क्यापिटल नेपालको मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। रास्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधारको प्रमुख आधारको रुपमा प्रस्तुत गर्दै सुशासन प्रवर्द्धन, सार्वजनिक सेवामा सुधार र भ्रष्टाचार नियन्त्रण लगायतका विषयमा जोड दिएको छ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समिक्षा गरेको छ। केन्द्रिय बैंकले सवारी कर्जा र असल कर्जा जोखिम भार घटाउँदै र घरजग्गा खरिद, संस्थापक सेयर बिक्रीमा सहुलियत दिदै जेठ ४ गते मौद्रिक समीक्षा सार्वजनिक गरेको हो। समीक्षाले आन्तरिक तथा बाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान ५.५ प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोर अन्तर्गतको ३.० प्रतिशतको निक्षेप संकलन दर र ७.० प्रतिशतको बैंक दरलाई यथावत राखेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिद गर्दा ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। वैशाख ३० गते दायर मुद्दासहित पौडेलविरुद्ध अख्तियारले विशेष अदालतमा तेस्रो पटक भ्रष्टाचार आरोपपत्र दायर गरेको हो। अख्तियारले पौडेलमाथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। वैशाख ३० गते कपडामा लेप गरेर ल्याइएको सुनसहित प्रहरीले सुरेश कुमार र मोहन कुमारलाई पक्राउ गरेको हो। उनीहरूले ४ वटा कपडामा सुन लेप गरेर ल्याएका थिए। उनीहरूको साथबाट बरामद भएको सुनको परिणाम भने खुलिसकेको छैन।
सरकारले बजेट निर्माणको चटारो चलिरहँदा एकै पटक ६० जना सहसचिवको सरुवा गरेको छ। वैशाख २७ को मन्त्रिपरिषद् बैठकले प्राविधिक एवं अप्राविधिक गरी ६० जना सहसचिवको एकै पटक सरुवा गरेको हो। त्यस्तै जेठ ३ मा बसेको बैठकले प्रशासन र प्राविधिक तर्फका दुई जना सहसचिवहरू सचिवमा बढुवा गरेको छ।
प्रहरीले ७ करोड ९६ लाख २० हजार मूल्य बराबरको कोकिनसहित जेठ २ गते तीन विदेशी महिलालाई पक्राउ गरेको छ। युगान्डाकी केभिना मुगाला, लिलियान सुसन वानयाङजीका र भारतीय नागरिक दिवा जनी पल काठमाडौंको विभिन्न स्थानबाट पक्राउ परेका हुन्। उनीहरूको साथबाट २ किलो ६५४ ग्राम अवैध लागुऔषध बरामद गरेको हो।
गत साता १९६६.२३ बिन्दुमा रहेको नेप्से परिसुचक यो साताभरि उतारचढाव भइरहँदा कारोबारको अन्तिम दिन बिहिबार २,०१८.७६ बिन्दुमा बन्द भएको छ। समग्रमा नेप्सेमा ५२.५३ अंकको वृद्धि देखिएको छ। सेयर बजारमा यो साता कुल १७ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो साता कुल १४ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको थियो।
उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दाेष ठहर गरेको छ। न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउदै जेठ २ गते सन्दिपलाई निर्दोष ठहर गरेको हो। जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो।
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ। कांग्रेस निकट विद्यार्थी सङगठनले जेठ ४ गते गरेको प्रदर्शनमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।