काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति तेस्रो त्रैमासिक समीक्षा आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको छ। जसका लागि राष्ट्र बैंक गभर्नर कार्यालय आर्थिक अनुसन्धान विभागले तयार गरेको समीक्षाको मस्यौदामा छलफल गर्न सञ्चालक समिति बैठक बोलाएको छ।
मौद्रिक नीति समीक्षा निर्माणको जिम्मेवारी लिएको आर्थिक अनुसन्धान विभागले बिहिबार नै उच्च व्यवस्थापन समितिलाई मस्यौदा बुझाएको थियो। उक्त मस्यौदा व्यवस्थापनको बिहिबार साँझमा बसेको बैठकले पास गरेपछि शुक्रबार बिहान ८ बजेका लागि सञ्चालक समिति बैठक बोलाइएको हो।
राष्ट्र बैंकमा अहिले चलिरहेको सञ्चालक समितिको बैठकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मस्यौदा पास गरेमा आजै सार्वजनिक गरिने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए। ‘अहिले बसिरहेको सञ्चालक समितिको बैठकले निर्णय गरेमा समीक्षा आजै सार्वजनिक हुनेछ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘छलफलका विषय धेरै छैनन्, ३/४ वटा नियामकीय नीति परिवर्तन तथा संसोधनका प्रस्ताव छन्, सञ्चालक समितिले पास गर्ने सम्भावना धेरै छ।’
सञ्चालक समिति बैठक समाप्त हुने बित्तिकै राष्ट्र बैंकको वेव साइटमार्फत् मौद्रिक नीतिको तेस्रो त्रैमासकि समीक्षा सार्वजनिक गरिने बताइएको छ। ‘अहिले तेस्रो समीक्षा हो, ठुला नियामकीय परिवर्तन नयाँ मौद्रिक नीति मार्फत नै आउछन्, केही साना तर अत्यावश्यक परिवर्तन प्रस्ताव गरिएको छ’ ती अधिकारीले भने।
यसअघिसम्म राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा त्रैमास समाप्त भएको ३० दिन भित्रै सार्वजनिक गर्नु पर्ने व्यवस्था ‘मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ ले गरेको थियो। तर, गत साता केन्द्रीय बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ ९प्रथम संशोधन, २०७९० जारी गर्दै समय सीमा १५ दिन थप गर्यो। उक्त समयसीमा भित्रै रहेर राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गर्न लागेको हो।