काठमाडौं। नेपाल राष्ट्र बैंकले इजाजत प्राप्त संस्थामा रहेको बैंक खाता रोक्का तथा फुकुवा अनलाइन प्रणालीमार्फत नै हुने गरी छुट्टै विनियमावली जारी गर्ने भएको छ। जसका लागि केन्द्रीय बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ को मस्यौदा तयारी गरी सरोकारवालासँग राय सुझाव माग गरेको हो।
हालसम्म राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनको प्रावधानमा रहेर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको खाता रोक्का तथा फुकुवा गरिरहेका थिए। यसरी ग्राहकको खाता रोक्का तथा फुकुवा गर्न राष्ट्र बैंकको स्वीकृति समेत लिनुपर्छ। खाता रोक्का तथा फुकुवाको पुरानो व्यवस्थालाई थप व्यवस्थित गर्न केन्द्रीय बैंकले छुट्टै विनियमावली जारी गर्न लागेको उल्लेख गरेको छ।
राष्ट्र बैंकले खाता रोक्काका लागि ‘स्वचालित प्रणाली’ सम्बन्धी व्यवस्था गर्ने गरी विनियमावलीको मस्यौदा तयार गरेको छ। जसमा राष्ट्र बैंकले खाता रोक्का वा फुकुवासम्बन्धीे अनलाइन प्रणाली विकास गरी सो सम्बन्धमा आवश्यक निर्देशन जारी गर्न सक्नेछ।
साथै, राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्था तथा प्रचलित कानूनबमोजिम खाता रोक्का वा फुकुवा गर्न अधिकारप्राप्त अधिकारीले राष्ट्र बैंकले विकास गरेको अनलाईन प्रणालीमार्फत खाता रोक्का वा फुकुवाको निवेदन दिन सकिनेछ।
तत्कालै समय (रियल टाइम) खाता रोक्का गर्नका लागि बैंक तथा वित्तीय संस्थाले उपयुक्त प्रणालीको विकास गर्नु पर्ने गरी राष्ट्र बैंकले विनियमावलीको मस्यौदा तयार गरेको छ। बैंक तथा वित्तीय संस्थाको खाता रोक्काको अधिकार राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक र तोकिएको अधिकृत तहको कर्मचारीलाई दिइनेछ।
साथै, राष्ट्र बैंकले इजजातप्राप्त संस्थाको खाता रोक्का नहुने गरी नयाँ विनियमावलीले तयारी गरेको हो। बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले नै कारवाही गर्नु परेको अवस्थामामात्रै संस्थाको खाता रोक्का हुने उल्लेख छ।
नयाँ व्यवस्था लागू भएपछि इजाजतपत्र प्राप्त संस्थामा रहेको खाता रोक्का गर्नको लागि अधिकार प्राप्त अधिकारीले कानूनको व्यवस्था स्पष्ट उल्लेख गरी राष्ट्र बैंकको निर्देशनमा मात्रै खाता रोक्का गर्न सक्नेछन्।
खाता रोक्का गर्नुको प्रष्ट कारण, खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, वा अन्य यस्तै प्रकारको नेपाल सरकारले जारी गरेको निजको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा निजको तीनपुस्ते विवरण राष्ट्र बैंकमा पेश गर्नु पर्नेछ।
फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर समेत राष्ट्र बैंक पठाउनु पर्छ। साथै, कानुनी व्यक्तिको कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण, आशिंक खाता रोक्का राख्नुपर्ने भएमा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अंकमा) र खाता रहेको बैंकको विवरण, प्रचलित कानून बमोजिम अनुसन्धान गर्न अधिकारप्राप्त अधिकारीलेखाता रोक्का वा फुकुवा गर्ने प्रयोजनका लागि तोकिएका अधिकारीमार्फत राष्ट्र बैंक समक्ष खाता रोक्का वा फुकुवाको अनुरोध गर्नु पर्नेछ।