काठमाडौं। आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज (मंगलबार) सार्वजनिक हुँदैछ। नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षको बजेट कस्तो हुने र कस्ता–कस्ता विषयलाई प्राथमिकता दिने भन्ने कार्यदिशा स्पष्ट पार्नेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गर्ने नीति तथा कार्यक्रम कस्तो किसिमको हुने भन्ने चासो धेरैको छ। खासगरी जारी आर्थिक मन्दीको कारण बजार सुस्ताइरहेको र लगानीकर्तामा उत्साह नजागिरहेको बेलामा आउन लागेको नीति तथा कार्यक्रमलाई विशेष महत्त्वका साथ हेरिएको छ।
अहिलेसम्म आएका अधिकाशं नीति तथा कार्यक्रमहरु नारामा उत्साह तर कार्यान्वयनमा चुकेको आरोप सरकारलाई लागिरहेको छ। मंगलबार सार्वजनिक हुने नीति तथा कार्यक्रम पनि कतै त्यही खालको त हुने हैन भन्ने आशंका धेरैको छ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले शिथिल रहेको अर्थतन्त्रलाई चलायमान र उर्जा छाउने खालको नीति तथा कार्यक्रम आउने बताए। ‘निरासालाई आशामा बदल्ने खालका नीति तथा कार्यक्रम तयार भएको छ‘, सदस्य फुयालले भने, ’जे आउँछ कार्यन्वयनमा जाने खालका कार्यक्रम मात्र आउछ।‘
यो वर्षको नीति तथा कार्यक्रममा जे‑जे विषयहरु राखिन्छ त्यो बजेटमा आउने भएकोले यथार्थपरक विषयहरु समेटिएको उनले बताए। आन्तरिक रोजगारी सिर्जनालाई प्राथमिकता राख्दै राष्ट्रिय गौरवका आयोजनालाई ८/१० वर्ष भित्रमै सम्पन्न गर्ने खालका नीति तथा कार्यक्रम प्राथमिकतामा राखिएको छ। यसअघि गौरjका आयोजनाहरु २०औं वर्षसम्म सम्पन्न नहुने र स्रोत सुनिश्चितता समेत नहुने समस्या थियो।
पहिला आकर्षक नारा सहितका कार्यक्रम आउने तर कार्यान्वयन भने नहुने समस्या थियो। ‘यो पटकको नीति तथा कार्यक्रम भने जति कार्यक्रम आउछ त्यसको कार्यन्वयन कार्ययोजना सहितसगै ल्याउने छ,’ सदस्य फुयालले भने ‘मन्त्रालयहरुसँग बजेटका सिलिङ माग्दानै कार्यन्वयनको योजना समेत मागिएको छ।’
यो भन्दा अघि कार्यक्रम आएपछि मात्र कार्यन्वयनका लागि छलफल गर्ने र कार्यविधिहरु बनाउने गरिएको थियो। जसको कारण बजेट आएको महिनौ वितिसक्दा समेत कार्यन्वयनमा आउदैन थियो। तर, यो पटक यो समस्या आउन नदिन कार्यन्वयन योजना समेतसगै ल्याउन लागिएको जनाएको छ।
चालू आर्थिक वर्षमा आएको उत्पादन रोजगारी भन्ने विषय कार्यान्वयनमा नै आउन सकेन। सरकारले सो कार्यक्रमका लागि ७ अर्ब रकम विनियोजन गरेको थियो।
तर, कार्यक्रम लागू गराउदा पूर्ण अनुदान दिने वा सहुलियतमा ऋण दिने भन्ने विषयको टुंगो लाग्न नसक्दा हालसम्म कार्यन्वयनमा आउन सकेको छैन। आर्थिक वर्ष सकिन २ महिना बाँकी रहदा सम्म सुरु नभएको कार्यक्रम अव लागू हुने स्थीति देखिएको छैन। पहिलाका घटनालाई दोहोरिन नदिने गरी नयाँ कार्यक्रम आउने उनले बताए।
योसँगै अहिलेको बजेटले सोह्रौं योजनाको कार्यान्वयनमा समेत जोड दिने खालका कार्यक्रमहरु समावेश गरिएको बताइएको छ। सोह्रौं योजनामा राखिएका करिब ९० प्रतिशतको सुरुवात हुन्छ।
आगामी वर्षको बजेटमा सबैभन्दा परिवर्तन देखिने भनेको युवालाई उत्पादन र रोजगारीमा लगाउने कार्यक्रम रहेको उनले बताए। विदेशमा जाने क्रम घटाउने र विदेशमा ८/१० वर्ष बिताएकालाई तुरुन्त फर्केर यहाँ काम गर्न सक्ने खालका कार्यक्रमहरु डिजाइन गरिएको र त्यसका लागि विदेशमै आवेदन दिएर यहाँ काम गर्न सक्ने उल्लेख छ। यस्तै बजेटमा कृषि, जलविद्युत, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई विषेश प्राथमिकतामा राखिने जनाएको छ।
नीति तथा कार्यक्रम सार्वजनिकका लागि मंगलबार दिउँसो ३ बजे संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदन बोलाएको छ। दुवै सदनमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ।