काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको नारायणी नदीमा निर्माण गरिन लागेको सिग्नेचर पुलको औपचारिक शिलान्यास गरेका छन्। पूर्व–पश्चिम राजमार्गको मध्य भागमा रहेको भरतपुर महानगर र गैंडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माणपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने विश्वास प्रधानमन्त्री दाहालले व्यक्त गरे।
२०८० जेठ १९ मा नेपालमै पहिलो पटक पूर्व–पश्चिम राजमार्गको नरायाणी नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माणको ठेक्का सम्झौता भएको थियो। पुल महाशाखाले तुँदी कन्स्ट्रक्सनसँग १ अर्ब ६८ करोड ७६ लाखमा ४२० मिटर लामो पुल निर्माण सम्झौता गरेको हो। सम्झौताअनुसार एक वर्षमा डिजाइन तयार र तीन वर्ष निर्माणावधि गरी ४ वर्ष (२०८४ जेठ) मा नारायणी नदीको सिग्नेचर ब्रिज तयार हुनेछ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताए।
उनले भने, ‘पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सबलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाका परियोजना सञ्चालन गर्नु राष्ट्रिय आवश्यकता हो। ‘यसैलाई दृष्टिगत गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीसम्बन्धी विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।’
यातायात सेवालाई सहज तुल्याउने गरी काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले सडक दुर्घटना न्यूनीकरणका निम्ति पूर्वाधार, सवारीसाधन र ट्राफिक प्रणालीमा सुधारलगायतका क्षेत्रमा ध्यान दिनुपर्ने बताए।
तस्बिर सौजन्यः कृष्णराज अधिकारी, सिनियर डिभिजनल इन्जिनियर (पुल महाशाखा)