काठमाडौं । काठमाडौं उपत्यकाभित्र सडकमा एक ट्राफिकले डेढ किलोमिटरसम्म सवारीसाधान व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । सीमित संख्यामा खटाइएका ट्राफिक प्रहरीले उपत्यकाभित्रको गुल्जार यातायात व्यवस्थापनको निगरानी राख्नुपर्ने अवस्था छ ।
अहिले काठमाडौं उपत्यकाभित्र झन्डै २ हजार १४ किलोमिटर सडकको निगरानी ट्राफिकले गर्दै आएको छ । दैनिक १२ लाख बढी यातायात सवारी गुड्ने उक्त सडकको ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले बताउँछन् । उनले सीमित ट्राफिक प्रहरीबाट अस्तव्यस्त सडक व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको जानकारी दिए ।
एक प्रहरीले १ देखि डेढ किलोमिटर सडकको ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनले सुनाए । ‘रोड सीमित छन् । अनि ट्राफिक प्रहरी पनि सीमित छौं’ उनले भने, ‘एकजना ट्राफिकले १ देखि डेढ किलोमिटरको सडकको ट्राफिक व्यवस्थापन हुँदै आएको छ ।’ उनले उपत्यकामा १ हजार ३६८ जना ट्राफिक प्रहरी खटिदै आएको बताए ।
सीमित ट्राफिक र बढ्दो यातायातको चापले काठमाडौं उपत्यकाभित्रको यातायात व्यवस्थापन जटिल हुँदै गएको ढकाल बताउँछन् । भएका ट्राफिक प्रहरी भने अहोरात्र खट्दै आएको उनले बताए ।
सडकमा गुड्ने यातायात सवारीको संख्या दैनिक बढिरहेका छन् । अधिकांश सडकमा ट्राफिक बत्ती छन् तर, बल्दैनन् । त्यस्ता ट्राफिक लाइट व्यवस्थापन र मर्मत नगरिँदा नागरिकलाई सास्ती छदैैंछ भने ट्राफिकले दैनिक गाली खाइरहेका छन् ।
काठमाडौंको सिंहदरबार, थापाथली, नयाँ बानेश्वर, पुतलीसडक, कोटेश्वर, गौशाला, चावहिल लगायतका क्षेत्रका ट्राफिक बत्ती बल्दैनन् भने ती ठाउँमा दैनिक सवारीको चाप बढिरहेको हुन्छ ।
छिट्टै ट्राफिक बत्ती सञ्चालनमा ल्याउने गरी समन्वय भएको ढकालले बताए । उपत्यकाका विभिन्न ३६ ठाउँमा ट्राफिक लाइट आवश्यक रहेको र त्यसका लागि जनशक्ति खटाउने तयारी रहेको ढकालको भनाइ छ ।
सडक दुर्घटनाको बढ्दो जोखिम
सीमित ट्राफिक र बढ्दो सवारी चापले काठमाडौं उपत्यकामा सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको देखिन्छ । एक ट्राफिकले सिठी र हातका इशारामा यातायातको व्यवस्थापन गर्नुपर्ने बाध्यताका माझ सडक दुर्घटना खतरा पनि उत्तिकै छ ।
साँघुरा सडक, बढ्दो सवारी चाप र खाल्डाखुल्डीले पनि सडक दुर्घटनाको खतरा छ । तर, सडक दुर्घटना न्युनीकरण र ट्राफिक सचेतना बढाउँदै लगिएको ढकाल बताउँछन् । पछिल्लो तथ्य हेर्दा सडक दुर्घटनाबाट वार्षिक २ हजार ५०० देखि ३ हजार व्यक्तिको ज्यान जाने गरेको छ । वार्षिक १० देखि १५ हजार व्यक्ति घाइते हुने गरेको छन ।