काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा दैलेखमा पेट्रोलिय पदार्थ अन्वेषणको काम सम्पन्न गर्ने घोषणा गरेको छ।
मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्ष पेट्रोलियम पदार्थ अन्वेषणको काम सम्पन्न गर्ने घोषणा गरेका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वैशाख २३ मा ‘ड्रिलिङ’ (जमिन मुनि खन्ने काम) को उद्घाटन गरी सकेका छन्। ड्रिलिङपछि पेट्रोल भए/नभएको पुष्टि हुने खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायाण बाँस्कोटा बताउँछन्। दैलेखको भैरवी गाउँपालिका–१ को जलजलेमा अन्वेषण भइरहेको छ।
सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार अन्वेषणको काम गर्न सकिने सूचना अधिकारी बाँस्कोटाको भनाइ छ। ‘अबको ४ महिनामा ड्रिलिङको काम सक्नेगरी काम भइरहेको छ। प्रतिवेदनहरु आउँदा केही महिना लाग्न सक्छ तर, राष्ट्रपतिले घोषणा गरेअनुसार अन्वेषणको काम आगामी वर्ष सकिन्छ’ उनले भने। अध्ययनका लागि फागुनसम्म समय रहेको पनि उनले बताए।
ड्रिलिङ कार्य चिनियाँ सरकारले बिआरआई परियोजना अन्तर्गत गर्दैछ। जसले गर्दा नेपालले कुनै पनि खर्च गर्नुपरेको छैन। आवश्यक सहजीकरण र जग्गाको मुआब्जासम्बन्धी काम मात्रै नेपालले गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वैशाख २३ मा ‘ड्रिलिङ’ (जमिन मुनि खन्ने काम) को उद्घाटन गरी सकेका छन्।
ड्रिलिङका लागि चीनबाटै आवश्यक उपकरण ल्याइएको छ। १५७ ट्रकबाट आवश्यक उपकरणहरू परियोजनास्थलमा पुगिसकेका छन् भने बाँकी उपकरण आवश्यकताअनुसार पुर्याउने योजना छ। अन्वेषणको काम सकिएपछि चीनले आफ्ना उपकरण फिर्ता लानेछ।
नेपाल र चीनबीच सन् २०१६ मा दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सम्झौता भएको थियो। सूचना अधिकारी बाँस्कोटाका अनुसार ४ हजार मिटरसम्म खनेपछि पेट्रोल वा ग्यास रहेको पत्ता लाग्नेछ। पेट्रोलियम पदार्थ भनिए पनि हालसम्म कस्तो पदार्थ कति मात्रामा छ भन्ने प्रष्ट भइसकेको छैन।
अन्वेषणका लागि २५ जना चिनियाँ प्राविधिक एवं कर्मचारी र अन्य सहयोगका लागि नेपाली कर्मचारी परिचालन गरिएका छन्।
सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएको पनि खानी विभागले जनाएको छ। पेट्रोल भएको पुष्टि भएमा विदेशबाट आयात हुने मात्रा घट्नेछ।