हालै नेपाल मोबिलिटी सोलुन्सन्सले ‘जुमजुम’ नामक नयाँ राइड सेयरिङ प्लेटफर्म सञ्चालनमा ल्याएको छ। बजारमा अन्य राइड सेयर कम्पनीहरू सञ्चालनमा रहेकै स्थितिमा एफवानसफ्ट ग्रुपका विज्ञद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिकमीद्वारा विकसित जुमजुम एप सञ्चालनमा आएको हो। यो सँगै बजारमा पठाओ, इन्ड्राइभ, जुमजुम, टुटललगायत राइड सेयरको संख्या झन्डै आधा दर्जन पुगेको छ। एफवानसफ्टकै डिजिटल वालेट ई–सेवा पनि नेपाली बजारमा लामो समयदेखि सञ्चालनमा छ। डिजिटल कारोबारको मात्रा बढ्दै गर्दा धेरै मानिस ठगिएको, विभिन्न समस्यामा परेको विषय पनि बाहिर आइरहेका छन्। यसर्थ, डिजिटल वालेटको सुरक्षाका विषयमा पनि प्रश्न उठ्ने गरेको छ। एफवानसफ्टले हालै सञ्चालनमा ल्याएको जुमजुम र ई–सेवाको सेवा, सुरक्षा र अबको योजनामा केन्द्रित रहेर एफवानसफ्ट ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुवास शर्मालाई क्यापिटल नेपालका पदम भुजेलले सोधेका ५ प्रश्नः
नेपालमा अन्य स्थापित राइड सेयरिङ एप हुँदाहुँदै पनि नेपाल मोबिलिटी सोलुसनले ‘जुमजुम’ राइड सेयरिङ प्लेटफर्म ल्याएको छ। बजारका हिसाबमा कस्ता चुनौती तथा सम्भावना देख्नुभएको छ?
कुनै पनि बजारमा जति धेरै खेलाडी हुन्छन् त्यति राम्रो कुरा हो। बजारमा अन्य राइड सेयरिङ एपहरू हुँदाहँुँदै पनि सम्भावना देखेर नै हामीले जुमजुम ल्याएका हौं। पहिलादेखि सञ्चालनमा रहेका एप मात्रै बजारका लागि प्रयाप्त छैनन् भन्ने निष्कर्षमा नै हामीले पनि यो यात्रा सुरु गरेका हौं। अन्य राइड सेयर कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्छौं, उनीहरूको भन्दा राम्रो र गुणस्तरीय सेवा प्रदान गर्न सक्छौं भन्ने हाम्रो विश्वास छ।
हाल हामीले काठमाडौंबाट जुमजुम सञ्चालनको थालनी गरेका छौं। आगामी दिनमा व्यवसायको माग भएअनुसार अन्य सहर र ठाउँमा पनि सेवा विस्तार गर्दै लगिनेछ। यद्यपि, यो भनेको पछिको कुरा हो। हाल काठमाडौंमा आफ्नो दायरा बढाउँदै, ब्रान्डिङ र विज्ञापन गर्दै बढी भन्दा बढी मानिससँग जोडिने प्रयत्नमा छौं। जनसंख्या तथा हरेक हिसाबमा काठमाडौं उपयुक्त छ। यहाँको अनुभव लिएर अन्य जिल्लामा आफ्नो सेवा विस्तार गर्नेछौं।
जुमजुम एप अन्य राइड सेयरीङ एपभन्दा के–के कुरामा फरक छ? ग्राहक तथा प्रयोगकर्ता आकर्षण गर्ने सुविधा कस्ता छन्?
