ पनि अगाडि बढ्नेतर्फ पनि योजना बनाइएको उल्लेख गरे। उनले भने, ‘१२ वर्षमा आर्थिक वृद्धिददर औषत ७ प्रतिशत हाराहारी रहने अवस्था रहँदा १४ हजार मेगावाट विद्युत् खपत क्षमता हुन्छ।’
उनले अहिले अहिले विद्युतीय सवारीसाधनलाई आवश्यक चार्जिङ स्टेसन विस्तार गर्ने काम व्यापक रुपमा भइरहेको सुनाए । उनले भने, ‘कहिलेकाहीँ अन्डा पहिले कि चल्ला पहिलोजस्तो भयो। तर, अब गाडी र चार्जिङ स्टेसन सँगसँगै जान्छ।’ अहिले ५१ वटा चार्जिङ स्टेसन विद्युत प्राधिकरणले बनाइरहेको मन्त्री बस्नेतले बताए।
कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले अहिले नेपालमा पूर्वाधारमा सोचेजस्तो राम्रो अवस्था विकास हुन नसक्दा पर्यटक आवागमन बढाउन नसकिएको धारणा व्यक्त गरे। ‘पर्यटन पूर्वाधारका निम्ति जति लगानी गर्नुपर्ने थियो, त्यसकारण पर्यटनमैत्री वातावरण बनाउन सकिएको छैन,’ उनले भने, ‘नयाँ पर्यटकीय गन्तव्य बनाउँदै पूर्वाधार वातावरणमैत्री बनाउनेमा जोड दिने मन्त्रालयको नीति छ।’
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ग्रीन इनर्जीतर्फ मात्र नभई ग्रीन बैंकिङ तर्फ समेत नेपालमा अभ्यास भइरहेको बताए। राष्ट्र बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (इएसआरएम) गाइडलाइन बैंक वित्तीय संस्थालाई जारी गरेको गभर्नर अधिकारीले बताए। उनले भने,‘लगानी गर्दा इआईए रिपोर्ट नहेरीकन उनीहरूले लगानी गर्दैनन्। यसले वातावरणलाई ठूलो प्राथमिकतामा राखेको देखाउँछ।’
अहिले मुलुकमा नीति राम्रा भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको अधिकारीको भनाइ छ। शुक्रबार जारी मौद्रिक नीतिको तेस्रो त्रैमासको समिक्षामार्फत विद्युतीय गाडी खरिदमा लिने कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर शतप्रतिशत कायम गरिएको अधिकारीले जानकारी दिए। यसले विद्युतीय गाडी आयातमा झनै सहयोग मिल्ने गभर्नर अधिकारीको विश्वास छ।
वातावरणविद् भूषण तुलाधरले अहिले विश्वमा तापक्रम महिनैपिच्छे वृद्धि भई भयावह अवस्था सिर्जना भइरहेको बताए। पछिल्लो समय नेपालमा भएको आगलागी समेत जलवायु परिवर्तनपछिको खडेरीको असर भएको उनको भनाइ छ।
.केही दिनअघि मात्रै नेपालको विश्वकै सबैभन्दा बढी प्रदूषित सहर हुनुमा यसको मुख्य कारण पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनबाट निष्कने धुवाँ र अव्यवस्थित सहरीकरण भएकाले राज्यले यसतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ।
छलफलमा साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साहिल श्रेष्ठले पछिल्लो समय विद्युतीय सवारीसाधन निकै भरपर्दो र किफायती रुपमा रहेको बताए । उनले भने, ‘विद्युतीय सवारी साधन प्रयोग बढाउनु पर्यावरणका लागि पनि राम्रो हो। विद्युतीय सवारीको ब्याट्रीको आयु सामान्यतया २० वर्षको हुने र खर्चका हिसाबले सस्तो छ।’
कार्यक्रममा स्पार्क ग्रुपका अध्यक्ष रोशन घिमिरेले पर्यावरण जोगाउँदै पर्यटन प्रवर्द्धनका लागि पहल गर्न कार्यक्रम आयोजना गरिएको बताए। उनले सबै क्षेत्रले पर्यावरण जोगाउनका लागि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।
घिमिरेले भने, ‘जुन हिसाबमा लग्जरी होटल र रिसोर्ट बढेका छन्, त्योअनुसार पर्यटकलाई सेवा दिने लग्जरी भेहिकल अभाव छ। त्यसका लागि सरकारले नीतिगत सहयोग गरे त्यसअनुसारको सवारी व्यवस्थापनमा निजी क्षेत्र तयार छ।’
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारले आयोजना गरेको कार्यक्रमलाई बिवाइडी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, प्रभु बैंक तथा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले सहयोग गरेका थिए।
कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवाला, सरकारी, गैरसरकारी, कूटनीतिक नियोग, बहुराष्ट्रिय कम्पनी, कर्पोरेट तथा वातावरणविद्लगायत प्रतिनिधिसहित २ सय बढीको सहभागिता थियो।