घोडाघोडी। तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन्।
चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन्। किसान ओलीले फलाएको (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ।
उनले ३ बिघा जग्गामा व्यावसायिक रूपमा नै स्याउखेती गरेका छन्। कैलालीमा उनले पहिलोपटक व्यावसायिक रुपमा नै स्याउखेती गरेका हुन्। २०७८ माघमा ओलीले भारतको हिमाञ्चल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोपेका हुन्।
रोपेको एक वर्षमा नै सबै बोट फुलेका बताउँदै उनले अहिले फुलेको स्याउलाई औषधि हालेर झारेको बताए। 'अघिल्लो वर्ष परीक्षणका रूपमा २० बोटमा मात्र फलाएको थिएँ,' उनले भने, 'अहिले पनि तीस–चालीस बोटमा फलाएको छु।'
उनका अनुसार बिरुवा लगाएको दुई वर्ष पूरा भएको छ, अर्को वर्षदेखि एक बोटबाट आठदेखि १० किलोग्रामसम्म आम्दानी लिन सकिनेछ। बिरुवा लगाएको तीन वर्षपछि मात्रै आम्दानी गर्न सकिन्छ भने पॉच वर्षपछि भने एउटै बोटमा ५० देखि एक सय किलो ग्रामसम्म स्याउ फल्ने गर्दछ।
तराईका क्षेत्रमा नौलो मानिएको स्याउखेतीका लागि हालसम्म ८० लाख लागत लागिसकेको ओलीले बताए। ओलीले स्याउसँगै अम्बा र बयर पनि रोपेका छन्। एक हजार दुई सय स्याउ, पाँच सय अम्बा र एक सय बयर उनले लगाएका छन्। तराईमा पनि स्याउ फल्ने विषय इन्टरनेटका माध्यमबाट थाहा पाएको बताउँदै ओलीले भने, 'कृषि निर्देशक यज्ञराज जोशीको सल्लाहले मैले यो खेती गर्ने हौसला पाएँ र मलाई काम गर्न सहयोग मिल्यो।' रासस