राइड सेयर व्यवसाय करिबकरिब एउटै किसिमको हुन्छ। यसर्थ, हामीबाट अन्यभन्दा पूरै नयाँ वा फरक किसिमको अपेक्षा गर्न मिल्दैन। बजारमा ग्राहकको रोजाइ, व्यवहार सबै कुराको अध्ययनै गरेर हामीले राइड सेयर व्यवसाय सुरु गरेका हौं। हामीले ल्याएको जुमजुमका प्रयोगकर्ताले ई–सेवाबाट सजिलै भुक्तानीको सुविधा पाउनेछन्। यसमा यात्रा गरिसकेपछि वा राइड गरिसकेपछि खुद्रा पैसा खोज्दै हिँड्नुपर्ने झन्झट रहँदैन। ई–सेवाबाट आफैं पैसा भुक्तानी गर्न मिल्छ।
जुमजुमको अर्काे विशेषता भनेको हामीले जुन कम्पनीको प्रविधि प्रयोग गरेका छौं, त्यो श्रीलंकाको सबैभन्दा ठूलो राइड सेयरिङ प्लेटफर्म हो। त्यहाँ पिकमी नामक राइड सेयर एप सञ्चालनमा छ। उनीहरूले त्यहाँ हासिल गरेको ज्ञान र अनुभवबाट सिकेर नेपालमा पनि केही नयाँ गर्ने प्रयत्न भएको छ। जुमजुममा राइडर र ग्राहक दुवैको ५ लाख रुपैयाँसम्मको बिमा हुने व्यवस्था छ। हामीले बिमाका लागि नेको इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरेका छौं।
डिजिटल वालेटहरू धराशयी बन्दै गएका छन्। अर्थात्, हरेक बैंकका आफ्नै क्युआर, वालेट हुँदा बेग्लै वालेटहरूको दायरा खुम्चिएको छ। पछि गएर ई–सेवाको दायरा खुम्चिने देखेर राइड सेयरतर्फ आफ्नो कदम चाल्नुभएको हो?
यस्तो होइन। ई–सेवाले अहिलेसम्म आफ्नो बजार घट्ने वा कमजोर हुने महसुस गरेको छैन। डिजिटल कारोबारमा नेपालले अहिलेसम्म के नै हासिल गरेको छ? धेरै मानिस अझै पनि डिजिटल कारोबारबाट टाढा छन्। ३ करोड जनसंख्या भएको देशमा अहिले ८० लाख मात्रै ई–सेवा प्रयोगकर्ता छन्। अझै प्रयाप्त वृद्धि गर्ने ठाउँ छ। त्यसमा पनि मोबाइल बैंकिङ आयो, बैंकको क्युआर र वालेट आयो भनेर ई–सेवाको दायरा खुम्चियो भन्ने हुँदैन।
डिजिल बैंकिङ, क्युआर, मोबाइल बैंकिङको अवधारणा बैंकले ल्याएका होइनन्। बैंकहरूले अहिले पछि आएर मात्रै सेवा विस्तार गरेर त्यहाँ पुगेका हुन्। नेपालमा डिजिटल कारोबारको थालनी हामीले गरेका हौं। अझै पनि नयाँ नयाँ विषय थप्ने, सेवा बढाउने विषय हामीले सोचिरहेका छौं। यसर्थ, ई–सेवाको आम्दानीमा कमी आयो भनेर हामी राइड सेयरतर्फ लागेका होइनौं। हामीले अन्य व्यवसाय थप गर्दै जानुपर्छ भन्ने सोचका साथ मात्रै जुमजुम राइड सेयरतर्फ अगाडि बढेका हौं। हामीले राइड सेयरमा राम्रो काम गर्न सकेको खण्डमा ई–सेवा चलाइरहेको ग्राहकले पनि राइड सेयर प्रयोग गर्छ। यस्तै, जुमजुम प्रयोग गर्ने व्यक्तिले पनि सजिलोका लागि ई–सेवा प्रयोग गर्छन्। बजार आफैंमा गतिशल हुन्छ। बजारमा टिकिराख्न सबैले मन पराउने प्रोडक्ट, सेवा दिन सक्नुपर्छ। प्रयोगकर्तालाई सन्तुष्टि प्रदान गर्न सक्नुपर्दछ। यसरी धेरै कुरामा राम्रो भएमा मात्र बजारमा टिक्न र सफल हुन सकिन्छ।
यसर्थ, बजारमा आएका अन्य वालेट टिक्न सकेनन् भनेर ई–सेवालाई पनि सोही रुपमा विश्लेषण गर्न मिल्दैन। यसले मानिसको जीवनमा कति सहजता ल्याएको छ भन्ने विषय पनि यसका लागि निकै महत्त्वपूर्ण हुन्छ। हामीले सन् २००८ बाट डिजिटल कारोबारको थालनी गरेका हौं। सो समयमा नेपालमा डिजिटल कारोबार के हो भन्ने जानकारीसमेत थिएन। यस्तो अवस्थाबाट कारोबार सुरु गरेर, मानिसलाई सिकाएर हामी यहाँसम्म आइपुगेका हौं। सन् २०१६ देखि २०१८ को बीचमा आइपुगेपछि बल्ल मानिसले ई–सेवा चिन्न थालेका थिए।
बजार अध्ययनै नगरी पछि आएर थालनी गर्ने केही डिजिटल वालेटहरू धराशयी भए भनेर ई–सेवालाई पनि सोही मात्रामा मात्रै बुझ्न मिल्दैन। बजारमा टिक्ने, व्यवसाय विस्तार गर्ने सामान्य संरचनासमेत अध्ययन नगरी अरुको देखेर पछि लाग्नेहरू बजारमा टिक्न नसक्नु स्वाभाविकै हो। ग्राहक नहेरी, बजार नहेरी देखासिकीका आधारमा आएका कम्पनी डुब्ने हुन्। व्यापारको सामान्य सिद्धान्त नबुझी व्यापार गर्छु भनेर आउनु ठीक होइन।
अन्य व्यवसायमा राम्रो भइराखेको अवस्थामा राइड सेयरिङ सेवा सुरु गर्ने विषय कहाँबाट आयो?
