काठमाडौं। नेपाल वायुसेवा निगमले जहाज तथा विमानस्थलमा चाहिने उपकहरणहरुको मर्मत सम्भारमा लाग्ने पाटपुर्जादेखि जहाजमा प्रयोग हुने खाद्यान्नमा लाग्ने भन्सारमा छूट मागेको छ।
बिहीबारबाट सुरु भएको वार्षिक बजेट बैठकको अवसरमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग विभिन्न सामग्रीमा लाग्ने भन्सार छूटको माग गरेका हुन्।
पर्यटनमन्त्रीसामू कार्यकारी अध्यक्ष अधिकारीले हवाई इन्धनमा लगाइएको कर छूट गर्नेतर्फ पहल गरिदिन, निगम राष्ट्रिय ध्वजावाहक भएकोले अन्य राष्ट्रमा त्यहाँका राष्ट्रिय ध्वजावाहकलाई प्रदान गरिने विशेष सुविधाहरु जस्तै निगमलाई पनि नेपाल सरकारको तर्फबाट विशेष सुविधाहरु दिलाउन आग्रह गरे।
त्यस्तै विमान चालक तथा अन्य कर्मचारीहरुको सेवा सुविधा वृद्धि गर्न, मौजुदा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा निगमजस्तो विशेष प्रकृतिको हवाई व्यवसायका लागि छुट्टै प्रावधान राखी आवश्यक संशोधन गर्नुपर्ने कार्यमा सहजीकरण गरिदिन तथा नेपाल वायुसेवा निगम ऐन, २०१९ को प्रावधानअनुसार राष्ट्रिय ध्वजावाहकलाई सुदृढ र सबल बनाउन सहयोगका लागि मन्त्रालय समक्ष आग्रह गर्दै समन्वयात्मक भूमिका खेलिदिन अधिकारीले आग्रह गरे।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार मन्त्री तामाङले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो सहयोग रहने भन्दै निगमका हरेक विभागले गर्नुपर्ने नियमित कार्यहरुमा ढिला सुस्ती नगर्न निर्देश्न दिए।
साथै कसैको कारण निगमलाई हानी नोक्सानी हुन गएमा सोही व्यक्ति जिम्मेवार रहनेतर्फ सचेत रहन पनि मन्त्रीले निर्देशन दिए। प्रतिफल देखिने गरी इमान्दारीपूर्वक काम गर्न कर्मचारीहरुलाई मन्त्री तामाङले निर्देशन दिए।
पर्यटन सचिव डा. गणेशप्रसाद पाण्डेयले निगमका कर्मचारीहरुलाई सधैं इमान्दारीपूर्वक आ–आफ्नो कार्यमा लाग्न निर्देशन दिए। त्यसैगरी सबैले इमान्दारीताका साथ काम गरे मात्र निगमले प्रगति गर्न सक्ने विश्वास रहेको उनले बताए। मन्त्रालयबाट गर्नुपर्ने कार्यहरुमा सधैं सकारात्मक सहयोग रहने प्रतिवद्धता सचिव पाण्डेयले व्यक्त गरे।
यसअघि निगमका बजार व्यवस्थापन विभागका निर्देशक टंकनिधि दाहालले निगमको हालको बजार स्थिति र बजारीकरणबारे जानकारी पर्यटन मन्त्रीलाई गराएका थिए। निगमको समीक्षा बैठक तथा बजेट प्रक्षेपण कार्यक्रम ४ गतेसम्म चल्नेछ।