काठमाडौं। विश्वका धनाड्य व्यक्तिमध्येका एक एलन मस्कले छिमेकी मुलुक भारतमा टेस्ला कार उत्पादन प्लान्ट स्थापना गर्ने विषय पछिल्लो समय मत्थर भएको छ। केही साताअघिसम्म एक्स (ट्विटर)का मालिक तथा टेस्लाका सीईओसमेत रहेका मस्कले भारतमै प्लान्ट स्थापना गरेर टेस्ला उत्पादन गर्ने बताएका थिए। तर, पछिल्लो समय सो विषय ओझेलमा परेको छ।
खासगरी मस्कले भारतमा उत्पादन प्लान्ट खोल्नका लागि भारत सरकारसँग कर छूटको माग गरेका थिए। तर, भारत सरकारले मस्कको कर छूट गर्नुपर्ने प्रस्तावलाई अस्वीकार गरेको थियो। साथै, यही बीचमा टेस्लाको आम्दानीमा पनि गिरावट आयो। जसले गर्दा मस्कले भारतमा लगानी गर्ने विषय तत्कालका लागि ओझेलमा परेको हो।
यसो त, विगत केही वर्षदेखि नै टेस्ला भारतमा प्रवेश गर्न चाहेको विषय चर्चामा छ। यही क्रममा गएको जुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा मस्क र मोदीबीच भेटवार्ता भएको थियो। उक्त भेटमा उनीहरूबीच भारतमा टेस्ला प्लान्ट स्थापना गर्नेबारे छलफल भएको थियो। साथै, मस्कले ७० देखि १०० प्रतिशतबाट घटाएर ४० प्रतिशत कर छूट दिन आग्रह गरेका थिए।
यसअघि भारतले भन्सार छूटलाई घरेलु उत्पादनसँग जोड्ने बताउँदै स्थानीय उत्पादनका लागि लगानी गर्ने कम्पनीलाई ईभी आयातमा कर सहुलियतको घोषणा गरेको थियो। भारतको स्थानीय उत्पादनमा लगानी गर्ने विषयमा विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन निर्माण गर्ने कम्पनी टेस्लाले भारतमा विद्युतीय कार उत्पादन प्लान्ट बनाउन इच्छुक रहनुलाई भारतले पनि निकै चासोका साथ हेरेको थियो।
यद्यपि विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन निर्माण गर्ने कम्पनी टेस्ला आउने विषयले उत्साहित बनेको भारतले आगामी दिनमा आफ्ना नीतिहरुबारे थप विचार गर्ने सम्भावना पनि छ।
टेस्लाका सीईओ मस्कले ५ सय मिलियन डलर लगानी गरेर टेस्ला कार भारतमै उत्पादन गर्ने विषयलाई भारतले चासो दिनु स्वभाविक पनि हो। टेस्लाले भारतमा उक्त लगानी गर्ने खबर चलेसँगै टेस्लाका सीईओ मस्क भ्रमणका लागि भारत आउने चर्चा पनि चलेको थियो। तर, केही समयपछि मस्कले भारत भ्रमण गर्ने योजना स्थगित गरेका थिए। यद्यपि भारत भ्रमणको चर्चा चलिरहेको समयमा मस्क चीनको बेइजिङमा अप्रिल २४ देखि भएको अटो शोमा पुगेका थिए। यसलाई मस्कले भारतमा तत्काल लगानी नगर्ने रुपमा अथ्र्याइएको छ।
रोयटर्सकाअनुसार भारत सरकारले विद्युतीय सवारीको आयातमा मूल्य अभिवृद्धि कर छूट दिने प्रस्तावको वास्ता गरेन। यसपछि टेस्लाको भारतमा प्लान्ट स्थापना गर्ने योजना रोकिएको रोयटर्सले उल्लेख गरेको छ। यसका साथै, टेस्लाको आम्दानीलाई पनि भारतमा प्लान्ट स्थापनाको विषयसँग जोडेर हेरिएको छ।
सन् २०२४ को पहिलो त्रैमासको रिपोर्टअनुसार टेस्लाको आम्दानीमा ५५ प्रतिशत गिरावट आएको छ। आम्दानी घटेसँगै टेस्लाले विश्वभरबाट आर्थिक क्षति बेहोर्नुपरेको छ। कार बिक्रीमा आएको गिरावटका कारण टेस्लाले चीन, अमेरिका र जमर्नीलगायत धेरै प्रमुख बजारहरुमा आफ्नो सवारीसाधनको मूल्य पनि घटाएको थियो। विश्वव्यापी ईभीको बिक्रीमा आएको गिरावट र चिनियाँ ईभी ब्राण्डले दिएको चुनौतीका कारण आम्दानीमा असर पुगेपछि टेस्ला चिन्तित छ।
हालै मात्र पनि टेस्लाले आफ्नो १० प्रतिशत कामदार कटौती गरेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टेस्लाले छिट्टै थप ६ हजार जना कामदार कटौतीको योजना बनाएको छ। विश्वको ठूलो ईभी बजारमध्येको एक भारतको अटोबजारमा करिब ५ प्रतिशत क्षेत्र ईभीले ओगटेको छ। सन् २०२३ मा भारतमा कुल कार बिक्रीको २ प्रतिशत ईभी बिक्री भएको थियो। यसलाई बढाएर सन् २०३० सम्ममा ३० प्रतिशत ईभी बिक्री गर्ने लक्ष्य भारत सरकारको छ।
विश्वमा सवारीसाधन बिक्री गर्ने सबैभन्दा ठूलो अटोबजार चीन र अमेरिकामा ईभीको रोमाञ्चक प्रतिस्पर्धा भइरहँदा तेस्रो स्थानमा रहेको भारतमा ईभी गाडीको प्रवेश न्यून छ। सवारीसाधन आयात शुल्क विश्व बजारमा सबैभन्दा महंगो भारतमा छ। भारतले हाल विदेशी ईभी गाडीमा ७० देखि १०० प्रतिशतसम्म आयात कर लगाउँदै आएको छ।
यद्यपि विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन निर्माण गर्ने कम्पनी टेस्ला आउने विषयले उत्साहित बनेको भारतले आगामी दिनमा आफ्ना नीतिहरुबारे थप विचार गर्ने सम्भावना पनि छ। सन् २०३० सम्ममा वार्षिक २० करोड कार उत्पादन गर्ने योजना बनाएको टेस्लाले सोहीअनुसार आफूलाई विश्व बजारमा फैलाउने प्रयत्न गरिरहेको छ।