हामीले ‘जुमजुम’ सेवा सुरु गर्छौं भनेर लामो योजना बनाएका थिएनौं। पछिल्लो समय सोच राखेर अध्ययन गरी सेवा सुरु गरेका हौं। राइड सेयरिङको अवस्था हेर्दा हरेक मुलुकमा फरकफरक छ। कुनै देशमा धेरै माथि पुगिसकेको छ भने कुनैमा भर्खरै सुरु भएको छ। अन्य मुलुकमा धेरै राइड सेयर कम्पनीले काम गर्दै गर्दा हाम्रो मुलुकमा पनि धेरै थप काम गर्न सकिन्छ भनेर सेवा सुरु गर्ने सोच बनायौं। यही सन्दर्भमा श्रीलंकाको पिकमीसँग सम्बन्ध जोड्यौं। त्यसपछि सोही प्रविधि प्रयोग गरेर सुरु गर्ने काम भएको हो।
डिजिटल वालेटको गुणस्तर र सुरक्षाका विषयमा सधै प्रश्न उठ्छ। यस्तो किन भएको हो?
वालेटमा गुणस्तरको विषय आउनु नपर्ने हो। वालेट सेवा सुरु गर्नुपूर्व हामीले राष्ट्र बैंकको मापदण्ड पूरा गरेका हुन्छौं। सुरक्षाका सबै विषय अनुशरण पनि गरेका हुन्छौं। गुणस्तर, सुरक्षा सबै हिसाबमा सक्षम भएपछि मात्रै नियामक निकायले लाइसेन्स दिने हो। यद्यपि, ई–सेवा प्रयोग गर्नासाथ सबै सुरक्षित हुन्छ भन्ने हुँदैन। प्रयोगकर्ता आफूले के–के विषयमा ध्यान दिने भन्ने विषय ख्याल गर्नुपर्छ। सजिलो बाटो अपनाउँदै गर्दा आफू सतर्क हुनुपर्ने सम्पूर्ण विषय अवलम्बन गर्नुपर्दछ।
मोबाइलामा जुन पायो त्यहीँ एप डाउनलोड गर्ने, ओटीपी नम्बर र पासपोर्ट सेयर गर्ने, गोप्य सूचना अरुलाई नबुझी दिनेजस्ता कार्यले आफ्नो खाता अरूको पहुँचमा पुग्छ। कसैले लोभ देखायो भन्दैमा प्रलोभनमा परेर आफ्नो क्षति भएपछि अनि अरुलाई दोष दिने काम उचित होइन। आफूले कुनै सेवा प्रयोग गर्दै के–कस्ता विषयमा ध्यान दिनुपर्छ भन्ने विषय सम्बन्धीत व्यक्तिले विचार पुर्याउनुपर्छ। हामीले पनि सूचना जारी गरेर आफ्ना फेसबुकलगायत प्लेटफर्मबाट प्रयोगकर्तालाई ठगिनबाट बच्न विभिन्न किसिमका प्रयत्न गरिरहेका छौं।