इटहरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बैंक तथा वित्तीय संस्थाहरूको ऋण लिएर तिर्दिन भन्न नमिल्ने बताएकी छन्। फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्।
केही व्यक्तिहरूले ऋण मिनाहाको कुरा उठाएर ऋणीहरूलाई उक्साउने काम गरेको भन्दै उनले त्यो असम्भव कुरा रहेकोतर्फ सचेत रहन सर्वसाधारणलाई उनले आग्रह गरिन्। दुर्गा प्रसाईं, मणिराम ज्ञवालीजस्ता व्यक्तिहरूले गलत अभियान लिएर अगाडि बढेको भन्दै मन्त्री चौधरीले यसले ऋणीहरूलाई झन् समस्यामा पार्ने बताइन्।
यस्ता खाले गतिविधिले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउने भन्दै उनले सही तरिकाले कसरी समस्या समाधान गर्ने भन्ने कुरा लिएर अगाडि बढ्नुपर्ने बताइन्। ‘सही तरिकाले सही माग लिएर अगाडि बढे राम्रो हुन्छ। तर जसले अर्थतन्त्र नै ध्वस्त गराउन खोज्छ भविष्यमा त्यो आफैँ ध्वस्त हुन्छ,' उनले भनिन्, 'त्यसकारण हामीले अरूको बहकाउमा लागेर आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु हुँदैन।'
राष्ट्र बैंकले वित्तीय संस्थाको नियमन गर्ने भन्दै उनले राष्ट्र बैंकको नियमबाहिर गएर कुनै पनि वित्तीय संस्था जान नसक्ने बताइन्। ‘अहिले लघुवित्त संस्थाहरू छ र त गाउँ-गाउँमा दिदीबहिनीहरूले सानोतिनो ऋण लिएर व्यवसाय गर्न पाउनुभएको छ,' उनले भनिन्, 'अन्य साना तिना खर्च चलाउन पाउनुभएको छ।’
देशभर ५९ लाख व्यक्तिहरू लघुवित्तमा आबद्ध रहेको भन्दै मन्त्री चौधरीले केही व्यक्तिहरूले चर्चाका निम्ती ऋण मिनाहाको माग लिएर हिँडिरहेको बताइन्।