काठमाडौं। जेठका लागि ९ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ९ वटाले वैशाखमा लागू ब्याजदर जेठका लागि औषतमा ०.०८ प्रतिशतले ब्याजदर घटाएका हुन्।
जेठमा ३ वटाले बैंकले वैशाखमा लागू भइरहेको ब्याजदरमा ०.५० प्रतिशत बिन्दु थप गरेका छन् भने ८ वटाको ब्याजदर यथावत छ।
वैशाखमा वाणिज्य बैंकहरुले औसत ७.१५ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गरिरहेका छन्। अब जेठ १ देखि औसत ७.०७ प्रतिशत ब्याजदर कायम गरेर निक्षेप संकलन गर्ने गरी ब्याजदर सूची सार्वजनिक गरेका हुन्।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार अघिल्लो महिनामा लागू हुने ब्याजदर पछिल्लो महिनाको मसान्तसम्म सार्वजनिक गर्नुपर्छ। सोहीअनुसार बैंकहरुले जेठका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।
एक महिनामै १० वाणिज्य बैंकले ०.१० प्रतिशत बिन्दुदेखि ०.५० प्रतिशत बिन्दुसम्मले ब्याजदर घटाएका छन्। सबैभन्दा बढी एभरेष्ट, नबिल र सिटिजन्स बैंकले ०.५० प्रतिशत बिन्दुले घटाएका छन् भने सबैभन्दा कम प्राइम कमर्सियल बैंकको घटेको छ।
वैशाखको तुलनामा जेठमा प्रभु र ग्लोबल आइएमई बैंकले निक्षेपको ब्याजदर बढाएका छन्। प्रभुले वैशाखमा निक्षेपमा अधिकतम ७ प्रतिशत ब्याज दिइरहेकामा जेठमा ७.५ प्रतिशत दिने भएको छ।
ग्लोबल बैंकले बैशाख महिनामा दिइरहेको ७ प्रतिशत निक्षेपको ब्याजदरलाई जेठमा ७.५ प्रतिशत पुर्याएको छ। हिमालयन, कुमारी, माछापुच्छ्र्रे, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा, लक्ष्मी सनराइज र नेपाल बैंकले वैशाखको निक्षेप ब्याजदर नै जेठमा पनि लागू गर्ने भएका हुन्।
यसैगरी जेठमा निक्षेप राख्दा निक्षेप सबैभन्दा बढी एनएएबी र एनआइसी एसिया बैंकले ७.८० प्रतिशत र सबैभन्दा नेपाल एसबिआई बैंकले ६.३९ प्रतिशत ब्याज दिनेछन्। जेठमा ५ वटा बैंकले ७.५० प्रतिशतमाथि ७.८० प्रतिशतसम्म, ८ वटाले ७ प्रतिशतमाथि ७.२६ प्रतिशतसम्म र ६ वटाले ६.३९ प्रतिशतदेखि ७ प्रतिशतसम्म निक्षेप राख्दा अधिकतम ब्याज दिनेछन्।
वैशाखको तुलनामा बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटेको छ । वैशाखका लागि व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर १९ वाणिज्य बैंकको औसत ७.१४ प्रतिशत रहेकामा जेठका लागि ७.०६ प्रतिशतमा कायम भएको हाे। मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबी बैंक र कम ब्याजदर नेपाल एसबिआई बैंकको रहेको छ।
अधिक तरलता र कर्जा प्रवाह हुन नसक्दा पछिल्ला महिनामा बैंकहरुले ब्याजदर घटाइरहेका छन्। ब्याजदर घटेसँगै बेस रेट पनि घट्नेछ। ब्याजदर घटेसँगै कर्जा तथा लगानी विस्तार हुने अर्थशास्त्रीय मान्यता छ।
रेमिट्यान्स मुद्दतीमा खातामा बैंकहरुले ८.८ प्रतिशतसम्म ब्याजदर तोकेका छन्। व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत बढी हुन नहुने सीमा राष्ट्र बैंकले तोकेको छ।