काठमाडौं। भारतको कश्मिर पु¥याएर बन्धक बनाइएका ३६ जना नेपालीको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरुसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले कूटपिट गरेको अवस्थामा उनीहरुको उद्धार गरिएको हो।
ठेकेदारले पारिश्रमिक समेत नदिइ कूटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरुको गुनासोको आधारमा भारतस्थित नेपाली दूतावासले उनीहरुको उद्धार गरेको हो। उनीहरुलाई नेपाल फर्काउने काम भइरहेको दूतावासले जानकारी दिएको छ।
मंगलबार दिल्लीस्थित नेपाली दुतावास र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली ल्याइएको दूतावासले जानकारी दिएको हो।
उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले काम गर्नका लागि भनेर लगिएको तर काम गर्नभन्दा गएको दिन नै कूटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाउने गरेको बताए। उनले खाना पनि राम्रोसँग खान नदिने गरेको बताए। नालाको काम भनेर लगेकोमा छतको काम गर्न लगाएको उनको गुनासो छ। त्यस्तै धनुषाका रञ्जित चौधरीले मोबाइल, नागरिकता, पैसाहरु सबै खोसेर राखिएको बताए। काम लगाउनेले मार्नेसम्मको धम्की दिएको उनले बताए।
भनेको नमानेमा आतंकवादी भनेर पक्राउ गर्न लगाउने धम्की पनि उनीहरुलाई दिइएको थियो। करिब ३ महिना बन्धक बनाएपछि दिल्लीस्थित नेपाली दुतावास, जम्मुकश्मिर पुलिस, क्राइम ब्रान्च, सीआरपीएफको सहयोगमा उनीहरुलाई उद्धार गरी दिल्ली पु¥याइएको हो। घटनामा संलग्न २ जना आरोपितलाई पनि पक्राउ गरिएको छ।
सोही समूहबाट भागेर नेपाल आएका पीडित युवकले नेपालमा कुनै पनि नेताले सहयोग नगरेको बताए। घटनामा संलग्न मुख्तकिम आलम र मो. साजादलाई पक्राउ गरिएको छ भने जमाल मन्सुरी र मलिम मन्सुरी फरार छन्।