काठमाडौं। सरकारले कृषिमा युवा उद्यमी भित्र्याउन नमुना फर्म स्थापना गरी सिकाइ केन्द्रको रुपमा विकास गर्ने घोषणा गरेको छ। मंगलबार संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले युवा कृषक तथा उद्यमीहरुको साझेदारीमा वडास्तरमा नमुना फर्म स्थापना गरी सिकाइ केन्द्रको रुपमा विकास गरिने घोषणा गरेका हुन्।
‘कृषि तथ्थांक संकलन विश्लेषण गरी बजार सूचना प्रणाली विकास गरिनेछ। सम्भाव्यताको आधारमा महानगर तथा उपमहानगरपालीकामा चिस्यान भुइँतले कृषि तथा फलफुल थोक बजार सञ्चालनमा ल्याइनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘युवा कृषक तथा उद्यमीहरुको साझेदारीमा वडास्तरमा नमुना फर्म स्थापना गरी सिकाइ केन्द्रको रुपमा विकास गरिनेछ।’
नीति तथा कार्याक्रममा माटोको अम्लियपन घटाउन र उत्पादन वृद्धि गराउन प्राङगारिक खेतीलाई प्रोत्साहित गरिने, नीजि क्षेत्रको सहभागितामा कृषि बजार र संरचना निर्माण र सञ्चालन गरिने, कृषि पशुपन्छी तथा मत्स्य उत्पादनको बजारीकरणको नियमन नियन्त्रण गरिनेछ। आयातित खाद्यन्न एवम् तरकारीमा विषादी परीक्षणको दायरा विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
‘स्वस्थ र गुणस्तरीय कृषि उपजको ओसारपसार सुनिश्चित गर्न नियामक निकायको क्षमता बढाइनेछ। खाद्य प्रयोगशालालाई क्रमश अन्तर्राष्ट्रिय प्रयोगशालामा स्तरोन्नति गरिने भएको छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कृषि अनुसन्धानको कार्यक्रमहरु किसानका समस्या र बजारको माग अनुरुप निर्देशित हुने व्यवस्था मिलाइनेछ। संघीय संरचना अनुकुलको कृषि अनुसन्धान नीति तर्जुमा गरिने भएको छ। किसान सुचीकरण कार्यलाई तिव्रता दिइनेछ।’
नीति तथा कार्यक्रममा कृषक परिचयपत्रलाई कृषि क्षेत्रमा प्रदान गरिने सेवा सहुलियतसँग आबद्ध गरिने, कृषि क्षेत्रका सेवा सुविधा तथा सहुलियतलाई डिजिटलाईजेसन गरी सर्वसुलभ र पारदर्शी बनाइने, साना तथा सिमान्तकृत किसान लक्षित कृषक सम्मान कार्यक्रम कार्यन्वयनमा ल्याइने पनि घोषणा गरिएको छ। ‘बालीनाली पशुपन्छी तथा मत्स्य क्षेत्रमा जैविक विविधता संरक्षण संवर्द्धन तथा उपयोगको अभियान सञ्चालन गरिनेछ। परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रौथाने खाद्यान्न बालीको खेती विस्तार गर्दै व्यवसायिकरण गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।