काठमाडौं । भारतीय लगानीमा निर्माण भइरहेको ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनालाई लगानी जुटेको छ ।
स्टेट बैंक अफ इन्डिया (एसबीआई) लगायत आधादर्जन बैंकले अरुण तेस्रो आयोजना निर्माणका लागि भारती बैंकहरुबाट ५३ अर्ब ७३ करोड ६८ लाख भारु अर्थात ८५ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन ।
भारुमा ऋण ल्याउन स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा अनुमति मागिएको छ । राष्ट्र बैंकले स्वीकृतिका लागि आइतबार लगानी बोर्ड पठाउँदैछ । लगानी बोर्डले स्वीकृती दिने बित्तिकै ऋण ल्याउने प्रक्रिया सुरु हुने राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागिलाले बताए ।
राष्ट्र बैंकका अनुसार एसबीआईका अतिरित्त, पञ्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकबाट आयोजनामा सो रकम ऋण लगानी हुन लागेको हो । ऋणको ब्याज साढे ८ प्रतिशत छ । लगानी बोर्डले स्वीकृति दिएपछि औपचारिक रुपमा बैंक र आयोजना विसकाकर्ता एसजेबीएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच ऋण लगानी सम्झौता हुने छ ।
एसबीआई त्यहाँको सरकारी बैंक हो । भारुमा ऋण ल्याउन त्यहाँको भारतीय रिजर्व बैंक .आरबीआई) ले अनुमति दिइसकेको छ ।
भारतको सतलज जलविद्युत निगम लिमिटेडले नेपालमा एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीमार्फत अरुण तेस्रो आयोजना निर्माण गरिरहेको छ । हालसम्म आयोजनाको ३० प्रतिशत काम सकिएको छ ।
आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ । एसजेबीएनले स्वपुँजीबापत २५ अर्ब रुपैयाँ लगानी गरेको छ ।
एसजेबीएनले आउँदो २०७९ असोजसम्म अर्थात सन २०२२ को सेप्टेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको बाँध निर्माण काम सुरु भइसकेको छ । ४ लटमा आयोजनाको काम भइरहेको छ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।